‘सहकारीको माध्यमबाट अर्थतन्त्र निर्माणमा मन्त्रालय लागिपरेको छ’-Sutra News

‘सहकारीको माध्यमबाट अर्थतन्त्र निर्माणमा मन्त्रालय लागिपरेको छ’

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सहकारीले सदस्यको आर्थिक समाजिक रुपान्तरणमा काम गर्नुपर्ने बताएका छन् ।



नेपाल सहकारी पत्रकार समाजको १०औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सहकारीको माध्यमबाट सबल अर्थतन्त्र निर्माण गर्नको लागि मन्त्रालय परेको समेत बताए ।

‘आगामी दिनमा सबल अर्थतन्त्र निर्माणको लागि मन्त्रालयले समाजसँग मिलेर अघि बढ्छ,’ पाण्डेले भने, ‘मन्त्रालयले आगामी दिनमा समाजसँगको सहकार्यलाई प्रभावकारी रुपमा अघि बढाउने छ ।’

देशमा गरिबी न्यूनीकरणका लागि पनि सहकारी अनिवार्य भएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले बताए । सहकारीको क्षेत्रमा भएको कमजोरी समेत औंल्याउँदै अध्यक्ष कँडेलले भने, ‘सहकारी क्षेत्रमा तथ्याङ्क अभाव छ । त्यो तथ्याङ्क मिलाउने काम सरकारी निकायको हो ।’ सहकारीले गरेको पुँजी परिचालनको आधिकारिक तथ्याङ्क नभएको भन्दै यस्तो तथ्याङ्क संकलनमा सरकारी निकायले ध्यान दिनुपर्ने उनकोत र्क थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ जानको लागि आवश्यक गृहकार्य गरिरहेको बताए । सहकारी पनि अब प्रविधिमैत्री हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरे । समाज सहकारी अभियानको आवाज बनेको भन्दै सकारात्मक मार्ग दर्शनमा आफ्नो भूमिका कायम राख्ने प्रतिवद्धता समेत उनले जनाए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुशासनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताए । समाजका संस्थापक अध्यक्ष यावद हुमागाईंले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले उपत्यका भित्रका सहकारीको समाचार मात्रै छापामा आउने भन्दै उपत्यका बाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेको बताए । हुमागाईले कतिपयले समाजलाई सहकारी संस्था नै हो की भन्ने बुझ्दा समस्या सृजना भएको भन्दै यो दुविधाबाट मुक्त हुन आग्रह समेत गरे ।

दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले नेपालको कर्मचारी तन्त्रले सहकारीलाई नचिनेको भन्दै गुनासो पोखे । उनले आगामी दिनमा सहकारी संस्थाहरुको भूमिकालाई बुझिदिन सरकारलाई आग्रह समेत गरे ।

कोरोनापछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण ‘भर्चुअल’ माध्यमबाट स्थापना दिवस सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट