भरतपुर- जिल्लामा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो। विगत तीन महिनादेखि मिर्गाैलाको समस्याका कारण डायलोसिस गराइरहेकी उनलाई भदौ १४ गते खोकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालद्वारा जारी सूचनमा उल्लेख छ। भदौ १७ गते कोरोना सङ्क्रमण देखिएको उनको कोभिड सघन उपचार कक्षमा आज साँझ ५ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यसअघि आजै चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गौँडाकोट नगरपालिका–५ का ३७ वर्षका एक पुरुषको मृत्यु भएको छ। अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मिर्गौलामा समस्या देखिएपछि उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए। उनको भदौ १० गते गरिएको स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै गएराति भरतपुर महानगरपवालिका–११ का ४० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना सङ्क्रमण देखिएको थियो। उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ। चितवनका ११, मकवानपुरका चार, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक-एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । हालसम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या ८६२ पुगेको छ।