दार्चुला–महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुंगा लागेर मृत्यु भएको छ । नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाँटीबगर क्षेत्रमा काम गर्दै आएका व्यास गाउँपालिका–५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्युभएको हो ।
शुक्रबार बेलुकी ५ बजेतिर घाँटीबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामी गम्भीर घाइते भएका थिए । घाइते धामीलाई साढे ७ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याइए पनि उनको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।
अध्यारो भइसकेका कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लिन नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताए। राति भएका कारण जिल्ला अस्पताल पुर्याइएको थियो ।
नेपाली सेनाले यो क्षेत्रमा साढे पाँच सय मिटरमध्ये झण्डै ८० मिटर मात्रै बाटोको ट्ययाक खोल्न बाँकी छ । कडा चट्टानी भूगोल रहेको यो क्षेत्रमा सेनाले बाटो खोल्ने जिम्मेवारी पाएको थियो । बाटो खोलेपछि यो क्षेत्रमा व्यासका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।