काठमाडौं- मेडिकल शिक्षा सुधारको माग राखेर सत्याग्रह सुरु गर्न लागेका डा.गोविन्द केसीको यसपटकको सत्याग्रह स्थगन भएको छ। कोरोना जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सत्याग्रह स्थगन गरिएको डा.केसीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
जुम्लामा रहेका डा.केसीले अहिलेको परिस्थितिमा जुम्लामा आफ्नो अभियानलाई साथ दिने सबै नागरिकको आग्रहलाई ध्यानमा राखेर सत्याग्रह पुनः केही समयमा लागि स्थगन गरिएको बताएका छन्।
‘यस्तो परिस्थितिमा कोभिड महामारी फैलँदै जाँदा जुम्लाबाट हाम्रो अभियानलाई निरन्तर साथ दिइरहने आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै हामीले सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ,’ ‘सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौं। साथै बारम्बार साबुन पानीले हात धुन, बाहिर निस्कँदा नियमित मास्क लगाउन तथा सामाजिक दुरी कायम गर्न सबै नेपालीहरुलाई आग्रह गर्दर्छौं।
संक्रमणको फैलावट रोक्दै बारम्बार लगाइने निषेधाज्ञा रोक्न पनि केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।