

काठमाडौं– सरकारले समयमा मल नल्याउने शैलुङ इन्टरप्राइजेज र होनी मल्टिपललाई धरौटी जफत गरी कालोसूचीमा राखिने तयारी गरेको छ। यी दुबै कम्पनीलाई कृषि मन्त्रालयले कालोसूचीमा राख्नको लागि सिफारिस गर्न लागेको हो।
मल आयातको जिम्मा पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा मल आयात गर्न सकेका छैनन्। यी कम्पनीले मल ल्याउनको लागि समय थप गर्न निवेदन दिएका छन्। ठेक्केदारहरुले मल ल्याइसक्नुपर्ने समयभन्दा एक दिनअघि शुक्रबार ठेक्का सम्झौता भएको निकाय कृषि सामग्री कम्पनीलाई पत्र पठाउँदै म्याद थपको निवेदन दिएका हुन्।
उनीहरुले मल ल्याउने समयको माग गरेको भए पनि अब समय थप गर्न नमिल्ने कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए।
‘मन्त्रालयले मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई दिएको थियो,’ केसीले सूत्रन्यूजसँग भने, ‘उक्त कम्पनीले मल ल्याउनको लागि ठेक्का शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई दिएको थियो । तर, उनीहरुले समयमा मल ल्याउन सकेन्न। अब समय थप्न मिल्दैन्।’
दुईवटा कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले स्पष्टीकरण सोधेको पनि सोधेको थियो । कृषि सामाग्री कम्पनीले भदौ ५ गते ती दुई कम्पनीलाई १७ दिनभित्र (भदौ २०) गतेसम्म ठेक्का सम्झौताअनुसारको मल ल्याइपुर्याउन भन्दै पत्र काटेको थियो।
मल ल्याउने जिम्मा पाएका ठेकेदारले मल आयात नगर्दा बजारमा मलको चर्को अभाव देखिएको छ। पहिलो ठेक्का पाउने शैलुङ इन्टरप्राइजेज लिमिटेड र दोस्रो ठेक्का पाउने नेपालकै अर्को कम्पनी होनिको मल्टिपल प्राइभेट लिमिटेडले मल उत्पादक कम्पनीको झुटो विवरण पेश गरेको भन्दै अख्तियारमा उजुरी पनि परेको थियो।
यी दुवै कम्पनीले टेण्डर डकुमेन्टमा संलग्न गरेका ‘म्यानुफ्याक्चरिङ अथोराइजेसन लेटर’ र ‘ननकन्टामिनेसन सर्टिफिकेट’ सम्बन्धित उत्पादक कम्पनीबाट ल्याएको नभई बिचौलिया व्यापारिक कम्पनीबाट ल्याएको अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ।