

काठमाडौं– अहिले बजारमा तरकारीको मूल्य बढेको छ। सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधा भएसँगै बजारमा तरकारीको मूल्य बढेको उपभोक्ताको गुनासो रहेको छ।
स्थानीय सरकारले तरकारी तथा खाद्य वस्तुको मूल्य बढेको कुरालाई मध्यनजर गर्दै बजार अनुगमन पनि गरि रहेका छन्। अनुगमन भए पनि मूल्य बढाएर व्यापार गर्नेलाई कारबाही गर्न भने सकेको छैन। यसकारण पनि बजारमा मूल्य झन् बढेको उपभोक्ता बताउँछन्।
तर, यो समयमा बिभिन्न कम्पनीले अनलाइन माध्यमबाट तरकारी व्यापार गर्न थालेका छन्। अनलाइनबाट खरिद गर्दा तरकारीको मूल्य खुद्रा पसलको भन्दा सस्तोमा पाइरहेको उपभोक्ताको भनाइ रहको छ। यस्तै यो समयमा बजारमा आएर तरकारी किन्ने भन्दा अनलाइन माध्यमबाट तरकारी किन्नेको संख्या बढेको बिक्रेताहरु बताउँछन्।
ग्यापु डटकम, मेट्रो तरकारी, अग्र्यानिक अनलाइन, डोको अनलाइन र भाटभटेनी सुपर मार्केटले खुद्रा बजारमा भन्दा सस्तो मूल्यमा तरकारी बेचिरहको पाइएको छ। यस्तै, अग्र्यानिक तरकारी होम डेलिभरि, गौर तरकारी बजार, तेह्रथुमे तरकारी अनलाइन सपर जस्ता बिभिन्न अनलाइन माध्यमबाट तरकारी बेचिरहेका छन्।
ग्यापु डटकमले अहिले होमडेलिभरि गरिरएको छ। यसले १ हजार भन्दा बढीको सामान अडर गर्दा निःशुल्क घरमै सामान ल्याइदिने र त्यो भन्दा कमको सामानको मात्रा शुल्क लिने ग्यापोको तरकारी विभागकी सुर्जनी केसी बताउँछिन्।
उनी भन्छिन्, ‘हामीले तरकारी कालीमाटीको मूल्य भन्दा पनि सस्तोमा बेचिरहेको छौं । हामीलाई फाइदा त जिरो प्रतिशत पनि हुदैन्। तर, यस्तो समयमा ग्राहक सन्तुष्ट पार्नु पनि हाम्रो कर्तव्य भनेर लागि परि रहेका छौं।’
यस्तै, तेह्रथुमे अनलाइनले बिराटनगरमा पसल सञ्चालन गरेर तरकारी बेचिरहेको छ। लगभग २० दिन अगाडि सञ्चालनमा आएको यो अनलाइनले होम डेलिभरि र पसलबाट नै बिक्री गरिरहेको यसका संचालक निरन्जन उप्रेतीले बताए। उनीहरुले तेरथुमबाट आफैंले उत्पादित तरकारी बजारमा ल्याएर बेचेको जानकारी दिएका छन्।
उप्रेती भन्छन्, ‘तरकारीको मूल्य होलसेल भन्दा पनि सस्तो नभए पनि खुद्रा बजारको तरकारी मूल्यभन्दा सस्तोमा बेचेको छौं। हामीले आफ्नै उत्पादनलाई ल्याएर बेचिरहेका छौं।’