काठमाडौं– बिहिबार रातो मछिन्द्रनाथको रथ तान्ने स्थानीयहरु र प्रहरीबीच झडप हुँदा एक प्रहरी जवानलाई निर्ममतापूर्वक कुटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मोटरसाइकलमा सवार प्रहरी जवानलाई रथ तान्नेहरुले सडक बिचमा कुटेको देखिन्छ। उनी सवार मोटरसाइकललाई खोसेर उनीमाथि कुटपिट भएको भिडियोमा देख्न सकिन्छ । स्थानीयले निर्ममतापूर्वक कुटिरहेका उनलाई केहीसमयपछि प्रहरीले कुटपिटबाट छुट्याएको भिडियोमा स्पष्ट देखिन्छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वर यादवका अनुसार उक्त भिडियोमा कुटपिट भएका प्रहरी जवान कमल प्रसाद घिमिरे रहेका छन् । सवारी व्यवस्थापनका लागि खटिएका घिमिरेलाई स्थानीयले युवाहरुले कुटपिट गरेका हुन् । बिहिबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानिय बिच झडप भएपछि जावलाखेल, पुल्चोक तथा मंगलबजार लगायतका ठाउँबाट आउने सवारी साधनलाई व्यवस्थापन गर्ने काम भइरहेको थियो ।
सवारी व्यवस्थापनमा खटिएका कमलले मंगलबारबाट आउने सवारीसाधनलाई डाईभर्ट गर्नका निमित्त आफ्नो मोटरसाइकलमा अगाडी बढ्दा स्थानिय युवाहरुले कुटपिट गरेको एसपी यादवले बताए । हाल पाटन क्षेत्रमा कार्यरत उनको अल्का हस्पिटलमा उपचार भइरहेको एसपी यादवले जानकारी दिए ।
स्थानीयले घिमिरे सवार बा २ ब ७२४२ नम्बरको मोटरसाइकल माथि पनि आगजनी गरेका थिए । उक्त मोटरसाइकलमा लागेको आगो प्रहरीले निभाएका थिए ।