देशभर फैलिँदै मोरङबाट सुरु भएको ‘फुड बैंक’ अभियान-Sutra News

देशभर फैलिँदै मोरङबाट सुरु भएको ‘फुड बैंक’ अभियान

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- कोभिड–१९को महामारीलाई नियन्त्रण गर्न सरकारले देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको गरिरहेको छ ।



०७६ साल चैत्र ११ गतेदेखि पहिलो चरणको लकडाउन सुरु भएलगत्तै विपन्न वर्गका व्यक्तिहरुमा त्यसको प्रत्यक्ष प्रभाव पर्‍यो । केही समयसम्म त सरकारले राहतको व्यवस्था गर्‍यो । लकडाउन अवधि थपिँदै गएपछि भने राहतका गतिविधि पनि निमिट्यान्न हुन थाले ।

साउनको पहिलो साताबाट लकडाउन खुकुलिँदै गएपछि विस्तारै चलहपहल देखिन थाले ।

तर, संक्रमण तीव्र रुपमा बढ्दै गएपछि १२ भदौबाट पुनः दोस्रो चरणको निषेधाज्ञा सुरु भयो । त्यसयता निम्न आर्थिक आय भएका व्यक्तिहरूमा छाककै समस्या देखिन थाले पनि सरकारले राहत वितरणमा गम्भीर चासो देखाएन ।

सरकारबाट जनता निराश भइरहेको यो बेलामा एउटा अभियानले भने खुबै चर्चा बटुलिरहेको छ । त्यो अभियान हो– फुड बैंक । केही दिनयता देशभर देखा परेको  यो अवधारणा प्रभावकारी समेत देखिएको छ ।

यो अवधारणाको सुरुवात सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भएसँगै भएको थियो । उक्त तस्बिरमा ‘हुनेले दिने, नहुनेले लिने’ भन्ने नारासहित ‘फुड बैंक’ लेखेर खाद्यान्नका सामग्री राखिएका थिए । विभिन्न सञ्चारमाध्यममा यो तस्बिर र तस्बिर पछाडिका कथाले प्राथमिकता पाए ।

देशका विभिन्न स्थानीय तहबाट सुरु भएको अवधारणा अहिले सर्वत्र देखिएको छ । मोरङको केराबारीबाट स्थानीय युवाहरुले यो अभियानको सुरुवात गरेको थिए । बिहान ९ बजेदेखि १० बजेसम्म फुड बैंक सञ्चालन गरिएको थियो । फुड बैंकबाट खाद्यान्न नहुनेहरुले आवश्यक परेको सामग्री लिएर जान पाउँछन् र दिन मन हुनेले सोही स्थानमा खाद्यान्न छाडेर जान सक्छन् ।

अहिले ‘फुड बैंक’को यो अवधारणा देशका पूर्वदेखि पश्चिमसम्म सुरु भइसकेको छ । पूर्व मोरङदेखि पश्चिम भैरहवासम्म यो अवधारणा छरिएको छ । धादिङको गजुरी नगरपालिका, काभ्रेको पनौती नगरपालिका, बुटवल, पाँचथर, बारा, बैतडी, पोखरा, काठमाडौं, बगलुङ, अर्घाखाँची लगायतका विभिन्न ठाउँमा अहिले फुड बैंक स्थापना भई सञ्चालनमा समेत छन् ।

बुटवलमा सञ्चालित फुड बैंक रुपन्देहीमा सक्रिय रहेका क्लबहरुको सहकार्यमा सुरु भएको हो । केही दिनअघि सुरु भएको फुड बैंकमा एकपटक एक व्यक्तिले अढाइ केजी चामल, आधा केजी दाल, एक केजी आलु, आधा लिटर तेल, एक केजी प्याज, एक पाउ लसुन, बेसार र अदुवा तथा एक किलो नुन, पाँच वटा मास्क र साबुन लिएर जान पाउँछ ।

बुटवलस्थित रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलका अनुसार लकडाउन अवधिभर यो बैंक सञ्चालनमा रहने छ । भूर्तेल भन्छन्, ‘कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्ले हामीले यो सञ्चालन गरेका हौं । यहाँ हुनेहरुलाई सहयोग गर्न र नहुनेहरुलाई लैजानका लागि आग्रह गरिएको छ ।’

बागलुङ नगरपालिकामा सञ्चालनमा आएको ‘फुड बैंक’ नगरपालिका र बागलुङ जेसीसको सहकार्यमा सञ्चालनमा आएको छ । श्रमिक, मजदुर, गरिब तथा विपन्नलाई सहयोग गर्ने हेतुले फुड बैंक सञ्चालनमा आएको छ । विभिन्न क्षेत्रबाट आएको आर्थिक सहयोगको उपयोग गरेर बागलुङमा फुड बैंक सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै, काभ्रे जिल्लाको पनौती नगरपालिकामा नगरको विपद् व्यवस्थापन समितिले ‘फुड बैंक’ सञ्चालन गरेको छ । बजारस्थित ईन्द्रेश्वर प्राथमिक विद्यालयमा फुड बैंक स्थापना गरेर दाताले उपलब्ध गराएको खाद्यान्नलाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।

पाल्पाको रामपुरमा सञ्चालित फुड बैंकमार्फत् अतिविपन्न परिवारका छ सयभन्दा बढी मानिस लाभान्वित भइसकेका छन् । लायन्स क्लब अफ रामपुरले विभिन्न स्थानमा फुड बैंक सञ्चालन गरिरहेको छ ।

क्लबका अध्यक्ष खिम बहादुर केसीका अनुसार कोरोना भाइरस संक्रमणको बढ्दो जोखिममा लागू गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरिब र विपन्न वर्गका नागरिकका लागि फुड बैंक सञ्चालनमा ल्याइएको थियो ।

त्यस्तै, काठमाडौंको ललितपुरस्थित गोदावरी नगरपालिकामा पनि केही दिनअघि फुड बैंक सञ्चालनमा आएको छ । ललितपुरमा सुरु भएको फुड बैंकमा पनि ‘हुनेले दिने र नहुनेले लिने’ शैलीलाइ अपनाएर विपन्न तथा लकडाउनको मारमा परेका मानिसहरुलाई सहयोग पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट