बागलुङ- घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन। घुम्ने रहर न हो- कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए। गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे। खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने।
पहिले ढोरपाटन जाने सल्लाह भयो। सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच बनाएँ। रुकुमतर्फको सडक पनि अबरुद्ध भएको खबर साथीबाट पाएपछि फेरि ढोरपाटनतिरै यात्रा तय गर्ने बरु जहाँसम्म सडक राम्रो छ त्यहाँ पुग्ने र फर्किने निचोड निकालें।
सालझण्डी–ढोरपाटन कच्ची सडक हुँदै उनीहरुको यात्रा अघि बढ्यो। दुई मोटरसाइकलमा चारजना सवार थिए। सुरुमा बोबाङसम्म भएपनि पुगौं भनेर बुर्तिबाङबाट हिँडेका कृष्ण सुनाउँछन्। ‘बोबाङसम्म पुग्दा सडक ठीकै लागेपछि अझै अघि जाऔँ भन्ने लाग्यो’, उनी भन्छन्, ‘साँझ ५ बजेतिर हामी लाकुँरीबोट भन्ने ठाउँमा पुग्यौँ।’
लाँकुरीबाट ढोरपाटन नगरपालिका–९, मा पर्छ। उनीहरु त्यहाँ पुग्दानपुग्दै पानी पर्न थाल्यो। वर्षा रोकिने छाँटकाँट नदेखिएपछि गाउँलेको होटलमा ओत लागे। ‘फल्लेघरसम्म पुगेर बास बसौँ, त्यहाँबाट हिँडेरै भएपनि ढोरपाटन पुगिन्छ भन्ने सोचेका थियौँ तर होटल पनि नयाँ र केही व्यवस्थित लागेपछि लाकुँरीबोटमै बसियो’, कृष्ण भन्छन्।
उनीहरुले होटलको उपल्लो तलामा कोठा लिए। त्यतिञ्जेलसम्म पनि वर्षा रोकिएको थिएन। नौलो ठाउँमा पुग्दा नयाँ परिकार खाऔँ न भनेर होटलको भान्सामा ढिँडो बनाउन लगाएको कृष्णले बताए।
‘हामी खाना खान तल झर्दैँ थियौँ, त्यतिबेला होटलभित्र भल पसिसकेको रहेछ’, उनी भन्छन्, ‘नजिकै खोला भएकाले थप जोखिम हुने हो कि भनेर होटल सञ्चालक र छिमेकीसहित बाहिरको अवस्था हेर्न निस्कियौँ।’
भुजीखोलाको बहावले होटलदेखि अलि माथि रहेको झोलुङ्गे पुल छुन लाइसकेको थियो। कृष्ण र उनका साथीहरुले घरमा क्षति हुन सक्ने भन्दै होटल सञ्चालकलाई बालबच्चा र सरसमान बाहिर निकालेर सुरक्षित हुन सुझाव दिए। उनीहरुले पनि होटलभन्दा माथि अग्लो ठाउँमा रहेको घरमा मोटरसाइकल राख्ने र त्यही जोगिएर बस्ने उपाय निकाले।
‘सबैतिर अन्धकार थियो, खोला पनि ठूलो आवाजसहित बग्न थाल्यो, मानिसहरु मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’, कृष्णले भन्छन्, ‘हामी हतारहतार होटलबाट निस्कन लागेका थियौँ, साथी नवीन मोटरसाइकलमा थोरै अघि गयो, मैले पनि मोटरसाइकल स्टार्ट गर्दै थिएँ, बाढी आइहाल्यो।’
कृष्णले मोटरसाइकल त्यहीँ छाडेर आफू बारीको कान्लो उक्लेर माथितिर भागेको बताए। दिलु र इन्द्र पनि ज्यान जोगाउन सुरक्षित ठाउँतिर लागे। एक घण्टापछि बल्ल कृष्ण, दिलु र इन्द्रको भेट भयो। नवीन भने सम्पर्कमा आएनन्। ‘पाँच सेकेण्डले बाँच्यौँ, नत्र हामीलाई पनि बाढीले बगाउने थियो’, कृष्ण भन्छन्।
मोटरसाइकलबाट सुरक्षित स्थलतर्फ जान लाग्दा नवीन भने बाढीमा बेपत्ता भए। मोटरसाकइलसमेत भेटिएको छैन। साथी हराएपछि रातभर खोजीमा भौँतारिएको कृष्ण सुनाउँछन्। उनी भन्छन्, ‘हामी तीन जना त बल्लबल्ल बाँच्यौँ तर बाँचेको सार पनि नभएजस्तो लागेको छ, सँगै गएको साथी सम्पर्कमा नआउँदा हामी दुःखी छौँ।’
बाढीले कृष्णको मोटरसाइकल पनि बगाएको छ । राति करिब ११ बजेतिर बाढी बस्तीतिर पसेको कृष्णले बताए। उनले कल्पना नगरेको घटना आँखा अघिल्तिर भएको उल्लेख गरे। ‘पहिलोपटक गएका थियौँ, भूगोल कस्तो छ, थाहा थिएन, माथि जाऔँ भीर, तल खोला ज्यान जोगाउन पनि कठिन भयो’, उनी भन्छन्।
नवीन बाढीमा बेपत्ता भएको खबर पाए लगत्तै खोजी र उद्धारका लागि गलकोटबाट वडाध्यक्षसहितको टोली घटनास्थल पुगेको छ। सकुशल रहेका तीन जनालाई उद्धार गरी बुर्तिबाङमा राखिएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारी बताउँछन्। बेपत्ता नवीनको खोजी कार्य चलिरहेको उनको भनाइ छ।
नवीन गलकोट नगरपालिका–४ र अन्य तीनजना वडा नं. ३ का हुन्। उनीहरु बसेको लाँकुरीबोटको होटलमा पनि बाढीले क्षति पुर्याएको छ। वस्तुभाउ बगाएको छ। मानिस भने भागेर बाच्न सफल भएका छन्। त्यहाँका दर्जन बढी घर बाढीले क्षतिग्रस्त बनेका छन् । केही स्थानीयवासी बेपत्ता छन्।
बाढीपहिराले ढोरपाटन नगरपालिका–९ लाँकुरीबोट, सुप्राङ, भुसुण्डे, फल्लेघर, दुनेपँधेरालगायतका बस्तीमा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीमा ज्यान गुमाएका १४ जनाको शव फेला परेको छ भने बेपत्ताको संख्या एकिन हुन सकेको छैन ।
बेपत्ताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। बाढीले विद्यालय, सडक, झोलुङ्गे पुल, लघुजलविद्युत्, खानेपानी आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीग्रस्त क्षेत्रका मानिस राहत र पुनःस्थापनाको पर्खाइमा छन्।