निलो सिनेमाको मैथुनबद्ध झलक…
आमाचकारी गाली…
खुलेआम प्रदर्शित विक्षिप्त मान्छेको जननेन्द्रीय…
नर्तकीका थर्थराइरहेका अर्धनग्न स्तन…
शरीरका रौँका रैथाने नाम…
रात्रिक्लबमा मध्यरात चल्ने नाङ्गो नाच…
पार्कमा लट्ठारिरहेको चुम्बनमग्न युगल मायालु…
पोर्नसाइट र कोकशास्त्रहरू…
यिनै हुन् त अश्लील ?
महिला तथा सज्जनवृन्द !
स्वागत छ यहाँहरूलाई मेरो कवितामा
आज हामी अश्लील–श्लीलको बहसलाई
सदाका निम्ति टुङ्ग्याउँदै छौँ
आफैँमा अश्लील हुन्छन् केही चिज—
कुपोषित नानीहरूका दूध र लिटो फँडानी गरेर
बसाइएको फोर्ब्सको धनाढ्य सूची,
परमाणु हतियारको अनुष्ठानपछि
विश्वलाई दिइने विश्व शान्तिका प्रवचनहरू,
खडेरीमा धकेलेर गरिब देशको किसानको हाँसोलाई
लाखौँ चिम्नीबाट फैलिरहेको प्रथम संसारको कार्बन अट्टहास…
यो पृथ्वी, यो जल, यो तेज, यो वायु र यो आकाशलाई
आफ्नो लुट–वाङ्मयमा समेटिरहेको
व्यवस्था छ एउटा
अश्लील, अश्लील
(कति दिऊँ उदाहरण !)
कसले फैलाउँछ अश्लीलता ?
(यसको टुंगो पनि आजै लगाऔँ)
चोरको पक्ष लिइरहेको
पुलिसले फैलाउँछ अश्लीलता
किशोरीका भर्खर–भर्खर आकार लिइरहेका स्तनमा
शिकारी आँखा टाँसेर
निक्लिने भलाद्मीको सुसेलीले फैलाउँछ अश्लीलता
सरकारी नियुक्ति ताकिरहेको भजनरत कविको
आत्मच्युत एक–एक शब्दले फैलाउँछन् अश्लीलता
बाढीले घरखेत निलेपछि झोक्राइरहेको मान्छेकै छेउमा
दर्किरहेको झरीमा
विभोर भएर रुझिरहेको मान्छेले फैलाउँछ अश्लीलता
बस्तीबाट वेश्या भनिएकी महिलालाई गलहत्याउनुअघि
भद्र गणले प्रस्तुत गर्ने दलिलले फैलाउँछ अश्लीलता
श्लीलको संहिता कुँद्ने
शास्त्रहरूले फैलाउँछन् अश्लीलता
प्रेमको हत्यार्थ हतियार उजाइरहेका
हरेक हातले फैलाउँछन् अश्लीलता…
अब यो बहसलाई टुंग्याइदिऊँ यसरी—
अत्याचारविरुद्ध मौनता
अश्लील हो
दुःखीमाथि ठट्टा
अश्लील हो
अत्याचार गर्दै ठट्टा गर्ने
र, ठट्टा गर्दै अत्याचार गर्ने
शासनलाई झेल्नु
अतिशय अश्लील हो
म घृणा गर्छु
अश्लील मान्छेहरूलाई
गर्छु घृणा
अश्लील चिजहरूलाई
र, असाध्यै घृणा गर्छु
मभित्र पैदा हुन खोज्ने
एउटा अश्लील मान्छेलाई ।
०००