प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल-Sutra News

प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

भरतपुर- भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ। कोरोना संक्रमणबाट निको भएकाले गम्भीर संक्रमितका लागि रक्तदान गर्न अपिल गरिएको हो। कोभिड संक्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन्।



अस्पतालले प्लाज्मा थेरापीबाट संक्रमितको उपचारका लागि तयारी गरिसकेको छ। कोरोनाभाइरस संक्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ।

भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताए। निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ। यो विधिमार्फत कोरोनाभाइरसबाट हुने मृत्युदर कम हुने डा सापकोटाले बताए।

प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो। अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन्। कोरोना संक्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो। रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो।

छुट्याइएको प्लाज्मा संक्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने डा। सापकोटा बताउँछन्।

क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दाताहरु रक्तदानका लागि इच्छुक रहेको बताए। उनले आज मात्रै माडीका ३ जनाले रक्तदान गर्ने जानकारी दिए। भरतपुर अस्पतालले डा.सापकोटाको संयोजकत्वमा प्लाज्मा थेरापीका लागि समितिसमेत बनाएर काम गरिरहेको छ।

आवश्यकता र रगतको मौज्दातको आधारमा रगत संकलन गरिने अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट