अफगान शान्ति वार्ताका लागि तालिबान टोली दोहामा-Sutra News

अफगान शान्ति वार्ताका लागि तालिबान टोली दोहामा

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

इस्लामाबाद– अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ।



नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति पहिल्याउन वार्ता केन्द्रित हुनेछ।

गत फेब्रुअरीमा तालिबान र संयुक्तराज्य अमेरिकाबीच दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ता सुरु हुन लागेको हो। तर, सम्झौतामा तोकिएको मितिभन्दा ढिलो गरी दुबै पक्षबीच वार्ता हुन लागेको हो।

शनिबार अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका प्रवक्ता फराइदून ख्वाजूनले ट्वीट गर्दै अफगान सरकार तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका छन्।

शनिबार नै राति ट्वीट गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानको वार्ता टोलीमा फेरबदल गरिएको बताए। तालिबानका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको प्रवक्ताको भनाइ छ।

यसअघि तालिबानका वार्ता टोली प्रमुखमा शेर मोहम्मद अब्बास स्टानिकजाई थिए। अब शेर मोहम्मद वार्ता टोलीको उपप्रमुख रहनु हुनेछ। यो फेरबदल सहित तालिबान वार्ता टोलीका सदस्यको संख्या २१ पुगेको छ।

गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नै नगर्ने अडान राख्दै आएको थियो । अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षीहरु समेत रहेको टोली बनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार नै एक वक्तव्य प्रकाशन गरी अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि वार्ताको प्रगतिका बारेमा दुबै पक्षलाई मनाउन कतार पुगेको जनाइएको छ। एपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट