

काठमाडौं- सरकारले हालः रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन्।
मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरणसम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको छ।
‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ ।
हाललाई भू-उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको सो मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। सो निर्णय ‘विभागमार्फत् मातहत कार्यालयहरुमा निर्देशन दिने’ भनी मन्त्रिस्तरबाट भदौ १८ मा निर्णय भएको समेत शाखा अधिकृत लक्ष्मणबहादुर कठायतद्वारा जारी सो सूचनामा भनिएको छ।
२०७४ सालमा तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए।