दुई जनामात्र सक्रिय संक्रमित रहेको मनाङमा यसरी गरिँदैछ कोरोना रोकथाम-Sutra News

दुई जनामात्र सक्रिय संक्रमित रहेको मनाङमा यसरी गरिँदैछ कोरोना रोकथाम

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमणको दर दिनप्रति दिन बढिरहेका बेला केही जिल्लामा भने रोकथामका प्रयास प्रभावकारी देखिएका छन्। सक्रिय कोरोना संक्रमित कम भएको जिल्लामध्येमा पर्छ मनाङ। जहाँ हालसम्म ६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा पहिलो संक्रमण ४ असारमा देखिएको थियो। पहिलो संक्रमित थिए, चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय पुरुष। पहिलो संक्रमित बाहिरी जिल्लाबाट आएका थिए। उनी निको भएर घर फर्किसकेका छन्। 



हालः जिल्लामा दुई जनामात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार चार दिनअघि उनी लगायत ७७ जनाको स्वाव परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाइएको थियो। त्यसअघि चार जना संक्रमित आइसोलेसनमै थिए। ‘चार जना संक्रमितको पुनः परीक्षण गर्दा ३ जना मुक्त भए भने एक जनाको पुनः पोजेटिभ आयो। त्योबाहेकको १ जना संक्रमित थपिए। अहिले दुई जनामात्र संक्रमित छन्,’ प्रजिअ गिरीले भने, ‘संक्रमितहरु शिक्षक र प्रहरी हुनुहुन्छ। उहाँहरु केही दिनअघि मोरङ र चितवनबाट आउनुभएको थियो।’

शिक्षकमा यसरी देखियो संक्रमण

हालसम्म संक्रमितहरुमध्ये ३ जना शिक्षक छन्। संक्रमण देखिएका शिक्षकहरु बाहिरी जिल्लाबाट आएका थिए। शिक्षा मन्त्रालयले १ भदौबाट विद्यालय सञ्चालन गरी नयाँ शैक्षिक सत्र अगाडि बढाउने निर्णय गरेको थियो। सो निर्णयलगत्तै गाउँपालिकाहरुले घर गएका शिक्षकहरुलाई गाउँमा फिर्ता बोलाएका थिए। ‘मनाङको हकमा मंसिरबाट विद्यालय सञ्चालन गर्न कठिन हुन्छ। त्यसकारण छिटै बोलाएर पढाइ सुरु गर्ने हिसाबले पालिकाहरुले बोलाए,’ प्रजिअ गिरी भन्छन्, ‘विद्यालय खोल्ने भएपछि उहाँहरु आउनुभयो। अनि उहाँहरुमध्येबाटै संक्रमण देखिएको हो।’

जिल्लामा यसअघि जिल्ला स्वास्थ्य प्रमुखसमेत संक्रमित देखिएका थिए। उनी पनि निको भई डिस्चार्ज भइसकेका छन्। प्रजिअ गिरीका अनुसार संक्रमित समुदामै रहेका कुनै पनि व्यक्तिलाई हालसम्म संक्रमण पुष्टि भएको छैन। संक्रमण पुष्टि भएकाहरुलाई पनि कुनै संक्रमण नदेखिएको उनी बताउँछन्। मनाङमा अन्य जिल्लामा जस्तो तेस्रो मुलुकबाट आउनेहरुको उल्लेख्य संख्या छैन। आएकाहरु पनि साउनअघि नै आइसकेको गिरीको ठहर छ।

नासोँ नाकाको चेकजाँचमा कडाइ

मनाङ प्रवेश गर्ने एउटा मुख्य नाका हो- नासोँ नाका। लमजुङ हुँदै मनाङ प्रवेश गर्न मानिसहरु यो नाका प्रवेश गर्छन्। नासोँ गाउँपालिका अध्यक्ष चन्द्र घले नाकामा निकै कडाइ गरिएको बताउँछन्। ‘जिल्ला बाहिरको मान्छेलाई प्रवेश नै नदिने भन्ने हाम्रो मान्यता छ। त्यहाँ चेकपोस्ट राखेर हामीले निगरानी बढाएका छौं।’

जिल्ला कोभिड व्यवस्थापन केन्द्र र सर्वपक्षीय समेत बसेर नाकामा कडाइ गर्न निर्णय गरिएको थियो। अत्याश्यक परेर आउनेका लागि वडा अध्यक्षसँग सम्पर्क गरेर क्वारेन्टीनमा बस्नुपर्ने नियम राखिएको छ। त्यसरी आउनेहरुलाई पीसीआरको समेत व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष घलेले बताए।

नाकामा कडाइमात्र हैन, भौगोलिक कारण पनि मनाङ प्रवेश गर्न अहिले कठिन अवस्था छ। जिल्लाको चामे सडक पहिरोको कारण विच्छेद भएपछि सुचारु हुन सकेको छैन। लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गएको पहिरोले बाटो सुचारु हुन नसक्ने भएपछि मानिस आवतजावतमा निकै कठिनाइ भएको छ। प्रजिअ गिरीका अनुसार बाटो अवरुद्ध भएकै कारण पनि मानिसहरुको आवतजावत निकै पातलिएको छ।

स्रोत र साधन नहुँदा चुनौती

जिल्लामा अहिलेसम्म १ सय ९२ नमूना संकलन गरेर परीक्षणका गरिएको छ। परीक्षणका लागि जिल्लाबाट क्षेत्रीय प्रयोगशाला स्वाव पठाउनुपर्ने हुन्छ। भौगोलिक र स्रोत साधनाको अभावले पीसीआर संकलनमा मात्र हैन, आइसोलेसन र क्वारेन्टीनको व्यवस्थापनमा पनि चुनौती सिर्जना भएको प्रजिअ गिरी बबताउँछन्।

अहिले जिल्लाको चामे गाउँपालिकास्थित १२ बेडको आइसोलसन तयार छ। त्यसैगरी जिल्लाको दक्षिणी भेगको गाउँपालिकामा २ बेडको आइसोलसन  छ। प्रजिअ गिरीका अनुसार केही स्थानमा आइसोलेसन निर्माणका क्रममा छन्।

अस्पताल एउटामात्र हुनुले पनि कठिन अवस्था सिर्जना भएको प्रजिअ गिरी बताउँछन्। ‘यहाँ एउटामात्र जिल्ला अस्पताल छ। एक जनामात्र डाक्टर हुनुहुन्छ, सुविधासम्पन्न उपकरण र जनशक्ति नहुँदा उपचारमा समस्या भएको छ,’ गिरी बताउँछन्।

बाटोको कारण पनि जटिलता देखिएका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउनसमेत अप्ठ्यारो भएको उनको भनाइ छ। ‘पर्याप्त पूर्वाधार छैनन्। अब जाडो याम सुरु हुने हुँदा संक्रमणको निरन्तरता रहिरहने हो र लामो समयसम्म जाने हो भने हामीले आइसोलेसनको व्यवस्था गर्न पनि कठिनाइ हुन्छ। स्रोत साधन र पूर्वाधारको कमीले संक्रमितलाई छुट्टै आइसोलेसनमा राखेर व्यवस्था गर्ने कुरामा आफैँमा चुनौतिपूर्ण हुन्छ,’ प्रजिअ गिरी बताउँछन्।

नासोँ गाउँपालिकाका अध्यक्ष घले पनि गाउँपालिकामा आइसोलेसन निर्माण गर्न गाह्रो भएको सुनाउँछन्। ‘आइसोलेसनको लागि धेरै गाह्रो भइरहेको छ। स्रोतसाधन छैन। डाक्टरहरु छैनन्। यदि केही भइहाल्यो भने पनि ठूलो समस्या निम्तन्छ भन्ने डर छ,’ अध्यक्ष घले भन्छन्। यद्यपि, हेल्थपोस्टहरुमा १० वटा आइसोलेसन बेड तयार गर्न आफूहरु प्रयासरत रहेको घले बताउँछन्।

कोरोनाबारे समुदाय आफैँ सचेत

अन्य जिल्लामा जस्तो मनाङमा निषेधाज्ञा लागू गर्नु नपरेको प्रजिअ गिरी बताउँछन्। त्यसकारण जिल्लामा स्वास्थ्य मापदण्ड पालना गर्नेगरी व्यापार व्यवसाय सञ्चालनमा छन्। ‘सुरक्षाका मापदण्ड अपनाउने कुरामा सबैलाई सचेत र सर्तक गराएका छौं। त्यसकारण पालिकाहरुको बाटो क्षेत्रमा मास्क, स्यानिटाइजर प्रयोग गर्नेदेखि लिएर भौतिक दूरीको सचेतता छ,’ उनी भन्छन्। गिरीका अनुसार स्थानीय समुदाय नै महामारी नियन्त्रणमा सजग भई लागि परेका छन्। 

‘बाहिरबाट हुने आवागमनबाट समुदायमा कहीँ कतै संक्रमण नहोस् भनेर निगरानी उनीहरुले नै गरिरहेको अवस्था छ। बाहिरबाट कोही आएमा उसलाई पस्न नदिने, विना काम आवततावत गर्न नदिने कुरामा उनीहरु सचेत भएकै कारण हामीलाई सहयोग पुगेको छ,’ प्रजिअ गिरी बताउँछन्।

समुदायमा आफ्नो काम आफैँ गर्ने भन्ने मनसायले पनि गाउँलेहरु सचेत भएको प्रजिअ गिरी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट