भैरहवा- बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलासिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ। डायलासिस गराउनुअघि कोभिड–९ संक्रमण भए नभएको यकिन हुने भएपछि थप उपचारमा सहजता हुने भएको छ।
बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलासिसका सबै बिरामीलाई कोभिड–१९को सबै परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्था भएकालाई बसेको स्थानै समेत पुगेर परीक्षण गर्नेगरि काम सुरु भएको नगरप्रमुख सुवेदीले बताए।
उनले अस्पतालमा डायलासिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए। पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्नेछ। बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ।
बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलासिस गर्ने बिरामीको संख्या करिब ६ सय रहेको बताइएको छ। अहिले महामारीको बेलामा यी सबै बिरामीको नियमित डायलिसिल अघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ। पीसीआर परीक्षणपछि उपचारमा सावधानी अपनाउन सहज हुनेछ।
बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घ रोगीलाई घरमै पुगेरसमेत अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपांगता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ। बुटवलमा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य आफैं स्वास्थ्य प्राविधिकसहित संक्रमितको मनोबल बढाउन घरघरमा पुगेका छन्।
विभिन्न ठाउँमा संक्रमितलाई हेय भावले हेरिने र दुव्र्यवहार हुने गरेका घटनाका समाचार आइरहेको बेलामा बुटवलमा भने प्रमुख, उपप्रमुख संक्रमितको घरघरमै पुगेर हौसला बढाउने मुलुकमै नौलो कामको थालनी भएको हो।
कोभिड संक्रमण भएर आइसोशलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने क्रममा डायलासिसका बिरामीका बारेमा सूचना पाउँदासाथ उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गर्दै सबै वडामा तत्कालै निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।
बुटवलमा आइसोलेसन सेन्टर निर्माण, प्रादेशिक अस्पतालको सहकार्यमा आइसीयू र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गर्नेदेखि आइसोलेसन सेन्टरमा नियमित योगा अभ्यास, ध्यान प्रणायम र आयुर्वेद ओखती वितरणका काम भइरहेका छन्।
डायलसिस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा आउने बिरामी छन्। त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलासिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।
अध्यक्ष आलमका अनुसार यो संख्या अहिले मुलुकका कुनै पनि डायलासिस सेन्टरको भन्दा धेरै हो। उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरु उपचार सेवा सबैतिर प्रभावित हुँदा समेत त्यहाँ यसखालको उपचारलाई चौबिसै घण्टा सूचारु राखेको थियो। अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत संक्रमण देखिएको छ। तर, अस्पतालले सबै व्यवस्थापन गर्ने, संक्रमणमुक्त बनाउने काम गरिसकेको छ।
अहिले बुटवल उपमहानगरले निःशुल्क पिसीआर गर्ने सूचना जारी गरेपछि गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सिद्धार्थनगर सिटी अस्पताल बुटवलमा डायलिसिस गराउँदै आएका बिरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखाका प्रमुख मित्रमणि खनालले बताए।