अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा-Sutra News

अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन्।



६ महिनाभित्रै संसद् सदस्य बनिसक्नुपर्ने मिति शनिबार सकिनै लागेका बेला त्यसको एकदिन अघि खतिवडाले राजीनामा दिएका हुन्।

खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार बालुवाटार गएर खतिवडाले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। ‘अर्थ मन्त्रालयको कार्यक्रमपछि उहाँले संविधान बमोजिम प्रधानमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो,’ सूत्र न्यूजसँग उनले भने।

त्यसअघि उनले मन्त्रिपरिषद् बैठकमा अन्तिम सहभागिता जनाउँदै विदाइ मन्तव्य राखेका थिए। त्यहाँ उनले करिब १५ मिनेट आफूले गरेका कामबारे बेलिविस्तार लगाएका थिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले बिहीबार राष्ट्रिय सभाको रिक्त एकमात्र स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो। गौतमलाई पठाउने पार्टीको निर्णयसँगै खतिवडा संसद् सदस्य बन्ने बाटो सकिएको थियो।

६ महिनाभित्रै संसद् सदस्य बन्ने गरी गत २१ फागुनमा दोस्रो पटक अर्थमन्त्री नियुक्त भएका खतिवडालाई संसद सदस्य नबन्ने अवस्था आएपछि अर्थ मन्त्रालयबाट बाहिरिनु बाध्यात्मक थियो।

राजीनामा अघि मन्त्री खतिवाडाअर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ उनले चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै संघीयताको जग बसाल्न सफल भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट