निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन-Sutra News

निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ।



मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो।

बजेट एयरलाइन्सको हकमा अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको उडान भएका गन्तब्यमा तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई प्राधिकरणले निर्देशन दिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चार्टर उडानको भाडादरको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिन पनि प्राधिकरणलाई भनिएको छ।

हवाई भाडादर असुलउपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडा असुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइएको छ।

यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ।

अगष्ट २६ मा भएको एयर अरेबियाको उडानबाट पिसीआर परीक्षण गराइए आएका १४२ जनाको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेतना गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट