मनाङ– मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ। जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को संक्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो। अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो।
यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना संक्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो। सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पताल सिल गरिएको थियो। भदौ १९ गते अस्पतालका प्रमुखको कोभिड–१९ को संक्रमणमुक्त भएको रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आएको छ।
स्वास्थ्य प्रमुखलगायत ७३ जनाको नमूना स्वाब संकलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताए। उनका अनुसार १९ गते शुक्रबार सबै रिपोर्ट आएपछि अस्पतालबाट सेवा दिन थालिएको छ। जिल्लाको एक मात्र अस्पतालमा सर्वसाधारणलाई सेवा प्रवाहमा धेरै असर परेको उनले बताए।
अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि चार जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला असपतालले जनाएको छ। एक जना चिकित्सकलगायत सात जना करारमा कार्यरत चिकित्सक छन्। चार जना ल्याव टेक्निसियन र नर्स करारमा कार्यरत छन्।