

काठमाडौं- चौतर्फी आलोचना भएपछि कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा बीमा समितिले थप व्यवस्था गरेको छ। आइतबार बसेको समितिको बैठकले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कोरोना बीमाको दाबी भुक्तानी दिने निर्णय गरेको हो।
समितिले निजी ल्याबमा भएका परीक्षणहरुलाई थप अध्ययन गरेर मात्रै दाबी भुक्तानी गर्ने निर्णय गरेको हो। कोरोना बीमा मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा भने ७ दिनभित्रै दाबी भुक्तानी गर्ने समितिले जनाएको छ।
त्यसको लागि बीमा समितिले कोरोना बीमा मापदण्ड समेत संशोधन गर्दैछ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुलाई पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको अवस्थामा के कस्तो अण्डरराइटिङ्ग प्रकृया अबलम्बन गरी मापदण्ड संशोधन गर्न सकिन्छ भन्नेबारे सुझाव समिति गठन गर्ने निर्णय गरेको स्रोतले बताएको छ।
सुझाव समितिमा बीमा समितिका कार्यकारी निर्देशन संयोजक रहने गरी अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सराकारवाला पक्षसमेत हुनेछ। समितिले दिएको सुझावको आधारमा कोरोना बीमा मापदण्ड संशोधन हुनेछ।