डिसेम्बर २०१९ को अन्तिम साताबाट मिडियामा कोरोना भाइरससम्बन्धी खबर आउन सुरु भइसकेको थियो। तर, जनवरी २०२० को दोस्रो सातासम्म आइपुग्दा चीनमा यसले भयावह रुप लिने संकेत दिइसकेको थियो।
नयाँ वर्ष चाड पनि परेकाले चीनमा बसोबास गर्ने धेरै नेपाली छुट्टीमा नेपाल फर्किएका थिए। म पनि नेपाल फर्कने योजनामा थिएँ। तर, भीसासम्बन्धी केही काम बाँकी भएकाले अझै दुई हप्ता चीनमा बस्नुपर्ने भयो।
चीनबाट नेपाल फर्केका एक जना नेपालीमा कोरोना भाइरस ‘कन्फर्म’ भएको समाचार आइसकेको थियो। जनवरीको तेस्रो साताबाट चीनको उहान सहरको स्थिति यति विकराल बन्यो कि, लकडाउन नै गर्नुपर्ने स्थिति सिर्जना भयो।
लकडाउन, क्वारेन्टीन, आइसोलेशनजस्ता शब्दहरु त्यसअघि सुनिएका थिएनन्। कोरोनाका कारण उहानमा जस्तो स्थिति सिर्जना भयो, त्यसपछि यी शब्दहरु सुनिन थाले। ठाउँ–ठाउँमा चेक जाँच गरिएका र कोरोनाबाट जोगाउन मानिसलाई विभिन्न तरिकाले मान्छेलाई छोपेर अस्पताल लगिएका भिडियो भाइरल भइरहेका थिए।
सरकारी सूचनाअनुसार कोरोनाबाट विरामी हुनेहरुको संख्या एक हजारभन्दा कम कम थियो। तर, उहानको एक अस्पतालमा कार्यरत एक नर्सले अस्पतालबाटै एउटा भिडियो सन्देश जारी गरिन्, जसमा ९० हजारभन्दा बढी बिरामी भइसकेको दाबी गरिएको थियो। यो भिडियो भाइरल नै भयो। त्यसले त्रासको वातावरण झन् बढायो।
कोभिड–१९ लाई ‘चाइनिज भाइरस’ भन्दै युरोप तथा अमेरिकामा चिनियाँ नागरिकहरुलाई दुर्व्यवहार गरिएका खबर पनि आउन थाले। चीनभित्रै समेत उहानबाट आएका चिनियाँहरुमाथि दुर्व्यववहार नै हुन थालेको थियो।
नयाँ दिल्लीको विजोग
मेरो ‘फ्लाइट टिकट’ १ फरवरी (१८ माघ २०७६) का लागि थियो। तर, विश्व स्वास्थ्य संगठनले दिनहुँ कोभिड-१९ बारे फरक-फरक जानकारी दिने गर्थ्यो। भाइरससम्बन्धी जानकारीहरु आउँदै गर्दा मन झन्-झन् उद्दिग्न हुन्थ्यो। चेक जाँचका कारण चारैतिर कडाइ थियो। सुपरमार्केट, मेट्रो ट्रेन, कार्यालय भवनहरु इत्यादिमा तापक्रम मापन तथा मास्क अनिवार्य भइसकेको थियो।
१ फरवरी (१८ माघ ०७६) को दिन बिहान ४ बजे एअरपोर्टका लागि निस्कँदा हाम्रो उडान होला वा नहोला भन्ने धुकचुक थियो। शरीरको तापक्रमका कारण कोभिड-१९ को संक्रमण भएको शंका गर्लान् भनेर शरीरको तापक्रम कम गर्न हामी स-परिवार नै ज्वरोको औषधि खाएर घरबाट निस्कियौं। डराउँदै उडानको सबै औपचारिकता पूरा गर्यौं। जब प्लेनभित्र प्रवेश गर्यौं, बल्ल ज्यान जोगिएको अनुभव भयो।
सरकारी अकर्मण्यताको बयान गरी साध्य छैन। पदमा बसेकाहरुको कुरा सुन्दाचाहिँ सबैभन्दा राम्रो व्यवस्था यहीँ गरिएको छ जस्तो लाग्छ। सरकारमात्र होइन, प्रतिपक्षको स्थिति पनि उस्तै छ। जनताको स्थितिचाहिँ भाइरस लागेरभन्दा भोकले नै मर्ने स्थिति भइसकेको छ।
हामी नयाँ दिल्ली एअरपोर्ट पुगिसकेका थियौं। त्यहाँ पनि चेक जाँच कडा पारिएको खबर पाएका थियौं। यसले गर्दा मन त्रसित हुने भइहाल्यो। जहाज अवतरण गर्नुभन्दा एक घण्टा अगाडि परिवारका हामी चारै जनाले ज्वरोको औषधि खायौं, ताकि शरीरको तापक्रम बढेको नेदेखियोस्।
नयाँ दिल्ली एअरपोर्टमा चीनबाट आउनेलाई विशेष कडाइका साथ चेक जाँच गरिँदो रहेछ। कोभिड-१९ को कुनै संकेत नदेखिएपछि हामी विमानस्थलबाट बाहिरियौं।
चीनमा कोरोनाको कहर अझै बढ्दै थियो। चिनियाँ सरकारले १० दिनभित्र कोभिड-१९ को उपचारका लागि नयाँ अस्पताल बनाउने घोषणाले संसारको ध्यान आकर्षण गर्दै थियो।
कोरिया, इटाली, स्पेन, इरान तथा जापानमा समेत कोरोना भाइरसको विस्तार र प्रकोप बढिसकेको थियो। भारत र नेपाललगायतका मुलुकमा भने यसको खासै प्रभाव परेको थिएन। कतिसम्म भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण भए-नभएको पत्ता लगाउने गरी खासै चेकजाँच हुदैनथ्यो। कमजोर चेकजाँचका कारण नेपालमा पनि यसको ठूलो प्रकोप हुने आशंका गरिँदै थियो।
उहानमा फसेका नेपाली विधार्थीलाई उद्धार गर्न ढिलाइ भइराखेकाले सरकारको आलोचना भइराखेको थियो। अन्तिममा उनीहरुको उद्धार भयो, सरकारले पनि स्यावासी पायो।
यता नयाँ दिल्ली आइसकेपछि हामी सपरिवार १५ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्यौं। त्यसपछि शहर घुम्न निस्क्यौं। त्यहाँ यति धेरै बेथिति देखिदै थियो कि, यदि यहाँ पनि भाइरस फैलियो भने के होला भनेर कल्पना गर्न गाह्रो हुने स्थिति थियो।
नेपालमा पनि उस्तै
होली मनाउने गरी हामी ५ मार्च (२२ फागुन ०७६) मा नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्यौं। त्रिभुवन विमानस्थलमा चेकजाँचको अवस्था गएगुज्रेको थियो। दुई हप्ता नेपालमा बस्यौं, त्यो बसाइँमा कोभिड-१९ को रोकथाम र नियन्त्रणको कुनै तयारी देखिन्नथ्यो।
भारतमा चाहिँ संक्रमित संख्या बढ्दै थियो। अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने चर्चा चल्दै थियो। मार्च २० (७ चैत २०७६) मा हामी सपरिवार फेरि नयाँ दिल्ली नै फर्कियौं। त्यसयता कतै निस्कन सकिएन। यहाँ लगाइएको ‘जनता कर्फ्यु’ ताली-थाली गर्दै लगभग चार महिनाको लकडाउनमा परियो। यस्तो भयावह स्थिति विस्तारै अन्त्य हुँदैछ। अर्थात् सावधानीपूर्वक यहाँ पनि लकडाउन खोल्न थालिएको छ।
नेपाल सरकारले चाहिँ आफूलाई अलिक भिन्न देखाउने गरी भारतको भन्दा २-४ दिन तलमाथि पार्दै तर भारतमा जस्तै लकडाउन गर्न थाल्यो। राम्रो कुराको सिको गर्नु राम्रै हो, यसले इज्जत कम हुँदैन। दुबैतिरका समस्या उस्तै-उस्तै थिए।
नेपालको स्थिति हेर्दा यस्तो लाग्थ्यो, सरकार र जनता दुबैले महामारीको गम्भीरता बुझेका छैनन्। विभिन्न बहानामा भीड गर्नेजस्ता काम हुँदै थिए। उता सरकारी तवरबाट रोग प्रतिरोधात्मक शक्ति बढी भएकाले नेपालीलाई कोरोनाले छुन नसक्ने, कोरोनाबाट संक्रमण भइहाले पनि त्यसको असर नहुने, बेसार पानीले निको हुनेजस्ता हावादारी कुरा गरिँदै थिए। यसले के देखाउँदै थियो भने, विश्वभरि कोभिड-१९ ले महामारीको रुप लिए पनि नेपाल सरकारले यसलाई आत्मसात गर्न सकेको छैन।
यस्तो स्थितिमा पनि राहतको नाममा भ्रष्टाचार र अनियमितता रोकिएन। करको नाममा निमुखा जनता तथा व्यवसायीहरुको दोहन गर्न कुनै कसर बाँकी राखिएन। यस्तो लाग्छ, हाम्रो देशले जनताको बारेमा सोच्ने नेता अझै जन्माउन सकेको छैन। जनता भएर बाँच्न नसकिने यो देशमा कुनै न कुनै पार्टीको झोले कार्यकर्ता बन्नु वा विदेशिनुबाहेक अर्को विकल्प छैन।
महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्कनेजस्तो व्यवस्था गरिएको छ, त्यो हेर्दा उनीहरुलाई फर्कन वर्षौं लाग्ने देखिन्छ। सरकारी अकर्मण्यताको बयान गरी साध्य छैन। पदमा बसेकाहरुको कुरा सुन्दाचाहिँ सबैभन्दा राम्रो व्यवस्था यहीँ गरिएको छ जस्तो लाग्छ। सरकारमात्र होइन, प्रतिपक्षको स्थिति पनि उस्तै छ। जनताको स्थितिचाहिँ भाइरस लागेरभन्दा भोकले नै मर्ने स्थिति भइसकेको छ।
विगत नौ महिनादेखि हामी नेपाली व्यापारीहरुको अर्बौं रुपैयाँको सामान चीन-नेपालको सीमामा अल्पत्र भएर बसेको छ। सम्बन्धित निकायमा जानकारी गराउँदासमेत ती सामान नेपाल ल्याउन प्रभावकारीरुपमा पहल गरिएको छैन। किन यस्तो व्यवहार गरिएको छ, त्यो रहस्यमय छ। यसलाई हामीले नै गरेको ‘अघोषित नाकाबन्दी’भन्दा अत्युक्ति हुँदैन।
(लेखक झा गैरआवासीय नेपाली संघ (चीन) का निवर्तमान अध्यक्ष हुन्। कोभिड–१९ को महामारीका कारण हालः उनी भारतको नयाँदिल्लीमा छन्।)