काठमाडौं-पछिल्लो समय उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना बिरामीको उपचारमा संलग्न डाक्टरलाई लखेटिएको समाचार सञ्चारमाध्याममा आइरहेका छन्। तर, बिहीबार काठमाडौंको सोल्टीमोडमा फरक दृश्य देखियो।
कोरोना बिरामीको उपचारका लागि दिनरात नभनी १४ दिनसम्म सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खटिएका डा.रोशनकुमार झालाई भने लायन्स क्लब अफ काठमाडौं समर्पणको टोलीले आफ्नै टोल सोल्टीमोडमा फूलमालासहित भव्य स्वागत गरेको छ।
झा.सशस्त्र प्रहरी अस्पतालमा प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा कार्यरत छन्। पछिल्लो समय कोरोनाको उपचारमा संलग्न डाक्टर बस्नका लागि सशस्त्र प्रहरी अस्पतालले छुटै क्वाटरको व्यवस्था गरेपनि डा.झा भने सरकारी रकम सदूपयोग गर्नका लागि आफू घरमा आएर क्वारेन्टाइनमा बसेको बताउँछन्।
‘मलाई अस्पतालले बस्नका लागि छुट्टै क्वाटरको व्यवस्था गरेको थियो। तर, मलाई टोलवासीले घरमा आएर बस्नका लागि गरेको अनुरोधलाई स्वीकार गरेर घरमै आएर बसेको छु,’ उनी भन्छन्। घरको कोठालाई क्वारेन्टाइन बनाएर बसेपछि परिवारपनि खुसी हुने र आफूलाई पनि सन्तुष्टि मिलेको उनको भनाइ छ। झा दम्पत्ति नै डाक्टर हुन्।
नेपालमा पछिल्लो समय फैँलदै गएको कोरोना उपचार तथा नियन्त्रणका लागि लायन्स क्लब अफ समर्पणले काम गर्दै आएको छ। लायन्स क्लब अफ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना संक्रमित परिवारको उपचारमा सहज पुग्ने उदेश्यले २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको क्लबका सदस्य लायन्स सञ्जय सिंघानियाले जानकारी दिए।