चितवनको होटल तथा रेष्टुरेन्टको ३० अर्ब लगानी संकटमा-Sutra News

चितवनको होटल तथा रेष्टुरेन्टको ३० अर्ब लगानी संकटमा

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

सौराहा- चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको रु ३० अर्ब भन्दा बढी लगानी संकटमा परेको छ।



पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन्। देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन्।

पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आउनुभएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २२५ वटा छन्। ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा ११० वटा छन् सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल सङ्ख्या २९ वटा छन्।

उनका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा, खैरहनीमा तीन वटा, माडीमा तीन वटा, राप्ती  नगरपालिकामा- ३ वटा र इच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल छन्। ती होटलमा पर्यटकीय मौसममा दैनिक रु एक करोड ५० लाख बढी कारोबार हुने उनको भनाइ छ। अन्यमा त्यति नै व्यपार हुने सुवेदीले बताए।

यसका अतिरिक्त पर्यटकीय गतिविधि जीप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, बसलगायतमा रु ३० लाख हाराहारी दैनिक कारोबार हुने व्यवसायी बताउँछन्। सुवेदीले जिल्लामा होटल रेष्टुरेन्टमा १६ हजार मजदूर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिए। ती होटल रेष्टुरेन्टमा रु ३० अर्बभन्दा बढी लगानी छ। जसमध्ये ४० प्रतिशतभन्दा बढी बैंकिङ् ऋण रहेको सवेदीले बताए।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यहाँ चैतदेखि असार १५ सम्म पर्यटकीय मौसम मानिन्छ। त्यसपछि भदौ १५ सम्मलाई पर्यटकीय मौसम मानिँदैन। त्यतिबेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ। भदौ १५ पछिको यो समय पर्यटकीय मौसम हो। उनले भने, ‘यो मौसम पनि त्यत्तिकै जाने भो।’ गत वर्षमा यतिबेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो। अहिले होटल चौकिदारले कुरेरमात्रै बसेका छन्। ‘दशैँको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आश थियो। त्यो पनि हरायो,’ उनले भने।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बीचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताए। वातावरण पूर्ण सहज नभएसम्म होटल खोल्न नहुने भन्दै उनले अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन भएको गुनासो गरे। उनले भने, ‘बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तरोन्नति गर्ने तयारीमा छु।’ सबै होटल सञ्चालकको अवस्था घिमिरेको जस्तै रहेको छ।

व्यवसायीको व्यवसायमात्रै होइन, मजदुरको आवस्था पनि दयनीय बन्दै गएको छ। सबै बेरोजगार भएका छन्। उनीहरु दैनिकी कष्टकर बन्दै गएको छ। ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदुरको अवस्था निकै दयनीय भएको बताए। होटल रेष्टुरेन्टमा काम गर्ने मजदुरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ।

जिल्लामा आन्तरिक र बाह्य पर्यटक कति आउँछन् वास्तविक तथ्याङ्क छैन। चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने वार्षिक दुई लाख हाराहारी छन्। निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कूल सङ्ख्या पाँच लाखमाथि हुने गरेको व्यवसायी बताउँछन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट