काठमाडौं- आजबाट युइएफए नेसन्स लिगको दोस्रो संस्करण सुरु हुँदैछ। तर धेरैलाई नेसन्स लिगबारे जानकारी नहुन सक्छ कि यो कस्तो प्रतियोगिता हो भनेर। किनभने यो अरु प्रतियोगिताजस्तो अलि सजिलै बुझ्न सकिँदैन।
युइएफए नेसन्स लिग गत सिजनबाट सुरु भएको अन्तर्राष्ट्रय लिग फुटबल प्रतिस्परर्धा हो। जसमा ५५ युरोपेली राष्ट्रका पुरुष राष्ट्रिय टिमहरुले प्रतिस्पर्धा गर्छन्। यो विश्वकप तथा युरोकपजस्तो कुनै निश्चित देशले आयोजना गर्ने प्रतियोगिता होइन। खासमा यो विश्वकप, युरोकप, कोपा अमेरिका, एसियन कप र कन्फेडेरेसन कप आदि प्रतियोगिताजस्तो महत्वपूर्ण र गर्विलो प्रतिस्पर्धा पनि होइन।
यसको सुरुवात अघिल्लो सिजनबाट भएको हो। युरोपेली राष्ट्रहरुबीच विगतमा प्रतिवर्ष १२ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु हुने गर्थ्यो। तर, ती खेलहरु प्रतिस्पर्धी राष्ट्रहरुले कम महत्व दिने अनि प्रमुख खेलाडीहरुलाई नखेलाउने अथवा कम खेलाउने गर्दा मैत्रीपूर्ण खेलहरुको महत्व र रौनकतामा कमी आएको अनुभव युरोपेली फुटबलका निकायहरुले गर्न थाले। यही मैत्रीपूर्ण खेलहरुलाई प्रतिस्थापन गर्ने हिसाबले एउटा प्रतियोगिताको रुप दिएमा खेल्नेले पनि महत्वका साथ खेल्नेछन् र हेर्नेले पनि उत्सुकताका साथ हेर्नेछन् भनेर उक्त निकायले निकालेको उपायस्वरुपको प्रतियोगिता हो नेसन्स लिग।
पहिलो सिजनमा भएको यस प्रतियोगितालाई अधिकांश राष्ट्रहरुले महत्व दिएका थिएनन्। विजेता बनेको राष्ट्र पोर्चुगलको टिममा क्रिष्टियानो रोनाल्डो स्वयंले नै सुरुमा यो प्रतियोगिता खेल्न अस्विकार गरेका थिए। पोर्चुगल क्वार्टरफाइनल पुग्दासम्म उनी टिममा फर्किएनन्। तर, जब उनको टिम सेमिफाइनल पुग्यो उनले आफ्नो अन्तर्राष्ट्रिय उपाधि जित्ने भोकलाई यसैबाट भए पनि पूरा गर्ने उद्देश्यले उनी टोलीलाई कप्तानी गर्न फर्केको आरोप लागेको थियो। उपाधि जितेपछि धेरै आलोचकले मेहनत नगरी जस लिने खेलाडी भनी उनको आलोचना गरेका थिए।
यस लिगमा युरोपका ५५ राष्ट्रहरुलाई फिफा र्याङ्किङअनुसार ४ लिग, लिग ए, लिग बी, लिग सी र लिग डी मा विभाजन गरिन्छ। यसअघि लिग ए र बीमा १२/१२, लिग सीमा १५ र लिग डीमा १६ राष्ट्रहरुको ३ देखि ४ समूह रहने व्यवस्था थियो। तर, यसपाली परिवर्तित ढाँचाअनुसार लिग ए, बी, सी मा १६ र लिग डी मा ७ राष्ट्रहरुका २ देखि ४ समूह रहनेछन्। यी राष्ट्रहरुले आफ्ना समूहका प्रत्येकसँग होम एन्ड अवे खेल खेल्नेछन्।
लिग ए का शीर्ष चार राष्ट्रले फाइनल चरण अर्थात् दुई सेमिफाइनल खेल खेल्नेछन्। विजेता दुई टोलीले फाइनल खेल्नेछ्न भने पराजितहरुले तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। बाँकी रहेका तीन लिग, बी, सी र डी का समूह विजेताहरु माथिल्लो लिगमा बढुवा हुनेछन्। अर्थात् लिग बीका समूह विजेताहरु लिग ए मा, लिग सीका समूह विजेताहरु लिग बीमा र लिग डीका समूह विजेताहरु लिग सीमा बढुवा हुनेछन्। यसैगरी लिग ए र बीका समूहका पुच्छरमा रहने टिमहरु लिग बी र सीमा घटुवा हुनेछन्। लिग डीमा मात्रै दुई समूह रहने हुँदा लिग सीबाट चार टोली घटुवा हुने छैनन्। यसमा लिग सीका समूहमा पुच्छरमा रहने चार टोलीलाई फिफा र्याङ्किङका आधारमा पहिलो र्याङको टोली अन्तिमको सँग र दोस्रो र्याङ्किङको टोली तेस्रो र्याङ्किङका टोलीसँग खेल्नेछन् र एग्रिगेटमा गोल बढी हुने टिम लिग सीमै रहनेछन् भने कम हुने टिम लिग डी मा घटुवा हुनेछ।
गत सिजनभन्दा यसपाली यस प्रतियोगितालाई सहभागी राष्ट्रहरुले अझ महत्वका साथ लिइरहेका छन्। सबै राष्ट्रहरुले घोषणा गरेको टोलीमा आफ्ना पहिलो रोजाइका खेलाडीहरुलाई प्रमुखताका साथ सहभागी गराएका छन्। गत वर्षका विजेता राष्ट्र पोर्चुगलले आफ्नो टोलीमा यसपाली रोनाल्डोलाई सुरुवातबाटै राखेको छ। रोनाल्डोले पनि आफू यस प्रतियोगिताका लागि निकै उत्साहित रहेको र यसपाली उपाधि रक्षा गर्नका लागि खेल्ने बताएका छन्। विश्वकप विजेता फ्रान्स युरोकप विजेता पोर्चुगललगायत स्पेन, इटाली, जर्मनी र इंगल्यान्डजस्ता राष्ट्रहरुले महत्वको भिडन्तको रुपमा लिएकाले पनि यसपाली नेसन्स लिगले विगतमा भन्दा बढी रौनकता थप्ने विश्लेषकहरुले बताएका छन्।
प्रतियोगिताको सुरुवाती दिन आज २० राष्ट्रबीच १० खेल हुँदैछ। दुई हेबीवेट टिम जर्मनी र स्पेनबीचको खेल आकर्षणको केन्द्र हुनेछ। पूर्व विश्व विजेता दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १२:३० बाट जर्मनीको घरेलु मैदान मर्सिडिज बेन्ज एरेना रंगाशालामा हुनेछ।
सम्पूर्ण खेल तालिका नेपाली समयअनुसार
१) लाटिया भर्सेस आन्डोरा – राति ९:४५ बजे
२) फारोय आइसल्यान्ड भर्सेस माल्टा – राति १२:३० बजे
३) जर्मनी भर्सेस स्पेन – राति १२:३० बजे
४) बुल्गेरिया भर्सेस आयरल्यान्ड – राति १२:३० बजे
५) रसिया भर्सेस सर्बिया – राति १२:३० बजे
६) स्लोभेनिया भर्सेस ग्रीस – राति १२:३० बजे
७) टर्की भर्सेर हंगेरी – राति १२:३० बजे
८) फिनल्यान्ड भर्सेस वेल्स – राति १२:३० बजे
९) माल्डोभा भर्सेस कोसोभा – राति १२:३० बजे
१०) युक्रेन भर्सेस स्वीट्जरल्यन्ड – राति १२:३० बजे