एक बुबाको अन्तिम परीक्षा-Sutra News

एक बुबाको अन्तिम परीक्षा

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- सन् १९४८ मा प्रर्दशनमा आएको ‘बाइसाइकल थिब्स’ (भिट्टोरियो डी सीका निर्देशित)मा एन्टोनिओ रिक्की (लेम्बर्टो मग्गिओरानी अभिनित) ले आफ्नो श्रीमती र छोरालाई सहयोग गर्न कामको खोजीमा हुन्छन्। आफूले विज्ञापन टाँस्ने काम त पाउँछ उसले। तर, आफूले पाएको काम गर्नका निमित्त उसलाई साइकलको आवश्यकता हुन्छ।



तर, दुर्भाग्य साइकल किनेर काम गर्न गएको पहिलो दिन नै रिक्कीको साइकल चोरी हुन्छ। त्यसपछि उसले साइकलको खोजी गर्न चालेका पाइलालाई सिनेमामा देखाइएको छ।

‘गर्ल विथ द पर्ल इयररिङ’ र ‘हेन्निबल राइजिङ’ सिनेमा निर्देशन गरेका बेलायती निर्देशक पिटर वेब्लरले सन् २०१९ मा प्रर्दशनमा आएको प्रकाश झा निर्देशित चलचित्र ‘परीक्षा : द फाइनल टेष्ट’ हेरेपछि ‘बाइसाइकल थिब्स’को याद आएको बताएका थिए। वेब्लरले झाको सिनेमाका पटकथाले उक्त सिनेमाको याद दिलाउने टिप्पणी गरे।

झाले निर्देशन गरेको सिनेमा ‘परीक्षाः द फाइनल टेष्ट’ एक रिक्सा चालकको कथा हो। बुच्ची (आदिल हुसैन अभिनित) नाम गरेको एक रिक्सा चालकले आफ्नो छोराको पढाइका लागि कस्तो संघर्ष गर्छ भन्ने कुरालाई सिनेमामा देखाइएको छ।

सायद, सपना आफ्नो अवस्थाअनुसार देखिन्छन्। आफू बाँचिरहेको बा-आफ्नो धरातलभन्दा केही माथि उठ्ने सपना देख्नुलाई मान्छेको प्राकृतिक स्वभावको रुपमा लिदाँ कुनै फरक नपर्ला। फरक पर्ने त, ती सपनाको पूर्णतावा अपूर्णताले हो। वेब्लरले ‘बाइसाइकल थिब्स’को याददिलाउने संज्ञा दिएको सिनेमा ‘परीक्षा’ यस्तो सपनाको कथा हो। यो सपना एक रिक्सा चालक बाबुको हो, जो आफ्नो सन्तानले आफ्नोजस्तै जीवन जीउनु नपरोस् भन्ने चाहन्छ। चाहन्छ आफूले जस्तोसुकै कदम चालेर पनि आफ्नो छोरालाई स्तरीय शिक्षा प्रदान गर्न, ता कि भोलि उसको जीवन आफ्नोजस्तो नहोस्।

सिनेमाको प्रमुख पात्र बुच्चीले स्याफायर इन्टरनेसनल स्कुलमा पढ्ने बालबालिकाहरुलाई आफ्नो रिक्सामा विद्यालयसम्म पुर्‍याउँछ। उसको छोरा बुलबुल (सुभम झा अभिनित) भने सरकारी विद्यालयमा अध्ययन गरिरहेको हुन्छ। पढाईमा अब्बल रहेको छोरालाई राम्रोसँग पढाएर आफ्नो आर्थिक अवस्थालाई उठाउने सोचबाट सुरु हुन्छ बुच्चीको कथा।

छोरालाई सरकारी स्कुलमा पढाइरहेको बुच्चीले छोराका लागि आफूले स्याफायरमा पुर्‍याउने बच्चाहरुले फ्याकेको किताब ल्याइदिन्छ घरमा। तर, ती पुस्तक सीबीएससी परीक्षा दिनेका लागि हुन्छन्। बुलबुल सरकारी विद्यालयमा पढिरहेकाले उसले स्टेट (राज्य) स्तरको निमित्तमात्रै परीक्षा दिन पाउने शैक्षिक प्रावधान हुन्छ। छोरामार्फत् यो कुरा थाहा पाएपछि पैदा हुन्छ बुच्चीमा-बुलबुललाई पनि स्याफायरमा पढाउने हुटहुटी। त्यो हुटहटीले बुच्चीलाई अपराधिक काम गर्न लगाउँछ।

झाको यो सिनेमामा एक बाबुले आफ्नो छोराको निम्ति गरेको संघर्ष त छँदैछ, सँगै भारतीय समाजमा स्थापित वर्ग संघर्ष र अंग्रेजीभाषाले मात्रै शैक्षिकस्तर बढाउँछ भन्ने भाष्यलाई पनि देखाइएको छ।

बुच्चीले बुलबुललाई सीबीएससीमार्फत्‍ नै परीक्षा दिनुपर्ने प्रण गरेपछि सुरुवातमा ऋण लिने प्रयास गर्छ। तर, ‘सामान्य रिक्सा चालकको छोराले किन यति ठूलो र महँगो स्कुलमा पढ्नुपयो?’ जस्ता प्रश्नहरु तेर्सिन्छन् उसका सामुन्ने। ती प्रश्नसँगै आउँछन्, ‘जति पढे पनि यसले रिक्सै त कुदाउने हो’जस्ता टिप्पणी। तर, ती टिप्पणीले बुच्चीको हुटहुटी कम हुँदैन। बरु, जुनुन थपिदिन्छ, आफ्नो छोरालाई त्यही विद्यालयमा पढाउने।

रिक्सामा भेटेको पर्समा रहेको पैसाबाट छोरालाई स्याफायरमा भर्ना गराए पनि अगाडिका शुल्कहरु तिर्न बुच्चीले गैरकानुनी बाटो रोज्छ। कारण, आफूले र श्रीमती राधिका (प्रियंकाबोस अभिनित)को कमाइले पुग्दैन। सुरुवातमा आफ्नो रिक्सामा चढ्ने यात्रुहरुको सामान चोर्नेबाट सुरु भएको उसको गैरकानुनी यात्रा घर फोड्नेसम्म पुग्छ।

आफ्नो छोरालाई पढाउनकै निमित्त एक बाबुले यो बाटो अपनाउनुपर्ने हुन्थेन होला, तर सामाजिक र आर्थिकरुपमा निम्न वर्गीय परिवारलाई हेर्ने दृष्टिकोणका कारण बुच्ची यी सबै गर्छ, जुन कानुनःत अपराध हो। आफूले भोगेकै कुरा आफ्ना सन्तानले नभोगोस् भन्नेमात्रै हो यी सबैका पछाडि।

सिनेमामा झाले उच्च वर्गीय परिवारले निम्न वर्गीय परिवारलाई हेर्ने दृष्टिकोणलाई सटिक ढंगबाट प्रस्तुत गरेका छन्। बुलबुललाई स्याफायरमा भर्ना गराउन बुच्चीले गरेको संघर्ष, रिक्सा चालककै छोरा हुनु नै उसलाई भर्ना नगरिने कारण बताइनु, विद्यालयमा भर्ना भएपछि अन्य बालबालिकाका परिवारले बुलबुललाई गरेको व्यावहारलगायतका दृश्यहरु उच्च वर्गीय परिवारले मध्यम वर्गीय परिवारलाई हेर्ने दृष्टिकोण हुन्। सिनेमाको एक दृश्यमा आफ्नै बुबाको रिक्सामा बसेको बुलबुललाई बुच्चीले विद्यालय पुर्‍याउने बालकका अभिभावकले समानरुपमा राखिएकोमा आपत्ति जनाउँछन्। अनि बुलबुल अरुभन्दा केही तल्लो स्थानमा बस्न बाध्य हुन्छ।

यो दृश्यले पनि सम्बोधन गरिरहेको कुरा त्यही हो, उच्च र निम्न वर्गीय परिवारबीचको द्वन्द्व। बुलबुललाई अरु बालबालिकाभन्दा तल्लो तहमा कुनै उच्च वर्गीय बालकको अभिभावकले भनेपछि बस्न बाध्यबनाइएको दृश्यमार्फत् निर्देशक झाले समाजले निम्न वर्गीय मानिसलाई हेर्ने दृष्टिकोणको चित्रण गरेका छन्।

बुच्चीको छोरा बुलबुलले स्याफायर स्कुलमा भर्ना भएपछि उसले भोगेका कुराहरुले पनि वर्गीयसँगै अंग्रेजी शिक्षा महत्वपूर्ण हुन्छ भन्ने सोचमाथि प्रहार गरेको छ। बुलबुलले आफ्नो कक्षामा अंग्रेजी बोल्न नसक्दा अपमान भोग्नु परेको छ। यो दृश्यले समाजमा अंग्रेजी भाषालाई समाजले कुनरुपमा हेर्छ भन्ने कुरालाई प्रस्तुत गरेको छ।

सिनेमामा बुच्चीको रुपमा आदिल हुसैनको अभिनय प्रसंशनीय लाग्छ। उनले आफ्नो छोरालाई पढाउनका लागि जसरी अरुको सामुन्ने हात फिजाउँछन्, त्यसमा उनको अभिनयको अब्बल प्रस्तुती देख्न सकिन्छ। प्रहरीले गिरफ्तार गरेपछि उनले आफ्नो छोरालाई बुबा अपराधि भएको सत्य थाहा नपाओस् भनेर गरेको अभिनय निकै बलियो छ। अर्कातिर, राधिकाको रुपमा देखिएकी प्रियंकाको अभिनयले पनि सिनेमामा राम्रो प्रभाव छाडेको छ।

समग्रमा ‘परीक्षा’ माभारतीय समाजमा स्थापित रहेको वर्गीय द्वन्द्व र शैक्षिक असमानतालाई राम्रोसँग प्रस्तुत गरिएको छ। तर, अन्य थुप्रै भारतीय सिनेमाहरुमा पनि यी कुरालाई प्रस्तुत गरिसकिएको हुनाले यसलाई नौलो कथाको रुपमा लिन सकिँदैन। नौलो कुरा के छ भने  झाले कथालाई बाँध्ने पूर्ण प्रयास गरेका छन्।

प्रस्तुतीमा केही कमजोरी छन्। सिनेमाको दोस्रो भागमा प्रवेश हुने एसपी कैलाश आनन्द (सञ्जय सुरी अभिनित)को भूमिका राम्रोसँग प्रस्तुत भएको छैन। यो भागमा झाले सिनेमामा राखेको प्लट मूल कथासँग नजोडिएको देखिन्छ। सुकुम्बासी बस्तीमा बुच्चीको छोरा बुलबुल तथा अन्य बालबालिकालाई पढाइ रहँदा आनन्दलाई स्याफायर स्कुलकै उच्च वर्गका अभिभावकले आफ्ना सन्तान पढाउन लगाउनु र उनले पढाउन नमान्दा उनको सरुवा भएको दृश्य सिनेमाको मूल कथासँग कतैबाट पनि नजोडिएको देखिन्छ। यी दृश्यलाई सिनेमामा केवल देखाउनकै लागिमात्रै प्रयोग गरेर ‘फिलर’को रुपमा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट