भैरहवा- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार संक्रमितलाई छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ। संक्रमित भएको खण्डमाा ‘होम आइसोलेसन’मा बस्नको लागि सबैको घरमा प्रयाप्त व्यवस्था र पूर्वाधार हुँदैन। अझ भाडामा बस्नेहरूलाई त यो ठूलो समस्या हो।
यस्तै समस्या भैरहवामा। भैरहवाको एक बैंकका १२ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरूको व्यवस्थापन गर्न स्थानीय पालिका तथा प्रशासनलाई समस्या पर्यो। समस्यामा परेका संक्रमितको व्यवस्थापन गर्न लाग्यो भैरहवास्थित होटल ग्यालेक्सी हाउस एण्ड रेष्टुरेण्ट। उक्त होटलले कोठाहरू बैंकका कर्मचारीलाई आइसोलेसनको रूपमा दिएर सहयोग गरेको छ।
सुरुमा भैरहवाका बैंकका १३८ जना कर्मचारीको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि थप परीक्षण गराउँदा एउटा बैंकका १२ जनामा संक्रमण पुष्टि भएको थियो।
‘कोरोना संक्रमण पुष्टि भएपछि हामी होटलको खोजीमा लाग्यौं,’ बैंकर्स एसोसिएसन भैरहवाका अध्यक्ष रामराज उपाध्याय भन्छन्, ‘त्यत्ति बेला दिनेश पौड्याल र ज्ञानु पौड्यालले होटल ग्यालेक्सी आइसोलेसनको रूपमा दिनन तयार हुनुभयो। उहाँहरूको सकारात्मक सोचका कारण बैंकका कर्मचारी होटल आइसोलेसनमा बस्न पाउनुभयो।’
लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल पौड्याल दम्पत्तीले आफ्नो होटल आइसोलेसनको रूपमा दिन सहर्ष स्वाकार्नु आफैंमा महत्वपूर्ण कुरा भएको उनले बताए। ‘यसले राम्रै सन्देश गएको छ,’ उपाध्यायले भने, ‘अझ उहाँहरूले जडिबुटी लगायत आवश्यक खाने कुरा पनि तालिका बनाएर कोरोना संक्रमितलाई दिनुभयो। यसले पनि कोरोना संक्रमितहरुको आत्मबल बढेर निको हुने भएको छ।’
पौड्याल दम्पतीको सकारात्मक सोचले राम्रो परिवर्तन ल्याएको र अहिले अन्य होटल पनि आइसोलेसनका रूपमा दिन तयार रहेको कुरा जानकारी पाइएको उपाध्याको भनाइ छ। होटलका सञ्चालक दिनेश पौडयाल माइक्रोबायोलोजी र जनस्वास्थ्य विषयमा अध्ययन गरेका छन्। पौड्यालले कोरोना संक्रमित भइसकेपछि समाजमा हेर्ने दृष्टिकोण नकारात्मक हुनु दुःखद भएको बताए।
उनले बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि बस्ने ठाउँको अभाव भएको आफूहरूले जानकारी पाएपछि बैंकर्स एशोसिएसनसँगको सहकार्यमा होटल उपलब्ध गराएको बताए। ‘कोरोना संक्रमितलाई विभेद होइन, उहाँहरूलाई बस्ने स्थानको आवश्यकता हुन्छ,’ पौड्याल भन्छन्, ‘संक्रमित भएपछि उपयुक्त आइसोलेसनमा बसेर संक्रमणमुक्त हुन सकिन्छ ।’
रोगविरुद्ध लड्न सक्ने र प्रतिरोधात्मक प्रणाली मजबूत बनाउने खानेकुरा आफूले दिएको उनले बताए। व्यवस्थित रूपमा होटल आइसोलेसन सञ्चालन गरी बैंकका कर्मचारी निको पारेर बिदाई गर्न पाउनु होटलले सफलताको रूपमा बुझेको पौड्यालले बताए।
समाजप्रति आफ्नो पनि केही उत्तरदायित्व रहेको ठानेर अप्ठ्यारो परेको बेला आफ्नो होटललाई आइसोलेसनको रूपमा प्रयोग गर्न दिएको होटलका सञ्चालक ज्ञानु पौड्याल बताउँछिन्। आइसोलेसनमा बस्न आएका १२ जना संक्रमितलाई घरकै जस्तो व्यवहार गरिएको उनको भनाइ छ।
‘पोषणयुक्त खानाको साथै गुर्जो, मरिच, बेसार, अदुवा लगायतको धुलो तातो पानी र दूध नियमित प्रदान गरिएको थियो,’ पौड्याल सुनाउँछिन्, ‘यसको साथै समयसमयमा होटललाई निसंक्रमण पनि गरिएको थियो। घरायसी वातावरणमा राखिएका सबै संक्रमितलाई निको भएपछि भदौ १४ गते होटलबाट विदाई गरिएको थियो।’
अस्पतालमा समेत स्थान नभएको अवस्थामा होटललाई आइसोलेसन केन्द्रको रुपमा उपलब्ध गराएर ग्यालेक्सी होटलले नमूना काम गरेको स्थानीयवासीको भनाइ छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा नगरपालिकाका न्यायिक समिति सदस्य उमेश थापा मगरले विषम परिस्थितिमा होटल ग्यालेक्सीले उदाहरणीय कार्य गरेको बताए।