काठमाडौं- गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबिच झडप भएपछि रोकिएको रथ आज तानिदै छ। दिउँसो ३ बजे रथलाई तानेर सोह्रखुट्टे पाटीमा पुर्याउने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन्।
उनका अनुसार आजको रथ तान्ने कार्यक्रममा ४ सय हाराहारीमा मानिसको सहभागिता हुने अनुमान गरिएको छ। प्रवक्ता महर्जनका अनुसार मत्स्येन्द्रनाथको रथ तान्नमा मात्रै १ सय ६० जनालाई सहभागी गराइएको छ।
उनका अनुसार पाटनका चार टोलका कुल १ सय ६० जना मानिस मिलेर आज रथ तान्ने छन्। रथ केही ढल्किएकाले त्यसलाइ सीधा बनाउन पनि आवश्यकता अनुसार मान्छे बोलाउन पर्ने अवस्था आउने महर्जनले बताए।
त्यस्तै, स्वंयम सेवकको रुपमा १ सय २५ जनालाई खटाइएको उनले बताए। उनले भने, ‘गः बहालका ४० जना, वटुत्वा नुगःका ४० जना, लगँयाका ४० जना र जावलाख्यका ४० जना मिलेर रथ तानिनेछ। रथ तान्ने, स्वयंम सेवक लगायत सबै गरेर आज करिब ४ सय मानिस सहभागी हुनेछन्।’
आज रथ तान्दा विवाद उत्पन्न नहुने महर्जनको भनाइ छ। उनले भने, ‘यसपटक १९ वटै जातिय खलः, गुठी संस्थान, जिल्ला प्रशासन कार्यलय सबै मिलेर निर्णय भएर आज तीन बजे रथ तान्न लागिएको हो। त्यसैले अस्तिको जस्तो आज हुने सम्भावना छैन।’
यसपटक रथ तान्नलाई विधिपूर्वक काम भएको उनले बताए। उनले भने, ‘यसपटक क्षमा पूजा गरेर विधि पुर्याएर रथ तान्न लागिएको छ। अस्ति कसैलाई खबर नगर्दा त्यस्तो घटना भयो।’
कोरोना महामारीका कारण यसवर्ष रथलाई अन्य वर्ष जस्तो गाःबहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव छैन। त्यसैले, रथलाई ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तान्न लागिएको महर्जनले बताए। उनले भने, ‘अहिले रथ रोकिएको ठाउँदेखि चार वा पाँच सय मिटर मात्रै सार्न लागेका हौं।’
रथलाई सोह्रखुट्टेमा पुर्याएर विधिपूर्वक पूजा गर्ने, भुज्याय् मनाउने तयारी भइरहेको छ। आगामी २६ गते रातो मत्स्येन्द्रनाथलाई बुंगमती फिर्ता लैजाने तयारी भइरहेको पनि महर्जनले बताए। उनले भने, ‘भोलि भुज्याय् गर्ने, विधिपूर्वक पूजा गर्ने कार्यक्रम छ। २६ गते मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने तयारी भइरहेको छ।’