सेयर बजारमा सधैं किन अस्वीकार्य भए खतिवडा ?-Sutra News

सेयर बजारमा सधैं किन अस्वीकार्य भए खतिवडा ?

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- करिब अढाई वर्ष अर्थ मन्त्रालय हाँकेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिएका छन्। संसद् सदस्य नभइ दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त भएका उनले ६ महिनाभित्रै संसद् सदस्य बन्न नसकेपछि राजीनामा दिएका हुन्।



गत फागनु २१ मा दोस्रो पटक मन्त्री नियुक्त भएका खतिवडाको आज (भदौ २० गते) कार्यकाल सकिदैथियो। तर उनले एक दिनअघि नै राजनीमा दिए।

त्यसो त खतिवडा अर्थ मन्त्रालयबाट बाहिरिन सक्ने सन्देश प्रवाह हुन थालेसँगै सेयर बजारमा सकारात्मक माहोल बनिसकेको थियो।

अर्थमन्त्री बनेलगत्तै सेयर बजारमा खतिवडा विवादित बनेका थिए। यसअघि पनि खतिवडा बर्हिगमन हुने अवस्था आएको थियो। तर, उनलाई सरकारले ६ महिनाको लागि पुनः नियुक्त गरेको थियो।
पुँजी बजारको ऐनाको रुपमा हेरिने सेयर बजारमा अर्थ मन्त्रीको बर्हिगमनको हल्लाले त्यतिबेला सेयर बजारमा सकरात्मक उछाल आएको थियो। तर, उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएसँगै सेयर बजार ओरालो लागेको थियो।

अर्थ मन्त्रीलाई सेयर बजारमा नकारात्मक रुपले जोड्नुको कारण उनी सेयर बजारतर्फ नकारात्मक हुनु थियो भन्ने कतिपय लगानीकर्ताहरुको गुनासो थियो। अर्थ मन्त्रीको अहिलेको बर्हिगमनपछि पनि सेयर बजारले उकालो यात्रा गरिरहेको छ।

बैंक हुँदै गर्भनरसम्मको उनको यात्राले पनि आर्थिक क्षेत्रको परिपक्क व्यक्तित्वको रुपमा लगानीकर्ताले उनलाई लिएका थिए। तर जति लगानीकर्ताले सोचेका थिए, त्यति नै काम गर्न भने उनले सकेनन्।

किन स्वीकार्य भएनन् ?
खतिवडा अर्थमन्त्री भएपछि धेरैले देशले विज्ञ अर्थमन्त्री पायो भनेर खुसी मनाउ गरेका थिए। तर बाहिरिँदा लगानीकर्ताको मनमा बस्ने खालको काम गर्न भने खतिवडाले नसकेको जानकारहरु बताउँछन्।
वित्तीय क्षेत्र तथा सेयर बजारका विश्लेषक अनलराज भट्टराईले सेयर बजारका लागि खतिवडाको कार्यकाल सोचेजस्तो सकारात्मक नभएको बताउँछन्। यद्यपि उनी आफ्नो कार्यकालमा सेयर बजारमा खतिवडाले धेरै नीतिगत सुधार ल्याएको बताउँछन्। 

‘डा.खतिवडाको धारणा भनेको स्टक मार्केट नीतिगतरुपमा अगाडि बढाउने थियो,’ भट्टराई भन्छन्, ‘तर उनी यसमा सफल भएको भन्नचाहिँ सकिन्न। अहिले पनि सेयर बजारमा कतिपय समस्याहरु यथावतै छन्। जति उनीबाट यो क्षेत्रले आशा गरेको थियो, त्यति कामचाहिँ उनले गर्न सकेनन्।’

भट्टराईका अनुसार खतिवडाले आफ्नो कार्यकालको अन्त्यमा केही नीतिगत सुधारमा राम्रो भूमिका खेलेका छन्। ‘जस्तै अनलाइन प्रणाली, डिम्याट खाताहरुलाई औपचारिकता दिने कामहरु र प्यान नम्बर व्यवस्थित गर्ने कुरा गरेर बजारलाई व्यवस्थित बनाउन उहाँले खोज्नुभएको थियो,’ उनी भन्छन्, ‘तर व्यवस्थित गर्ने कुरामा अर्थमन्त्री कडा भएका थिए।’

मन्त्री खतिवडाले अनिवार्य प्यान नम्बरको कुरा ल्याउँदा स्वतन्त्ररुपमा लगानी गरिरहेका लगानीकर्ताले सेयर बजारमा कडाइ गर्न लागेको भन्ने रुपमा बुझिएको र यसले अन्यौलताले सिर्जना गरेको भट्टराई बताउँछन्।

अर्थमन्त्रीले सेयर बजारलाई आफ्नो सुरुवाती कार्यकालमा अनुउत्पादित क्षेत्रको रुपमा ब्याख्या गरेका थिए। अर्थमन्त्रीले सेयर बजारमा लगानी गर्नुभन्दा बैंकमा पैसा राखे धेरै ब्याज पाइन्छ भनेर भनेकाले लगानीकर्ताको मनोवलमा नकारात्मक असर परेको नेपाल इन्भेष्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

यद्यपि पछिल्लो समय सेयर बजारमा धेरै सकरात्मक परिर्वतन आएको उनी बताउँछन्। ‘अहिले सेयर बजार अगाडि बढ्नको लागि राम्रो वातावरण छ,’ उनी भन्छन्, ‘बजार बढ्नको लागि धेरै कुराहरु अनुकूल छ। जस्तै बजारमा प्रस्तत लगानी योग्य रकम छ। लगानीकर्तालाई अन्य क्षेत्रमा भन्दा यस क्षेत्रमा लगानी गर्ने वातावरण सहज भएको छ। ब्रोकर धाउने समस्याबाट लगानीकर्ताहरु मुक्त भएक छन्।’

खतिवडा आएर बजारले एउटा उचाइ लिन्छ भन्ने लगानीकर्ताहरुको मनोविज्ञान रहेको थियो। किनभने उनी आर्थिक क्षेत्रका विज्ञकामा रुपमा गनिन्थे।
बैंक हुँदै गर्भनरसम्मको उनको यात्राले पनि आर्थिक क्षेत्रको परिपक्क व्यक्तित्वको रुपमा लगानीकर्ताले उनलाई लिएका थिए। तर जति लगानीकर्ताले सोचेका थिए, त्यति नै काम गर्न भने उनले सकेनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट