वामदेव गौतम भन्छन् : राष्ट्रिय सभामा गएपछि मन्त्री-उपप्रधानमन्त्री त बन्‍ने हो नि ! (अन्तर्वार्ता)-Sutra News

वामदेव गौतम भन्छन् : राष्ट्रिय सभामा गएपछि मन्त्री-उपप्रधानमन्त्री त बन्‍ने हो नि ! (अन्तर्वार्ता)

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेकपा सचिवालयको आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीभित्र निकै लामो विवादपछि सत्तारुढ दलको आजको बैठकले गौतमलाई उपल्लो सदन (राष्ट्रिय सभा) को सदस्य बनाउने निर्णय गरेको हो।



गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रस्ताव आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए, जसलाई पार्टीको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गर्‍यो। प्रधानमन्त्रीकै प्रस्तावमा आफ्नाबारे सर्वसम्मतरुपमा निर्णय गरिएपछि गौतम हर्षित छन्।

हामी जत्तिको नेता प्रतिनिधि सभाको सदस्य बन्दा जति प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्थ्यो, राष्ट्रिय सभा सदस्यले त्यति प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन। तैपनि, मैले सकेजति प्रभावकारी भूमिका निर्वाह गर्न प्रयास गर्नेछु।

राष्ट्रिय सभामा सिफारिससँगै गौतमलाई ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनाइने चर्चा पनि चलेको छ। प्रधानमन्त्रीले जिम्मेवारी दिए आफू त्यो जिम्मेवारी स्वीकार गर्न तयार रहेको उपाध्यक्ष गौतमले बताउँछन्। प्रस्तुत छ, उपाध्यक्ष गौतमसँग सूत्रन्युजले गरेको संक्षिप्त कुराकानी:

तपाईँलाई संसदमा पठाउने-नपठाउने विषयमा पार्टीमा निकै लामो विवाद भयो। यही कार्यकालमा संसदमा जान्छु भन्ने विश्वास थियो?
मेरो विश्वास-अविश्वास भन्दापनि पार्टीले गर्ने निर्णय मेरा लागि महत्वपूर्ण हुन्छ। आज जसरी मलाई पठाउने निर्णय भएको छ, त्यसका लागि म प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पार्टीका सबै नेता कमरेहरुलाई धन्यवाद दिन चाहन्छु। मलाई राष्ट्रिय सभामा मनोनित गरेपछि राष्ट्रपति पनि धन्यवादको पात्र हुनुहुनेछ।

राष्ट्रिय सभामा गएपछि थप जिम्मेवारी पनि पाउनुहोला नि!
त्यो त प्रधानमन्त्रीको निर्णयको कुरा हो। राष्ट्रिय सभामा लैजानका लागि उहाँले नै प्रस्ताव गर्नुभएको हो। पार्टीले सर्वसम्मतरुपमा उहाँको प्रस्तावलाई अनुमोदन गरेको छ। बाँकी निर्णय पनि प्रधानमन्त्री र पार्टीले नै गर्ने हो।

तपाईँलाई उपप्रधानमन्त्री बनाउने चर्चा पनि छ। के होला?
त्यहाँ (राष्ट्रिय सभा) गएर हुने भनेको त्यही मन्त्री-उपप्रधानमन्त्री त होला नि। किनकि, संविधानअनुसार राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न पाउँदैन।

राष्ट्रिय सभा सदस्यमात्र रहँदा तपाईँको भूमिका कस्तो होला ?
हामी जत्तिको नेता प्रतिनिधि सभाको सदस्य बन्दा जति प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्थ्यो, राष्ट्रिय सभा सदस्यले त्यति प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन। तैपनि, मैले सकेजति प्रभावकारी भूमिका निर्वाह गर्न प्रयास गर्नेछु। 

यो पनि

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट