काठमाडौं- रोल्पाको सुनिल स्मृति गाउँपालिकाको गजुलमा २५ जेठमा जब तीन जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो, रोल्पावासीहरु चिन्तित बन्न पुगे । तीनै जना संक्रमितहरु १२ जेठमा भारतबाट फर्किएका थिए ।
जिल्लामै कोरोनाबाट संक्रमितहरु भेटिएको पहिलो रेकर्ड थियो त्यो । त्यसपछि रोल्पामा नयाँ संक्रमितहरु थपिँदै गए । यसै क्रममा एउटा घटना घट्यो, १९ असारमा । दुबईबाट स्वदेश फर्केका गंगादेव गाउँपालिका–५ का ३१ वर्षका पुरुषले क्वारेन्टिनमै आत्महत्या गरे । यो घटनाले जिल्लालाई थप संवेदनशील बनायो । पछि गरिएको परीक्षणबाट पुष्टि भयो, आत्महत्या गरेका पुरुष पनि कोरोनाबाट संक्रमित रहेछन् ।
हालसम्म गरिएको परीक्षणमा रोल्पा जिल्लामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, सुखद कुरा के छ भने, चार दिनयता भने रोल्पा ‘संक्रमित शून्य जिल्ला’ बनेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार संक्रमित ७८ मध्ये ७७ जना कोरोनामुक्त भई घर फर्किसकेका छन्, एकजनाको मृत्यु भएको छ । अहिलेसम्म करिब २४ सयको पिसिआर परीक्षण गरिएको जिल्लामा २ सयको रिपोर्ट आउन भने बाँकी नै छ ।
सबै संक्रमित बाहिरबाट आएका
प्रमुख जिल्ला अधिकारी रानाका अनुसार जिल्लामा जति संक्रमित देखिए, ती सबै बाहिरी जिल्ला, भारत र तेस्रो मुलुकबाट आएकाहरु थिए । ‘भारत वा तेस्रो मुलुक र बाहिरी जिल्लाबाट आएकाहरुलाई मात्र कोरोना पुष्टि भएको छ’ प्रजिअ रानाले भने, ‘समुदायमा परीक्षण गर्दा भने अहिलेसम्म नेगेटिभ पाएका छौं ।’
जिल्लामा चैत्रयता करिब २ हजार ९ सय ५१ र ९ सय ४५ तेस्रो मुलुकबाट आउनेहरु थिए । बाँकी चाहिँ काठमाडौं, ललितपुर लगायतका देशभित्रबाट घर फर्केकाहरु थिए । यो संख्या करिव १३ हजार थियो ।
सीमा नाकामा कडाइ र जिल्लाभित्र प्रवेश गर्नेहरुलाई क्वारेन्टिनमा राखिएको कारण हालसम्म समुदायमा संक्रमण नफैलिएको प्रजिअ रानाले बताए । ‘जिल्लाभित्र प्रवेश गर्न हामीले निकै कडाइ गरेका छौं’ उनले भने, ‘खासगरी दाङको होलेरी र प्युठानबाट आउँदा नाकामा पर्ने खुङ्ग्री नाकामा चेकजाँचलाई कडा पारिएको छ ।’
दाङको घोराही हुँदै जिल्ला प्रवेश गर्ने रुन्टिगढी गाउँपालिकाको नाका नै रोल्पा प्रवेश गर्ने सबैभन्दा ठूलो नाका हो । गाउँपालिकाका ‘फोकल पर्सन’ दीपक डाँगीका अनुसार, यसअघि एक दिनमा ८ हजारसम्म मानिसहरु यो नाका हुँदै रोल्पा प्रवेश गरेका थिए । रोल्पामात्र होइन, पूर्वी रुकुम, पश्चिम रुकुमसम्म जानेहरु समेत यही बाटो भएर आउने गरेका थिए ।
जनप्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना, स्वास्थ्य लगायतका टिमले सतर्कताका साथ काम गर्यौँ’ डाँगीले भने, ‘प्रवेश गर्नेहरुलाई नाकामै परीक्षण गर्न हेल्थ डेस्क स्थापना गरिएको थियो ।’ त्यसक्रममा संक्रमण देखिएकालाई क्वारेन्टिनमा राख्ने र पोजिटभ देखिएकालाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको थियो ।
आइसोलेसनमा ६० लाख खर्च
जिल्ला तहले निर्माण गरेको र स्थानीय तहले निर्माण गरेको समेत जोड्दा जिल्लामा ७८ बेडको आइसोलेसन व्यवस्था गरिएको छ । प्रजिअ रानाको अनुसार, सबै स्थानीय तहको पहलमा आइसोलेसन निर्माण गरिएका छन् ।
जिल्लामा निर्माण गरिएको आइसोलेसनमा स्थानीय तहले ३५ लाख खर्च गरेका छन् भने प्रदेश सरकारले १० लाख सहयोग गरेको छ । स्थानीय, प्रदेश र केन्द्र तीन तहबाटै हालसम्म ६० लाख आइसोलेसनमा खर्च भइसकेको प्रजिअ रानाले बताए ।
यद्यपी, आइसोलेसन खर्च धान्न निकै कठिन भइरहेको प्रजिआ राना बताउँछन् । ‘आइसोलेसनको खर्च साह्रै महङ्गो छ, बसेका सबैलाई खाना खुवाउनै पर्यो’ उनले भने, ‘डाक्टरहरुलाई सुविधा दिँदा धान्नै गाह्रो छ ।’ आइसोलेसन सेन्टरहरुलाई थेग्न थप रकमको आवश्यक देखिएकाले प्रदेशसँग समन्वय र स्थानीय तहसँग समन्वय गरिएको पनि उनले बताए ।
जिल्लाका लागि खुसीको कुरा के छ भने, केही संक्रमितहरु भेटिएपनि कसैलाई पनि लक्षण देखिएको छैन । ‘जिल्लामा भेन्टिलेटरको व्यवस्था छैन, हस्पिटलमा ओपिडी सेवा चाहिँ सञ्चालनमा छ’ उनले थपे, ‘अहिलेसम्म लक्षण नदेखिएकाले सहज भएको छ ।’
स्थानीय तहको पहल
कोरोना नियन्त्रणमा जिल्लामा भएका १० वटै स्थानीय तहले समन्वयात्मक भूमिका खेलेको प्रजिअ राना सुनाउँछन् । रानाका अनुसार जिल्लामा क्वारेन्टिन र आइसोलेसन निर्माणमा सहयोग पुर्याएका सबै पालिकाहरु स्वास्थ्यको मापदण्डबारे सचेत छन् ।
जिल्ला प्रवेश गर्ने नाकाको हिसाबले संवेदनशील क्षेत्र हो– रुन्टिगढी गाउँपालिका । उक्त गाउँपालिकाले कोरोना नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरु (डाक्टर, नर्स, ल्याब) सहभागी भएको ९ जनाको टिम बनाएको थियो । कोरोना नियन्त्रणमा यो टिम सचेत भएर लागिपरेको फोकल पर्सल डाँगीले बताए ।
‘यदि गाउँपालिकाभित्र कसैलाई कोरोना पोटेजिभ देखियो भयो भने आइसोलेसनमा पठाउने, एम्बुलेन्स खर्र्च, पिसिआर परीक्षण खर्च लगायत उपचार खर्च पनि धान्ने काम गरिएको छ’ उनले भने, ‘आइसोलेसनमा संक्रमितहरुको हेरचाहका लागि स्वास्थ्यकर्मीलाई पठाइने पनि गरिएको छ ।’
रुन्टिगढीमा हालसम्म २ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।
रोल्पा नगरपालिकामा २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर यतिबेला सबैजना निको भएर घर फर्किसकेका छन् । नगरप्रमुख पूर्ण केसीका अनुसार, नगरपालिकामा विद्यालय र खालि घरहरुमा क्वारेन्टिनको व्यवस्था गरिएको छ ।
त्यहाँ बाहिरबाट आएकाहरुलाई कम्तिमा १४ दिन राख्ने गरिएको छ । अन्य पालिकाहरुले पनि सोहीअनुरुप स्वास्थ्य प्रोटोकाल पालना गरिरेहको प्रजिअ राना बताउँछन् ।
चाडपर्वमा चुनौति
अहिले रोल्पामा निषेधाज्ञा जारी गरिएको छैन । काम तथा व्यापार–व्यवसायमा कुनै किसिमको रोकतोक नभएको प्रजिअ राना बताउँछन् । अत्यावश्यक सामग्री आयात–निर्यातमा पनि कडाइ छैन । यद्यपि, गाडीमा मान्छे बोक्न बन्देज गरिएको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्ने कुरामा भने कडाइ गरिएको छ । ‘जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजतकत्व र गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा अनुगमन टोली बनाएका छौं’ प्रजिअ रानाले थपे, ‘त्यसको विवरण गृह मन्त्रालयमा पठाउने काम गरेका पनि छौं ।’
मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई एक सय जरिवाना समेत लिने गरिएको छ । प्रजिअ रानाका अनुसार हालसम्म स्वास्थ्य मापदण्ड पालना नगर्ने ५ जना कार्वाहीमा परेका छन् ।
जिल्लाभित्र प्रवेश गर्नेहरुको संख्या पछिल्लो समय घटेको छ । भारत लगायत अन्य मुलुकबाट आउनेहरु पनि छिटपुट मात्र छन् । वरिपरिका जिल्लामा निषेधाज्ञा गरिएका कारण पनि बाहिरी जिल्लाबाट आउनेहरु नभएको प्रजिअ राना बताउँछन् ।
दशैं–तिहार नजिकिँदै गरेकाले जिल्लामा चुनौति बढ्ने देखिएको छ । प्रजिअ राना भन्छन, ‘दशैं–तिहार नजिकिँदै छ । तेस्रो मुलुकबाट आउने क्रम बढे भने त्यसले ठूलो थप्छ । तर कुनै पनि हालतमा हामी समुदायमा कोरोना फैलिन दिँदैनौं ।’