काठमाडौं-विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ। ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य सुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिए।
डिसहोमलगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान सुरु भएको हो। निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले जानकारी दिए।
पहिलो चरणमा शिवालय गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका १०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ। प्रतिपरिवार २५ केजी चामल र पाँच केजी दाल प्रदान गरिएको हो । शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाउँपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको डिसहोमका प्रतिनिधि शर्माले जानकारी दिए। अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाउँपालिका र अरु स्थानीय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ। खाद्यान्न पाएपछि जुनीचाँदे गाउँपालिका–४ का अस्मिता नेपालीले खुसी व्यक्त गरे।
शिवालय गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर पुन, छेडागाडा–५ का वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनीचाँदेका कार्यवाहक अध्यक्ष शिवा आचार्यले राहत हस्तान्तरण गरे।
भोक विरुद्धको सहायता अभियानमा डिस होमले नगद रु दुई लाख सहयोग गरेको छ। सत्कार इलेक्ट्रोनिक्स जाजरकोटका प्रोप्राराइटर वसन्तप्रसाद शर्माले ब्यानर र खानबस्नका लागि रु १५ हजार सहयोग गरेका छन्। जाजरकोटबाट सुरु गरिएको भोक विरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि सञ्चालन गरिने अभियानकर्मी कार्कीले बताए।