७ फागुनमै महाधिवेशन गराउन इतर पक्षको दवाब, दोधारमा देउवा-Sutra News

७ फागुनमै महाधिवेशन गराउन इतर पक्षको दवाब, दोधारमा देउवा

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

काठमाडौं- कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षम पुगेको छ। १४ औं महाधिवेशनको मिति निजकिंदै गर्दा कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच विवदा चुलिएको हो। सभापति शेर बहादुर देउवाले इतर पक्षको सहमतिविनै विभिन्न विभागमा पदाधिकारी मनोनयन गरेपछि इतर पक्षले विरोध जनाएको छ।



इतर समूहले सभापति देउवालाई निर्णय फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको छ। शनिबार बसेको इतर समूहको बैठकले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको छ।

सभापति देउवाले विरोधका बाबजुद पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी राखेपछि इतर पक्ष असन्तुष्ट बनेको हो। देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सय कार्यकतालाई जिम्मेवारी दिइसकेका छन्।

विभाग गठन एकलौटी तवरले गरेको भन्दै इतर समूह लगातार नेतृत्वलाई दवाव दिँदै आएको छ। भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत सहभागी थिए।

पार्टीको आगामी १४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवाले एकलौटी रुपमा विभिन्न विभागहरुमा आफू निकट नेताहरुलाई नियुक्त गरेको, अन्य समूहको सुझाव वेवास्ता गरेको, महाधिवेशन अझै पछाडि धकेल्न खोजेको लगायतका विषयमा छलफल भएको थियो। देउवाले पछिल्लो पटक बुधबार र बिहीबार पनि विभिन्न केन्द्रीय विभागहरुमा आफू निकटका नेताहरुलाई नियुक्त गरेका थिए।

त्यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नसकिए पुरानै क्रियाशील सदस्यताबाट नयाँ अधिवेशन गर्न सकिने विकल्प इतर पक्षले बताएको छ। ०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा रहेका चार लाख ८० हजार क्रियाशील सदस्य मध्येबाटै वडादेखि केन्द्रसम्म महाधिवेशन गराउन सकिने पनि बताएको छ।

इतर पक्षले तोकिएकै मितिमा महाधिवेशन गर्न दवाब दिदै आएको छ , तर, संस्थापन पक्ष भने कोरोना भाइरसको महामारीलाई कारण देखाएर महाधिवेशन सार्ने तयारीमा छ। 

महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले साउन मसान्तभित्र ७७ जिल्लामै नयाँ सदस्यता र नवीकरण वितरण गरिसक्ने बताएको थियो। तर, अहिलेसम्म आठ जिल्लामा समायोजनका काम नै सकिएको छैन। विकल्पका रूपमा कात्तिकसम्म नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्ने सो पक्षको भनाइ छ।

अहिलेकै संख्यामा कोरोना भाइरस संक्रमित संख्या बढिरहे भने १३औं महाधिवेशनका क्रियाशील सदस्यबाट वडादेखिका अधिवेशन गर्न सकिने विकल्प पनि इतर पक्षले अघि सारेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट