कर्णालीमा अब कृषि अनुदानको साटो ब्याजमा अनुदान-Sutra News

कर्णालीमा अब कृषि अनुदानको साटो ब्याजमा अनुदान

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

कर्णाली- कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ। अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याएको हो।



अघिल्ला वर्षहरुमा मन्त्रालयले कृषि तथा पशुपालनको क्षेत्रमा विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्दै आएको थियो। त्यस्ता अनुदान वास्तविक कृषकभन्दा अधिकांश पहुँचवाला र गैरकृषकले पाउने गरेको भन्दै आलोचना हुने गरेको थियो।

मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले यस कार्यक्रमका लागि चालु आवमा रु. सात करोड विनियोजन गरिएको जानकारी दिए। ऋणको ब्याज अनुदान अवधि पाँच वर्ष राखिएको छ। त्यसपछिको ब्याज स्वयं कृषकले तिर्नुपर्नेछ।

उक्त अवधिसम्म बढीमा रु एक करोड ऋण लिने कृषकका लागि सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले नै तिरिदिनेछ। यो प्रक्रिया सबै बैंकले पूरा गर्नुपर्नेछ। सचिव शर्माका अनुसार चालु आर्थिक वर्षमा यस कार्यक्रमबाट १०० कृषक लाभान्वित हुनेछन्।

‘ती कृषकले सबै बैंकिङ प्रक्रिया पूरा गरेपछि सम्बन्धित बैंकबाट बढीमा रु एक करोडसम्मको ऋण पाउनेछन् र उक्त ऋणको सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले तिरिदिनेछ,’ उनले भने, ‘बैंकको ब्याज तिर्न नसक्ने वा सुरु ब्याज तिर्न आम्दानी नहुनेका लागि यो कार्यक्रम धेरै उपयोगी छ।’

कृषि तथा पशुपालनको क्षेत्रमा २० प्रकारका ऋणको व्यवस्था गरिएको छ। ब्याज अनुदान लिन कृषकले अनिवार्यरूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ।

त्यस्तै रु १० लाखभन्दा बढी ऋण लिनुपरे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्ने लगायतका शर्तहरु राखिएको छ। यदि कृषकले ऋण नतिरे कालो सूचीमा राख्ने, चलअचल सम्पति रोक्का गर्ने, सामाजिक सुरक्षालगायतका सेवाहरुमा रोक लगाइनेछ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको दुरुपयोग हुने भएकाले सहुलियत ऋणमा ब्याज अनुदानको नीति ल्याएको बताए।

यसबाट कृषि व्यवसाय प्रर्वद्धनका साथै कृषि तथा पशुपालनमा रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ। नेपाल राष्ट्र बैंकबाट पाँच प्रतिशत ब्याज अनुदान लिइरहेका कृषकहरुले भने प्रदेश सरकारको यस कार्यक्रमबाट लाभ लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट