चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार-Sutra News

चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

चितवन– जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ। हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना संक्रमितमा प्लाज्मा थेरापी गरिएको हो ।



क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ। बिहीबार नै केन्द्रमा संक्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए। पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए।

कोभिड संक्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ। निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ। यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए।

जिल्लामा गम्भीर रहेका धेरै संक्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए। सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट