उपत्यकाका सिडिओहरु सेना परिचालनतर्फ, दसैंसम्म निधेषाज्ञा कायम राख्नुपर्ने सुझाव-Sutra News

उपत्यकाका सिडिओहरु सेना परिचालनतर्फ, दसैंसम्म निधेषाज्ञा कायम राख्नुपर्ने सुझाव

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका सिडिओहरुले उपत्यकाका नाकाहरुमा सेना परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। उपत्यकामा आगामी दसैंसम्म अहिलेकै स्थितिमा निषेधाज्ञा कायम राख्नुपर्ने समेत उनीहरुले बताएका छन्।



प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा बोल्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले कोरोना भाइरसको नियन्त्रणका लागि उपत्यकाका नाकाहरुमा सेना परिचालन गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनीहरुले दसैंसम्म अहिलेकै स्थितिमा निषेधाज्ञालाई पनि कायम राख्नुपर्ने सुझाव पनि दिएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नाकामा सेनालाई खटाएर कडाइ गनुपर्ने बताएका छन्। उनले काठमाडौंमा दैनिक कम्तीमा पनि दुई हजार मानिस भित्रिन आवश्यक हुने भएकाले यीबाहेक थप मानिसलाई भित्रिन नदिन सेना परिचालन गर्नुपर्ने उनले बताए।

उनले भने, ‘नाकामा हामीले चाहेर वा नचाहेर पनि करिब २ हजार मान्छेलाई काठमाडौं भित्र्याउनैपर्छ। काठमाडौंमा यी मान्छे नभित्र्याउने हो भने यहाँ भोकमारी लाग्छ, खाद्यान्नको अभाव हुन्छ।’

सीमालाई ठप्प बनाउनुको साटो कडाइ गरेर कोरोना नियन्त्रणमा अगाडि बढ्नुपर्ने उनले बताए। उनले भने, ‘अनावश्यक मान्छे हिँडडुल गर्न नदिने कुरा छँदैछ। सीमामा कडाई गर्ने कुरा पनि छँदैछ। तर, सीमालाई कडाइ गर्ने कुरामा नेपाली सेनाकै समूहलाई राख्नुपर्छ। सीमानाको सुरक्षामा मेडिकल समूह र सेनाको समूह राख्दिने हो भने केही कडाइ हुन्छ र कोरोना नियन्त्रण गर्न सकिन्छजस्तो लाग्छ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले आउँदो दसैंसम्म अहिलेकै अवस्थाको निषेधाज्ञालाई कायम राख्नुपर्ने बताए। गत बिहीबार पाटनमा रातो मछिन्द्रनाथको रथ यात्राका क्रममा भएको प्रसंगलाई जोड्दै उनले भने, ‘अब हाम्रा चाडबाड आइरहेका छन्। पर्वमा मान्छेहरुको भावना जोडिएको हुन्छ। जात्रा, संस्कृति, पर्व भनेपछि ज्यान छाड्न तयार हुने मान्छेको भावना देखिएको छ। त्यसैले दसैंसम्म अहिलेकै निषेधाज्ञालाई केही फेलेक्जिबल बनाएर कायम राख्नुपर्छ।’

भट्टले दसैंको समयमा परम्परालाई कायम राख्न मान्छे घर जाने, ठूला बडाको हातबाट टीका लगाउने भएकाले केही सहजीकरणतर्फ पनि ध्यान दिनुपर्ने बताए। उनले भने, ‘मानिसका चाडबाडलाई लिएर हुने भावनाले झन् भयावह स्थिति सिर्जना हुनसक्छ। त्यसलाई पनि विचार गरेर दसैंसम्म यसलाई सहजीकरण गर्नतर्फ ध्यान दिनुपर्छ। अहिलेको निषेधाज्ञालाई नै कायम राखेर यो कुरामा जोड गर्न आवश्यक छ।’

भक्तपुरकी प्रमुख जिल्ला अधिकारीले सीमाबाट काठमाडौं भित्रिने मान्छेलाई निगरानीमा राख्नुपर्ने बताइन्। उनले कुनै पनि मानिस काठमाडौं प्रवेश गर्दा ऊ कहाँ जान्छ? कहाँ बस्छ? लगायतका कुरालाई ध्यान दिनुपर्ने बताइन्। उनले भनिन्, ‘हामीले नका कडा गरेपनि नाकामै मानिस आएर बसिदिन्छ। उपत्यका भनेको देशैभरिका जिल्लाबाट मानिस आउँने ठाउँ हो। यहाँ आउँदा र यहाँबाट बाहिर जाँदा योजनाबद्ध तयारी गर्ने र त्यसलाई पालना गर्ने हो भने कोरोना महामारीलाई नियन्त्रण गर्न सकिन्छ।’

सीमा नाकालाई कडाई गरेपनि नाकामा आएर मान्छे बस्ने र रात परेपछि उपत्यका छिर्ने भएकाले यसलाई विषयगत निकायबाट योजनाबद्ध रुपमा तयारी गरेर व्यवस्थापन गर्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘कुन मान्छे कहाँ जान्छ? भन्ने कुरामा अनुगमन हुनुपर्छ। प्रमुख जिल्ला अधिकारीले मात्रै यसो गर्न सक्दैन। अन्य विषयगत निकायहरु पनि जिम्मेवार भएमात्रै व्यवस्थापन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट