अफिसदेखि कतै चोक बजार, ड्युटी जानको लागि जुनसुकै बस, बाइक, स्कुटरमा लिफ्ट मागेर जाने बानी नै परेको छ।
प्रहरी युनिफम लगाएर ‘रोक्नोस, रोक्नोस्’ भनेपछि रोक्नै पर्यो। रोकेपछि कहाँसम्म जानुहुने तपाई ? बजार या त कतै चोकसम्म । भनेपछि ल म पनि जान्छु है त भन्यो !
र, पछाडि टसक्क बसिहाल्यो। प्रहरीलाई चिन्नुजान्नु पर्दैन। बोलिदिए पुग्छ। जब हात हल्लाएर रोक्दै गर्दा त्यो घृणामिश्रित हेराईले मन चसक्क हुन्छ।
ओहो !
कति वितृष्णा युक्त हेराइ! नहोस् पनि कसरी? उनिहरुलाई समयमै गन्तव्यमा पुग्न कति हतार हुँदो हो।
कतिपयलाई त हाम्रो पटक–पटकको आदत थाहा पाएर होला त्यहि परसम्म मात्र हो सर! भन्दै राम्रो हेर्दा पनि नहेरि जान्छन्।
ड्युटी गयो।
खाना खायो। अल्छि लागेको ज्यान। दस बजेदेखि ६ बजेसम्म बजार ड्युटी, उफ! यो तराईमा गर्मी पनि अति के पिचरोड के विधि तातिएको !
एक हवल्दार सा‘ब र हामी २ जवान लाठी लिएर घरी चोक, घरी बजार रगांलिन्छौ। बजारको गतिविधि बुझ्यो, प्रत्येक पसलेसँग हाइहेल्लो गर्यो।
आठ घण्टा ड्युटी अवधिभर गर्नु नै के छ र ?
यसो चिया दोकान गयो गर्मिले थ्याच्च बेन्चमा बस्यो। ओहो! त्यहाँ पनि कस्तो घृणामिश्रित हेराइ! हाम्रो घण्टौको बसाइले सायद चियासाहुनीलाई चियासँगै राखिएको दारु बेच्न अलि अप्ठेरो परेछ क्यारे!
हामी तीन जना घरी मोबाइल, फाल्तु च्याट, घरी युट्युव घरी टिकटक। यस्तै गरेर अल्याङटल्याङ गरेर घडी हेर्यो, भर्खर १ मात्रै बज्दैछ।
यतिकैमा हवल्दारसाब भन्नुहुन्छ– चिया खाउन, भर्खर मात्र पासआउट भएर आएकी रिता ‘म त खाने बानी छैन, खान्न है त्यो पनि यस्तो गर्मीमा,’ हवल्दारसाब थप्नुहुन्छ- ल बहिनी! खानुपर्छ ल! साहुनी तीन कप चिया बनाउनुस्!
विचरा, रितालाइ के थाहा ! प्रायः जसो चिया नखाने सिपाही पुलिसमा जागिर खाएपछि पट्यार लाग्दो ड्युटी कटाउनकै लागि भएपनि चिया अम्बली भइन्छन् भनेर।
हामी ३ जना पसिना पुछ्दै चिया नास्ता खान्छौं।
केही छिनको शून्यतालाई चिर्दै हवल्दार सा’ब भन्नुहुन्छ। लौ जाँऊ एकचोटी यताउता हेर्नुपर्छ ।
हामी पैसा तितेर लखरलखर सडकपेटि छेउ हिड्छौ । पर… पिपलचोकमा पुगेर हवल्दारसा‘ब त्यहा शितल तापेर बसेका रिक्सा, टेम्पोचालक, पानदोकानेसँग टुटेफुटेका राजनैतिक गफ, द्वन्द्वकालमा भोगेका पीडा र सास्तीका गफ लाउँछन्।
रिता नजिकैको बेन्चमा बसेर मोबाइलतिर घोत्लिन्छे।
युनिफमको खोल ओढेर ड्युटिमा सिपाही। मन भने सर्धैं खिन्नता, नैराश्यता र खाली पाउँछु।
यहि खालीपनमा विगत,प वर्तमान र अनिश्चित भविष्यमा अनेक बातह मेरो मन मस्तिष्कमा घरि लिङ्गे पिङ त घरि रोटेपिङ जसरी मच्चिन्छन्।
त्यो बालापनमा देखे सुनेको भरमा काल्पनिक स्मार्ट फौजी सपना बोकेर इन्डियन आर्मीमा भर्ति हुन गएको र त्यँहाबाट फेल भएर नेपाल आर्मी र त्यहाँबाट पनि फेल भएको झोकमा उमेर जानै लाग्दा नेपाल पुलिसको सिपाही दर्जामा झुन्डिएको म।
घरि सिरानीमुनिको सर्टिफिकेट अनायासै छुन पुग्दाको पीडा, हाकिमको मोड अनुसारको गाली र व्यवहार सम्झेर आफ्नो स्वाभिमानको पहिचान खोज्न भट्टिपसल धाउने बानी परेको छ।
कहाँ त्यो अनभिज्ञतामा देखेको स्मार्ट फौजी यहाँ, कहाँ यथार्थको सिपाही जिन्दगी तुलना गर्दा मात्रै पनि त्यो पर गफमा मस्त हवल्दारसा‘बको दिनभरी धुलो जमेको काँधमाथिको बिल्लाले ।
यो मेरो खुइलिएको सिपाहीको १२ वर्षे टल्लीलाई खिल्लि उडाए झै लाग्छ।
घरि सम्झन्छु पढाइमा उस्तै स्तरका साथी
श्याम डि.भि. भरेर अमेरिका पुगेर उतै सेटल भैसक्यो, साथी कृष्ण कोरिया गएर काठमाडौंमा घरजग्गा जोडी सक्यो। अर्को साथीले नि कतारमा ओ।टी। गरेर राम्रै कमाई गरेको छ रे!
आफ्नो भने सिपाहीको तलबले स्वास्नी छोराछोरी पाल्न धौ–धौ छ।
छुट्टीमा यसो बाआमाको मुख हेर्न जान बिदा माग्नु भन्दा पहिला हाकिमको मुड र मुख ठिक छ छैन हेर्न जानुपर्छ।
अनियनित ड्युटी, सुताई र खुवाईले त्यसमा पनि ओ.टी. ! ब्यारेकमा तास ,लुडोँ र साँझतिर भट्टिपसलमा बित्छ।
यसो विदेशमा भएका साथीसँग च्याटमा कुरा हुँदा तैले त टन्न पैसा नि कमाईस् लाइफ नि सेटल भयो है भन्दा प्रतिउत्तरमा तेरो नि राम्रो छ।
आफ्नै देश र जनताका लागी सेवा र योगदान गर्याछस् नि! भनिरहँदा मुखले अँ हो नि! भनिरहँदा मन भने भत्भति पोल्छ। कारण सिपाहीका लागि देशभत्ति ,योगदान र स्वाभिमान भन्ने कुरा फाल्तु र वाइयात लाग्छ।
यि सब भनिने कुरा मात्र हुन! समाजमा सेवा गरौ पनि कसरी? बाढी पहिरो, भूकम्प र लकडाउनमा खटिएको समाचार हेर्दा गुडजब नेपाल पुलिस!
भन्ने ती नै जनता कुनै सभाजुलुस हुलदंगामा सामान्य बल प्रयोग अर्को पार्ट्टीको कार्यकर्ता कुटिदा ‘हो ठोक्नुपर्छ ‘,भन्ने र आफ्नो कार्यकर्ता कुटिँदा चाहीं यो पुलिसलाई भाला रोप्नुपर्छ भन्ने समाजमा कुन मनले सेवा गरौ खै?
यी अनेक कारणले अरुले हेर्दा कठोर र छुच्चो बर्दीको आवरणभित्र म सिपाही भने हिनताबोध र खिन्नताले खङ्ग्रिएको हुन्छु।
यस्तैमा म एकोहोरो झोक्रिएको देखेर होला हवल्दारसाबले झस्काउनु भो।
ओ भाई ,यी सिपाहबाट हवल्दारमा बढुवा निकालेछ नि! सि.यु.जि.मा म्यासेज आयो।
म भन्छु हो र? कागलाई बेल पाक्यो हर्ष र विष्मात! हवल्दार सा’ब भन्नुहुन्छ ‘लौ बल्ल यसपाली ६३ को भएछन्। हामी त दश वर्षमा भएका थियौ।
यो पाली त १४ वर्ष नै लागेछ भन्दै ती पान गुट्का खाएर सेतोमामाथि कालो भएको दाँत देखाएर हाँस्नुभो। म भने त्यो हाँसो बुझ्दिन सन्तुष्टीको हो या त व्यङ्ग्यको।
लौ छ बजेछ! पालो आयो हामी जाऔ!
रिता भन्छे– गर्मीमा बाटो त निकै पो छ त, हिंडेरै जाने हो त? हवल्दारसा’ब थप्नुहुन्छ– लौ जे आउँछ रोकेर लिफ्ट मागेर जाने हो।’
मलाई फेरि ती अपरिचित घृणामिश्रित आँखाले घोचे झै लाग्छ। मनभित्र वितृष्णा जागेपनि फेरि भोलि ड्युटी त गर्नु नै छ। यसरी नै प्रत्येक भोलि कति बित्नेहुन्!
यसरी नै चलेको चलनमा हामी एउटा एउटा बाइक रोकेर अफिस फर्किन्छौं।