काठमाडौं- ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ। केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका-१० स्थित लेलेको जंगलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।
तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो। सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
गएराति शव फेला परेको र शव परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ। शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ। उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन्। शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो।
राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले अज बिहान गएर शव उठाएको थियो। आफन्तले आज उनकै शव भएको पुष्टि गरेको छ। अनुसन्धानका क्रममा उनका एकजना नातेदारलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिए।