एउटा मानिस– रोटी बेल्छ
अर्को मानिस– रोटी खान्छ
एउटा अर्को मानिस पनि छ
जो न रोटी बेल्छ, न रोटी खान्छ
ऊ केवल रोटीसित खेल्छ
म सोध्छु,
त्यो तेस्रो मानिस को हो ?
मेरो देशको संसद मौन छ
प्रसिद्ध भारतीय कवि‘धुमिल’ को एउटा बहुचर्चित कविता छ, रोटी और संसद् । कविताले जनतासँग ‘भद्दा मजाक’ गर्ने संसद्को खराब चरित्रमाथि व्यङ्ग्यात्मक प्रहार गरेको छ ।
प्रगतिशील कवि हुन् ‘धुमिल’। र, धेरैजसो प्रगतिशील लेखक ‘धुमिल’ का कविताका अनुरागी हुन् भन्दा फरक नपर्ला ।
०३६ सालतिर, ‘लेफ्ट लिटरेचर’का अगुवा मानिने आख्यानकार नारायण ढकाल ‘रोटी और संसद’ कवितासँग निकै पटक साक्षात्कार भए । त्यसबेला काठमाडौंबाट साहित्यिक पत्रिका ‘लहर त्रैमासिक’ प्रकाशित हुने गर्दथ्यो । कवि विमल निभा, कथाकार राजव र नारायण मिलेर निकालेको उक्त पत्रिका कवि/लेखक र साहित्यिक अध्येताहरुमाझ लोकप्रिय थियो ।
खासमा देशको खराब राज्यव्यवस्थासँग असन्तुष्ट यी लेखक राज्यसँग रचनात्मक विद्रोहद्वारा पौंठेजोरी खेल्न चाहन्थे । नारायण सम्झन्छन्, नेपाली जनताको घाँटी अठ्याउने तत्कालीन राज्यव्यवस्था र संसद्प्रतिको असन्तुष्टि आफूहरुले कविताहरुमार्फत् पोखेको । ‘रोटी और संसद कविता हामीले लहर त्रैमासिकमा अनुवाद गरी छाप्यौं । मैले निकै पटक पढेको यो कविताको अनुवाद समय सान्दर्भिक पनि थियो,’ स्मृतिको आँखिझ्यालबाट ४ दशकअघिका विद्रोह चियाउँछन् उनी ।
नारायण ढकाल कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । यही सक्रियताले उनलाई संघर्षको पथमा डोहोर्याएर लग्यो । र, उनी एकदिन त्यही ढोकामा पुगे, जुन ढोका ‘धुमिल’ले भनेजस्तै ‘रोटीसित खेल्नेवाला’ संसद्को थियो ।
उनी त्यो दैलोबाट भित्र छिरे । र, लेखक नारायण ढकालबाट ‘सांसद नारायण ढकाल’मा रुपान्तरण भए । प्रश्न थियो, ‘धुमिल’को कविताले इङ्गित गरेको बिम्बको हिस्सेदार उनी भए त ?
उनको जवाफ छ, ‘म त सांसदको भेषमा गएको एउटा पर्यटक जस्तो भएं । न संसदको आन्तरिक भाषा बुझें, न गुटबन्दी ।’
अहिले पनि निराश देखिन्छन् उनी व्यवस्थासँग । बरु आशा गर्छन् शब्दसँग, जसलाई हजारौं माइलसम्म दौडाउन चाहन्छन् । काँठको दुःख, सुस्केरा, सपना भनौं वा गीत । उनी लेखनको मूल विषय काँठलाई बनाउँछन् र लेखनमै रमाउँछन् ।
लेखक नारायण ढकाललाई नियाल्दा बादलजसरी मडारिरहेका जिज्ञासा प्रश्न बनेर बर्सिन खोज्छन्, आखिर यिनी किन रमाउन सकेनन् त संसद्मा ? जवाफ उनीसँग छ । प्रष्टसँग भन्छन्, ‘मैले आफूलाई ‘आइसोलेसन’मा बसेको जस्तो एक्लो अनुभव गरें । त्यसैले सकिनँ रमाउन ।’
उनले सोचेका थिए,‘०४६ पछि देशमा राजनीतिक परिवर्तन आएको छ । परिवर्तनकै खातिर लडेकाहरु गलत हुँदैनन् । सायद राम्रै हुन्छ ।’
त्यही उत्साहमा संसद छिरेका ढकालले आफूलाई पूर्ण रुपमा संसद ठानेनन् । बरु ठाने संसद्का ‘अस्थायी पर्यटक’ । राजनीतिमा आफू स्थायी नागरिक रहेनछु भन्ने अनुभूति गरे । अनि लेखकीय धरातलबाट आएका उनी पछि पूर्णकालीन लेखकै बने ।
‘बाहिर हेर्दा संसद जति शक्तिशाली र सुन्दर हुन्छ, त्यस्तै सुन्दर र शक्तिशाली होला भन्ने सोचेको थिएं’ उनी सुनाउँछन्, ‘तर त्यहाँ गइसकेपछि पार्टीहरुको ब्यूरोक्रेसी र राज्यको असफलताको छाया टड्कारो देखिने रहेछ ।’
ढकाललाई लाग्थ्यो, साहित्य र लेख–रचनाबाट नभएको संवाद राजनीतिबाट हुन्छ । छिटो संवाद भयो भने परिवर्तन र रुपान्तरणको काम तीव्र हुन्छ । तर, उनको व्यवहारिक भोगाइले भन्दैछ, त्यो सोचाइ गलत रहेछ ।
संसदको बाटो
उनी सांसद हुनु अनौठो कुरा थिएन । कम्युनिष्ट पार्टीको सक्रिय नेता नै थिए । ०४९ मा काठमाडौं जिल्ला विकास समितिको उपसभापति पनि बनिसकेका थिए । कुनै आन्दोलनमा निस्क्रिय रहेनन् ।
विसं २०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारी काठमाडौंका दुई क्षेत्र (क्षेत्र नं १ र ३) बाट उठेका थिए । उनले दुबै क्षेत्रबाटचुनाव जिते । क्षेत्र नम्बर १ मा नारायण ढकाल मनमोहनलाई चुनाव जिताउनका डटेरै लागे । चुनाव प्रचार–प्रसार समितिको संयोजक नै थिए, उनी । त्यही क्रममा मनमोहन अधिकारी नारायणबाट प्रभावित भए ।
दुई ठाउँबाट निर्वाचित भएकाले मनमोहनले आफ्नो चुनाव क्षेत्र रहेको एउटा निर्वाचन क्षेत्र छाड्नुपर्यो । काठमाडौं–१ छाडे । उप–निर्वाचनमा त्यस क्षेत्रको उम्मेद्वारीका लागि ठूलै नेताहरुको दाबी थियो । त्यो दाबी गर्नेमा प्रदीप नेपाल लगायतका प्रभावशाली नेताहरु पनि थिए । तर, मनमोहनले आफूले रोजेको व्यक्ति थिए, नारायण ढकाल ।
‘माधव नेपाल, केपी ओली त्यतिबेला मेरो विरुद्ध थिए । तर मनमोहन अधिकारीले नै त्यो क्षेत्रमा जनतालाई ‘मैले आश्वासन दिइसकेको छु, नारायण ढकाल भन्दा बाहेकलाई टिकट दिन्नँ’ भनेर जोेड गर्नुभयो,’ नारायण सम्झिन्छन् ।
हुन त, आफ्नो भूगोलमा सबैले ‘मानेगुनेको’ शिक्षक । तापनि चुनावी मैदानमा उत्रिनु सानो चुनौति थिएन । एउटा लेखक–शिक्षकको नयाँ यात्रा थियो संसद्को बाटो । उनी त्यो बाटोमा इमान्दार भएर हिँड्न र उभिन चाहन्थे । त्यसैले इमान्दार भएर जनतासँग भोट माग्न घर–घर पुगे ।
शिक्षक हुँदा शैक्षिक आन्दोलनमा उनले सक्रियतापूर्वक भूमिका निभाएका थिए । यही कारण अभिाभवकसँग सम्वाद गर्न उनलाई कठिन भएन । ‘पञ्चायतले शिक्षण संस्था किन मर्यादित बनाएन ? जुन देशमा शिक्षकहरुको मर्यादा खोसिएको छ त्यो देशको आत्मा पनि हुँदैन भनेर भन्ने क्रममा मेरो धेरैसँग आत्मीय भेट भएको थियो’ ढकाल सुनाउँछन्,‘मलाई चुनावमा त्यही भेटले सजिलो बनायो ।’
अन्ततः उनी चुनावमा भारी मतसहित विजयी भए । सांसद बनेको क्षण आफ्ना लेखक मित्रहरुले खुसी व्यक्त गरे । ढकाललाई ‘पोट्रेट’ गर्दै कवि विमल निभाले सान्दार गद्य लेखे । कथाकार राजवले नेपाली साहित्यको ‘स्फटिक’ को उपमा दिए । पुरुषोत्तम सुवेदी, शार्दुल भट्टराई लगायतका थुप्रै लेखक साथीले उनको उत्साह बढाउन हौसला प्रदान गरे ।
संसदमा एक्लो कवि र कविता
पटक–पटकको भेट र संवादमा उनी दोहोर्याउने गर्छन्, संसद्मा एक्लो अनुभूत गरेको प्रसंग । आखिर उनले किन ठाने आफूलाई एक्लो बृहस्पति ?
‘संसदीय समितिहरु काम लाग्ने देखिनं, अर्थ समिति, सार्वजनिक लेखा समितिको ध्यान भ्रष्टाचार निवारण भन्दा पनि गर्नतिर प्रोत्साहित भएको देख्थें’ उनी आक्रोसित सुनिन्छन्,‘यस्तो भएपछि हिजो पञ्चायतविरुद्ध लडेको अर्थ के रह्यो र?’
कुनै समितिमा विदेश भ्रमण धेरै जुर्ने रहेछ । अवसर कुम्ल्याउन सांसदहरु त्यतातिर तछाडमछाड गरेको उनलाई सह्य भएन । ‘त्यस्तो समितिमा पार्टीले पनि गुटका निकटस्थ मान्छेलाई राख्ने रहेछ । समालोचना गर्न चाहने र बाटो अझै खोजौं भन्नेलाई चाहिँ कामै नहुने समितिमा पठाउने रहेछ,’ उनी असन्तुष्टि पोख्छन् ।
नारायणलाई मन नबुझ्ने अर्को कुरा थियो, पार्टीको खटन । संसद्मा बोल्ने कुरा पार्टीले नै तोकिदिने । ‘सामान्य हिसाब–किताबमा ‘एक्सपोजर’ नै नदिने’ दिक्दारी प्रकट गर्दै भन्छन्, ‘मेरो क्षेत्रको जनताको कुरा लिएर आएको छु, म बोल्छु भनेर लडाईं नै गर्नुपर्ने ।’
विकासको पछौटेपनले गर्दा चुनावमा हरेक जनतासँग उम्मेदवारले विकासको प्रतिबद्दता जनाएको हुन्थ्यो । सांसदको बोलीमा जनताको भरोशा अडिएको हुन्थ्यो । तर, त्यो भरोशा संसद्को प्रवृत्तिका कारण डगमगाउने अवस्था थियो । नारायणले बुझे कि प्रधानमन्त्री–मन्त्रीको क्षेत्रमा बजेट धेरै जाने रहेछ । त्यसमा असमान वितरण र सांसदमा भएको पक्षपातले उनको रोष झन् चुलियो ।
संसदमा शून्य समय हुन्थ्यो । त्यो बेला नारायण कविता पढ्थे । जिम्मेदारी भुलेर निदाएका सांसदलाई जगाउने प्रयत्न गर्थे । शून्य समय अभिलेख नहुने समय हो । यद्यपि, उनी संसद्को स्वास्थ्यको लागि त्यो आवश्यक ठान्थे । जब उनको बोल्ने पालो आउँथ्यो, आफ्ना विचारहरुमा, भनाइहरुमा कविताका पंक्तिहरु मिसाउँथे । संसद्मा उनले धेरै पटक कवि बर्तोल ब्रेख्तका कविता पढे । ‘कवितामा छुट्टै शक्ति हुन्थ्यो, त्यसले उज्यालो र अन्धकारको भेद पत्ता लगाउँथ्यो’ उनी भन्छन् ।
सरकारको अवस्था हेर्दा लाग्थ्यो, सिङ्गो राज्यको यात्रा बेठीक छ । उनले संसद र सत्तालाई व्यङ्ग्य गर्दै विमल निभाको ‘शब्दकोष’ शीर्षकको यो कविता पढे :
‘हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन्
उदाहरणका लागि
तपाई संसद्लाई संसद् भन्नुहोस्
अथवा सुपरमार्केट….’
कवि विमल निभाको यो प्रभावशाली कविताले संसद् वा सत्ताप्रति ठूलो कटाक्ष गरेको छ । नारायणले आवाज र खबरदारीको बलियो माध्यम संसदभित्र पनि कवितालाई ठाने । र, कवि निभालाई सम्झिँदै संसद्मा बोले :
म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोषमा
शब्दहरुले अर्थ हराएका छन्
संसद्मा उनले विश्वप्रसिद्ध रुसी लेखक तोल्सतोयलाई पनि पढे । शिक्षाको विषयमा उनले भनेका छन्,‘मानव विकासका लागि तीनवटा कुरा चाहिन्छन् । पहिलो विद्यालय, दोस्रो विद्यालय र तेस्रो विद्यालय ।’ नारायणले शिक्षाका विषयमा प्रसङ्ग उठाउँदा यो भनाईलाई संसदमा बलियोसँग जोडे ।
नारायणलाई याद छ, उनले कविता पाठ गर्दा ध्यानमग्न भएर श्रवण गर्ने कमै हुन्थे । कविता पढ्दा खुसी हुने सांसदहरु थिए, प्रदीप गिरि, प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र घनश्याम भूषाल । कविता पढेपछि उनीहरु खुसी हुँदै नारायणलाई बधाई दिन्थे ।
नारायणलाई लाग्छ– कविता आफैंमा शक्तिशाली चिज हो । कवितामा यस्तो किसिमको ध्वनि हुन्छ, जुन पढ्दा लामो समयसम्म टाढाबाट आएको मधुर गुञ्जनजस्तो लाग्छ । सांसद हुँदा पनि उनले अध्ययन समय सधैं छुट्याइराखे । ‘मलाई ठूलो कुराचाहिँ लेख्न मनपर्थ्यो । जनताको काम गर्नुपर्ने भएकाले लेखपढ गर्न भ्याइएको थिएन । तर, समय ग्याप बनाइनं,’ उनी सम्झन्छन्, ‘म हरेक दिन १–२ घण्टा सधैं पढ्थें । संसारभरिको संसदीय अभ्यास र अर्थतन्त्रबारे गैर आख्यान पनि पढिरहेको हुन्थें ।’
प्रदीप गिरिसँग अन्तरभेट
एउटा असल छवि भएका अध्येता, चिन्तक र साहित्यको कुशल पाठक हुन्, प्रदीप गिरि । नेपाली कांग्रेसका सांसद समेत हुन् । तत्कालीन समयमा पनि उनी सांसद थिए, जतिबेला नारायण संसद छिरेका थिए । उनी संसदमा तीन वर्ष रहँदा प्रदीप गिरिलाई खुब सुने ।
‘प्रदीप गिरिमा अध्ययनको विशालता छ । विज्ञान, धर्मशास्त्र, पुराण, कविता सबै कुराको जानकारी छ । म उहाँलाई सुन्न निकै रुचाउँथे,’ नारायण सम्झन्छन् । नारायण संसदमा बोलिरहँदा उनको कुरा सुन्ने धेरै हुन्थेनन् । नहुँदा पनि एउटा व्यक्ति सधैं सुनेर बसिरहेका हुन्थे । ती प्रदीप गिरि नै थिए ।
नारायणको स्वीकारोक्ति पनि छ, ‘म प्रदीप गिरि जतिको ज्ञाता हुन सक्दिनँ ।’
‘प्रदीप गिरीलाई म जति पटक सुन्छु, त्यो सधैं नयाँ र अर्थपूर्ण हुन्छ । संसद्मा आउँदा पनि राति अबेरसम्म पढेर बिहान मात्रै सुतेर आएको देखिनु हुन्थ्यो,’ उनी गिरिबारे सुनाउँछन् ।
गिरिसँग नारायणका केही संस्मरण जोडिएका छन् । चुनावताका नारायणको क्षेत्रमा एउटा सभा थियो । कांग्रेसको पक्षबाट उम्मेदवारलाई भोट माग्न प्रदीप गिरिले त्यहाँ पुगेर भाषण गरे । उनले जम्माजम्मी ४५ मिनेट बोले । नारायणलाई सम्झना छ– त्यो अविधमा प्रदीप गिरिले ३ मिनेट पार्टीको उम्मेदवारबारे कुरा गरे । बाँकी ४२ मिनेट प्रतिष्पर्धी पार्टीका उम्मेदवार नारायण ढकालको तारिफमा खर्चिए । प्रदीप गिरिले नारायणका सबै किताब पढेका थिए । र, पढेका किताबहरुको प्रशंसा पनि भाषणमा गरे ।
‘तपाईं असल मान्छे हो, समाजवादी हो’ भन्दै उनले इमान्दार भएकै कारण चुनाव नजित्न नारायणलाई आग्रह गरे । प्रदीप गिरिको भाषण सुनेर घर फर्कंदा कांग्रेस कार्यकर्ता उत्साहित थिएनन् । ‘प्रदीप गिरिले नारायण ढकाललाई भोट माग्यो’ भन्ने मनसायले उनीहरू निराश मुद्रामा फर्किएका थिए ।
०००
नारायण ढकाल जब सक्रिय राजनीतिबाट टाढा रहे, उनलाई उनकै क्षेत्रका जनताले गुनासो गर्न थाले, ‘हामीले आशा गरेको मान्छे । तैंले धोका दिइस् ।’
जनताको आशा पूरा गर्न नसकेकोमा उनी दुःखी छन् । त्यसैले ०५६पछि उनले फेरि संसदतिर फर्कने अभ्यास गरेनन् ।
राजनीतिबाट वितृष्णा बोकेर फर्किएका नारायण अहिले लेखन र अध्ययनमै रमाएका छन् । बेलाबखत नजिकका साथीभाइ भेट्नु्, मूलधारका पत्रिकामा स्तम्भ लेख्नु र आख्यान लेखनमा समय दिनु उनको दिनचर्या बनेको छ । ठान्छन्, ‘सन्तुष्टि त यसैमा पो छ ।’
सायद संसदमा बिरानो बनेका कवि अब बिरानो बन्न पटक्कै चाहँदैनन् । बरु रोटी बेल्न चाहन्छन्, खान चाहन्छन् । तर, ‘धुमिल’ले भने झैं रोटीसित खेल्न कदापी चाहँदैनन् ।