लियिनेल मेस्सीले साँच्चीकै क्लब छोड्लान् कि नछोड्लान् भनेर उनको अन्तिम निर्णय कुरेर बसेका समर्थकहरुका लागि खुसीको खबर छ। अब मेस्सी बार्सिलोनामै रहनेछन्। आफूले गरेको कठिन निर्णयबाट पछाडि फर्कनु परेको छ उनी।
गोल डटकमसँगको अन्तर्वार्ताको क्रममा मेस्सीलाई ‘किन क्लब छाड्न चाहेको’ भनेर सोध्दा पनि आफूले किन बार्सिलोनामै बस्ने निर्णय गरें भन्ने कुराको स्पष्टिकरण दिन समय खर्चेका थिए।
गोलका सवांददातालाई दिएको अन्तर्वार्तामा मेस्सी भावुक देखिएका थिए। ठूलो छोरा धेरै बुझ्ने भइसकेको प्रसंग जोड्दै मेस्सीले आफ्नो छोराले टेलिभिजनबाट निर्णयबारे थाहा पाएको र त्यसो नगर्न रुँदै गरेको अनुरोधले धेरै भावुक बनाएको बताएका थिए।
नयाँ ठाँउमा गएपछि छोराहरुले नयाँ स्कुल भर्ना हुनुपर्ने अनि नयाँ साथीहरु बनाएर अहिले रमाए जसरी रमाउन सक्लान् वा नसक्लान् भन्ने कुराले आफूलाई विचलित बनाएको मेस्सीको भनाइ थियो। आफ्नो श्रीमतीले जस्तोसुकै कठिन परिस्थितिमा पनि साथ दिएको भन्दै श्रीमतीप्रति गहिरो प्रेमसमेत उनले देखाएका थिए ।
मेस्सीका अनुसार उनकी श्रीमतीलाई थाहा थियो कि बार्सिलोना छाड्नु एकदम पिडादायी हुन्छ भनेर। तर, यो पीडादायी निर्णयलाई समेत आत्मसात् गर्दै उनकै निर्णयको पक्षमा उभिएकी थिइन्। दुवैले अन्तिम निर्णय गरेता पनि छोराहरुको माया र उनीहरुलाई पर्ने असरबारे सोचेर मात्रै निर्णय फिर्ता लिएको मेस्सीको भनाइ थियो।
उनले आफू रोम, लिभरपुल र लिस्बोनको घटनाले एकदम विक्षिप्त भएको बताँउदै त्यसको सामना गर्न चाहेको बताएका थिए। यी तीन घटना छुट्टाछुट्टै हुन् तर मेस्सीलाई एकैनाशको पीडा दिने घटनाहरु हुन्। सन् २०१७/१८ को च्याम्पियनस लिग क्वार्टरफाइनलको पहिलो लिगमा बार्सिलोनाले इटालियन क्लब रोमामाथि क्याम्प नोउमा ४-१ को रबाफिलो जित दर्ता गरेको थियो।
तर, दोस्रो लिग खेल्न इटालिको रोम पुगेको बार्सिलोना ३-० को हार बेहोर्दै च्याम्पियन्स लिगबाट आउट भयो। त्यस्तै सन् २०१८/१९ को सिजन पनि बार्सिलोनाले लिभरपुलमाथि क्याम्प नोउमा ३-० जित दर्ता गर्यो र लिभरपुल पुगेर ४-०ले हारेर च्याम्पियन्स लिगबाट आउट भयो। गत महिना पनि च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्यनसँग लिस्बोनमा ८-२ ले हारेको थियो। यी घटनाले आफूलाई अब नयाँ क्लबबाट नयाँ ढंगले चुनौती सामना गर्ने सोच आएकोले क्लब छाड्ने निर्णय गरेको मेस्सीले बताए।
तर, अब आफू बार्सिलोनामै रहने भन्दै फेरि यी चुनौतिको सामना गर्ने अठोट पनि व्यक्त गरेका छन्। आफू र आफ्नो परिवार बार्सिलोनामा हुर्केकोले पनि बार्सिलोनासँग छुट्टै प्रेम रहेको उनले बताए। बार्सिलोनाले जीवनमा सम्पूर्ण कुरा दिएकाले आफू बार्सिलोनालाई धेरै सम्मान र प्रेम गर्ने बताएका उनले अब बाँकी करिअर बार्सामै बिताउने चाहना देखाएका थिए।
आफ्ना छोराहरुले बार्सिलोना बाहेकका ठाँउमा खुसी हुन नसके त्यसले झन् आफूलाई पीडामा पार्ने उनको बुझाइ थियो। आफ्नो सम्पूर्ण परिवारलाई बार्सिलोनामै बानी परेकोले बार्सिलोनाप्रतिको प्रेम सद्भाव अन्त नहुन पनि सक्ने उनले बताए। ‘थियागो बाहेक अरु छोराहरु सानै छन्, उनीहरुलाई नयाँ ठाँउमा आउनु परेको कारणहरु बुझाउन त जरुरी नहोला। तर उनीहरुले सोध्न थाले भने बुझाएरै पनि बुझ्न सक्दैनन,’ मेस्सीले भने, ‘उनीहरुले बार्सिलोनालाई सम्झेर फेरि रुन थाले भने मलाई जीवनमा सबैभन्दा ठूलो पश्चताप बार्सिलोना छाडेकोमा हुनेछ।’
मेस्सीले बाहिर भएको हल्लाजस्तै आफूले क्लबका अध्यक्षसँगको असमझदारी भएर क्लब छोड्न चाहेको बताएनन। बरु भने, ‘क्लबका अध्यक्षले सधैं मलाई सिजनको अन्त्यमा क्लब छोड्ने वा बस्ने निर्णय लिने स्वतन्त्रता तिमीमा छ भन्ने गर्थे। मलाई लाग्यो, यसपालिको सिजन कोरोना भाइरसले गर्दा भर्खर सकियो। र मैले छोड्न चाहेको कुरा बताएँ। यो क्लब र मेरो दुवैको हितमा थियो। तर क्लबले यो अगस्ट हो, सिजन त जुन १० मै सकिसक्यो भनेर मलाई रोक्यो।’
मेस्सीले आफूलाई अदालती प्रक्रियामा गएर भए पनि अहिले क्लब छोड्न पाँउछु कि पाँउदिन भनेर छिनोफानो गर्ने अधिकार आफूमा रहेको बताए । तर, आफू हुर्केको बढेको र सबैथोक दिएको क्लबलाई अदालतसम्म लैजान नैतिकताले नदिने उनको भनाइ रहेको थियो। मेस्सीका अनुसार संसारमा उनले सबैभन्दा माया गर्ने क्लब भनेको बार्सिलोना मात्रै हो।
यहाँ उनले आफ्नो जीवनको लामो हिस्सा बिताएका छन् र व्यक्तिगत स्वार्थका लागि उनी क्लबलाई अफ्ठ्यारोमा पार्न चाहँदैनन्।
हुन पनि लियोनेल मेस्सी र बार्सिलोनाबीचको प्रेमले दुनियाँ चकित हुँदै आइरहेको थियो। जबकि उनी २० वर्षदेखि निरन्तर रुपमा एउटै क्ल्बमा रहँदै आएका छन्।यसबीचमा उनले धेरै प्रश्न सामना गर्नु पर्थ्योकी उनी बार्सिलोना छोसेर अन्त जान्छन् कि जाँदैनन्? उनले सधैं भन्ने जवाफ एउटै हुन्थ्यो, ‘म संसारकै उत्कृष्ट क्लबमा छु। यहाँ धेरै खुसी छु।’
बार्सिलोनाले हो मेस्सीलाई आजको मेस्सी बनाएको। यही बार्सिलोनाले हो, हिजो मेस्सी मृत्युसँग लडेर बस्दा उनलाई नयाँ जीवन दिलाएको। त्यसैले उनलाई थाहा छ, क्लबले उनको लागि कति गरेको छ भनेर। त्यसैले आवेगमा उनी छोडेर गइहाल्न सक्दैनन्। मेस्सीले पनि क्लबको गुणको बदला तिर्न केही कसुर बाँकी राखेका छैनन्।
क्लब फुटबलमा जित्न मिल्ने सम्पूर्ण उपाधि र इज्जत उनले क्लबका लागि जितिसकेका छन्। बीचमा क्लब छाड्ने मनस्थितिमा पुगेका मेस्सी र क्लब बीचको यो प्रेम र सद्भाव अब फेरि देख्न पाइने भएको छ।