काठमाडौं– स्वास्थ्यकर्मी र पोखरा औद्योगिक क्षेत्रका कामदारसहित पोखरामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन्।
पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन्। ‘जोखिम समूहको स्वाब लिने क्रममा औद्योगिक क्षेत्रका कामदारको पनि स्वाब परीक्षण गरिएको थियो,’ पोखरा स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले भने, ‘त्यसैक्रममा सोमबारमात्र पोखरा फुड्सका २५ जना कामदारमा संक्रमण पुष्टि भयो।’
पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ। पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए। अस्पतालका २ नर्स र २ जना कार्यालय सहयोगी गरी ४ जना महिलामा संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेशमा आइतबार ८५ जनामा थप संक्रमण पुष्टि भएको थियो। योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ जना पुगेको छ।