पूर्व-पश्चिम रेलमार्गको ५० प्रतिशत काम सम्पन्न-Sutra News

पूर्व-पश्चिम रेलमार्गको ५० प्रतिशत काम सम्पन्न

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

सर्लाही– लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गको बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ।



यस खण्डमा १५ साना तथा ठूला पुल निर्माण भइरहेको छ। बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा बोलपत्र भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जिनीयर सुरेश साहले जानकारी दिए।

उनका अनुसार सो खण्डमा विभाजन गरिएको मार्गका बीचबीचमा पानी बग्न र जनावरलाई आवतजावत गर्नका लागि करिब १५० भन्दा धेरै कल्भर्ट निर्माण भइरहेको छ।

रेलमार्गका काममा लालबन्दी नगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिए। उनले सबैभन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा र घर तथा बस्ती परेका स्थानमा समस्या परेका कारण समाधानमा धेरै समय लागेको बताए।

बर्दिबासमा मुआब्जाको र जंगलकोरुख कटानको विवादले गर्दा काम सुरु हुन नसकेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए।

रेलमार्गको काम निरन्तर जारी रहेको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि टीका गजुरेलले बताए। रेलमार्गको कामलाई आफ्नो कम्पनीले धेरै महत्व दिएर गरिरहेको उनको भनाइ छ।

सरकारले गत असार, साउन र यही भदौ तीन महिना नदी दोहन बन्द गरेका कारण माटो भर्ने काम रोकिएको भए पनि अरु काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ।

मुआब्जा विवादका कारण सङ्घर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम सुरु हुननसकेको जनाइएको छ। सर्लाहीमा २० र रौतहटमा ७० प्रतिशत मुआब्जाको विवाद कायमै रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट