जसलाई बार्सिलोनाले ‘कौडी’को भाउमा बेच्यो-Sutra News

जसलाई बार्सिलोनाले ‘कौडी’को भाउमा बेच्यो

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- ‘कहीं नभाको जात्रा हाँडी गाउँमा’ भन्ने नेपाली उखान यतिबेला फुटबल क्लब बार्सिलोनामा चरितार्थ छ।



फुटबल जगतमा अहिले सबैभन्दा ठूलो भाँडभैलो ‘कहीं छ भने त्यो बार्सिलोनामा छ। अबको केही दिनमा स्पेनिस घरेलु लिग (लालिगा) सुचारु हुँदैछ। सम्पूर्ण टिम आफ्नो दाबेदारीसहित मैदान फर्किन आतुर छन्। बार्सिलोना भने आफ्नो गृह कलह र खिचातानीलाई समाधानको मेसो नपाएर छटपटाएको छ। 

बार्सिलोनाको भद्रगोल नौलो होइन। यसैबीच क्लबले नयाँ प्रशिक्षक रोनाल्ड कोमन्लाई नियुक्त गरेपपछि भद्रगोलले महाप्रलयको रूप ग्रहण गरिरहेको छ। उनले लुइस सुवारेज, आर्टुरो भिडाल, इभान राकिटिक र सर्जियो बुस्केट्स जस्ता क्लबका महत्वपूर्ण र उत्कृष्ट खेलाडीलाई सम्झौता रद्द गरेर क्लब निकाला गर्ने बताएपछि स्थिति नियन्त्रण बाहिर छ। क्लबका उप-कप्तान एवम् भरपर्दा डिफेन्डर जेरार्ड पिकेले टिमलाइ फाइदा भए आफू टिम छोड्न तयार रहेको बताइरहेकै बेला लियोनेल मेस्सीले पनि क्लब छाड्ने घोषणा गरिसकेका छन्।

यसले झन् क्लबको अवस्था नाजुक र उग्र बनाइरहेको छ। सिंगो क्लब समस्या समाधान एवम् व्यवस्थापनमाभन्दा पनि मेस्सीलाई फकाउन लागि परिरहेको छ। अर्कातर्फ क्लबका अध्यक्षको राजीनामा माग्दै तीव्र असन्तुष्टि पोख्नेहरूका जमात छुट्टै छन्। क्लबबाट बेच्ने भनेका अधिकांश खेलाडीलाई न त कुनै क्लबले चासो दिएका छन् न बार्सिलोनाले कतै बन्दोबस्तको वातावरण मिलाउन सकेको छ। यो भन्दा ठूलो भद्रगोल र जात्रा अरू के हुन सक्छ?

बार्सिलोनाले बेच्ने सूचीमा राखेकामध्येबाट राकिटिकलाई भने बेचिसकेको छ, त्यो पनि कौडिको भाउमा। यहाँ चर्चा गर्न लागिएको पात्र पनि उनी नै इभान राकिटिक हुन्। ६ वर्षे बार्सिलोना बसाइमा उनी जसरी क्लबका लागि उभिए त्यसले उनको विदाइमा क्लब र फुटबलमा पुर्‍याएको योगदानबारे लेख्न अनिवार्य तुल्याँउछ।

सिन्के ज्यानलाई देख्दा राकिटिच कुनै कोणले फुटबल खेलाडी जस्तो लग्दैनन्। तर, मैदानमा बलमाथिको नियन्त्रण र रकेट सुट देख्दा भने जो कोही पनि फिदा भइदिन्छन्। बार्सिलोनामा बस्दा उनी (प्लेयर विद नो हेटर्स) अर्थात् घृणा नभएका खेलाडीका रूपमा स्थापित भए। बार्सिलोनाका महान् खेलाडी जाभी हर्नान्डेजलाई विदा गर्ने समय अर्थात् सन् २०१४ मा बार्सिलोनाले राकिटिकलाई  र हाल उनलाइ बेचेको क्लब सेभिल्लाबाटै अनुबन्ध गरेको थियो।

आएकै सिजन उनले बार्सिलोनाबाट च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्न सफल भए। र,फाइनलमा उनी आफैंले युभेन्टसविरुद्ध सुरुवाती गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। बार्सिलोनाले ३-१ ले जित्दै च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयो। त्यसपछि नै उनी बार्सिलोनाका महत्वपूर्ण खेलाडीका रूपमा स्थापित भए।

कतिपय विश्लेषकले उनले जाभिको ठाउँ लिन सक्ने बताएका थिए। उनी जाभी नै त बन्न सकेनन् तर क्लबमा जाभीको अभावमाथि उनले धेरै हदसम्म न्याय गर्न सफल भए।अनुभवी खेलाडी सर्जियो बुस्केट्स र आन्द्रेस इनिएस्टासँग उनले जमाएको मिडफिल्डरलाई संसारकै उत्कृष्ट मिड फिल्डर भनेर पटक-पटक प्रशंसा हुने गर्दथ्यो।

पछि इनिएस्टाले पनि क्लब छोडेपछि झन् उनको काँधमा दोब्बर जिम्मेवारी बढ्न थाल्यो। तर,उनले बुस्केट्ससँग उत्कृष्ट तालमेल मिलाँउदै टिममा इनिएस्टाको अभावलाई पनि धेरै हदसम्मको न्याय गर्न सफल भइरहेछ। छोटा र स्पष्ट पास खेल्न माहिर उनी बार्सिलोना रहुन्जेल राम्रो भिजन भएका संसारका थोरै मिडफिल्डर मध्येका एक बनिरहन सफल भए।

118777783_766165780872432_7146467404758299745_n (1).jpg

मेस्सीसँग मिलेर आफ्नो उत्कृष्ट प्ले मेकिङको सीपलाइ पनि उनले आफ्नो बार्सिलोना बसाइभर उत्कृष्ट ढंगले प्रदर्शन गरी नै रहे। उनी यति भर्सटाइल मिडफिल्डर हुन् कि उनलाई मिडफिल्डको जुनसुकै भूमिकामा राखे पनि उनी सतप्रतिशत न्याय गर्न सक्थे। आफ्नो बार्सिलोना रहँदै गर्दा उनले कहिले सेन्ट्रल मिडफिल्ड कहिले डिफेन्सिब मिड फिल्ड त कहिले अट्याकिङ मिडफिल्ड सबैमा आफूलाई प्रमाणित गर्न सफल भए।

उनको ६ वर्षे बार्सिलोना बसाइ एकदम सानदर तरिकाले बित्यो। उनले क्लबका लागि १४ वटा उपाधि जित्न सफल भएका छन्। आएकै वर्ष च्याम्पियन्स लिग सहित चार उपाधि जित्न सफल भएका उनले २०१५/१६ को सिजनमा लालिगा र कोपा डेल रे जितेका थिए। २०१६/१७ को सिजनमा पुनः लालिगा र कोपा डेल रेसहित स्पेनिस सुपरकप पनि जित्न सफल भए। २०१७/१८को सिजन उनले तीन घरेलु उपाधि लालिगा, कोपा डेल रे र स्पेनिस सुपरकप जित्न सफल भएका उनले २०१८/१९ को सिजन लालिगा र स्पेनिस सुपरकप जितेका थिए।

उनको प्रत्येक खेलको व्यक्तिगत प्रदर्शनको विश्लेषण गर्ने हो भने अपवादमा बाहेक उनको औसत प्रदर्शन अन्य क्लबका मिडफिल्डरका भन्दा निकै उत्कृष्ट रहँदै आएको छ। तर फुटबल टिम गेम हो र यसमा टिम असफल भएपछि व्यक्तिगत प्रदर्शनले खास अर्थ राख्दैन। टिममा गरेको उत्कृष्ट व्यक्तिगत प्रदर्शनका कारणले नै उनलाई धेरैले फरक र विशेष खेलाडी भनी खुलेर प्रशंसा गर्थे।

कयौं घटनाक्रमपछि बार्सिलोनाका प्रशिक्षकका रुपमा नियुक्त भएका रोनाल्ड कोमनले टिममा ३० मुनिका युवालाई मात्रै प्राथमिकता दिने भनेपपछि ३२ वर्षीय राकिटिच उनको पहिलो सिकार बन्न पुगे। कोमनले बार्सिलोना इतिहासकै अर्का उत्कृष्ट खेलाडीलाई एक सिजन हेरौं न भन्ने धैर्य गर्न सकेनन्।

उनको युवा खेलाडी ल्याउने हुटहुटीले राकिटिक जस्ता उत्कृष्ट एवम् प्रतिभाशाली खेलाडीलाई मात्रै साढे १ मिलियन युरोमा बेचिदिए। जबकि अन्तर्राष्ट्रिय सरुवा बजारको तथ्यांकअनुसार राकिटिच खराब फर्ममै रहेता पनि कम्तिमा पनि २० मिलियन युरोमा बिक्न सक्ने खेलाडी हुन्।

सायद कोमनलाई यो पनि थाहा छैन होला कि अघिल्ला सिजन राकिटिकरालाई भित्र्याउन इंग्लिस प्रिमियर लिगका क्लबमा होडबाजी नै चलेको थियो। यति मात्रै होइन, फ्रान्सेली क्लब पिएसजीले सन् २०१८ मा ८० मिलियन युरो प्रस्ताव गर्दा बार्सिलोनाले राकिटिकलाई आफ्नो भविष्य सम्झेर उक्त रकम अस्वीकार गरेका थिए।

तर, बार्सिलोनाले सोचेको भविष्य यो होइन। हिजो कसैले बहुमूल्य हिरा सम्झेर गरेको अफर नकारेर आज कौडीको मूल्यमा बेच्नुभन्दा ठूलो लज्जाको विषय के हुन सक्छ? एक सिजनको अन्तरमा सक्रिय खेलाडीको मूल्यमा यति गिरावट नआउने र यो एक हिसाबको अपमान भएको फुटबलका जानकारहहरू बताँउछन्।

यो अपमानको मूल्य बार्सिलोनाले पटक–पटक चुकाउन सक्ने भविष्यवाणी पनि उनीहरूले गरेका छन्। बार्सिलोनाका पूर्वखेलाडी रिभाल्डोले त बार्सिलोनाले आफ्ना खेलाडीलाई सधैं अपमान बाहेक केही गर्न नजान्ने भनेर आलोचना गर्दै आइरहेका छन्।

राकिटिकको खेल जीवन बार्सिलोनाको ६ वर्षे बसाइ मात्रै होइन उनी यसभन्दा पहिला पनि हाल अनुबन्धित क्लब सेभिल्लामा थिए। उनले चार वर्षे सेभिल्ला बसाइमा १ सय ४९ खेलमा ३२ गोल र ४१ गोलका लागि एसिस्ट गरेक थिए। सेभिल्लाबाट एउटा युरोपा लिग जितेपपछि उनको बार्सिलोना यात्रा तय भएको थियो।

सेभिल्लाभन्दा पहिला उनले सन २००८ देखि २०१० सम्म जर्मन क्लब साल्के र २००४ देखि २००७ सम्म स्वीटजर्ल्यान्डको लिगबाट खेलेका थिए। साल्केमा रहँदा जर्मन कप जितेका उनले स्वीटजरल्यान्डमा पनि स्विस कप जितेका थिए।

२०१८ को रसिया विश्वकपमा क्रोयसियालाई फाइनलसम्म पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका उनले हालसम्म १७ वटा क्लब उपाधि जितेका छन्। यसक्रममा उनले समग्रमा ६ सय ६६ खेलमा १ सय ३ गोल र १ सय १३ गोलका लागि पास मिलाइदिएका छन्। उनले राष्ट्रिय टिमाबाट ८९ खेलमा ९ गोलका साथै १३ गोलका लागि पास मिलाइदिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट