जुम्लामा किन बढिरहेछ कोरोना संक्रमण ?-Sutra News

जुम्लामा किन बढिरहेछ कोरोना संक्रमण ?

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं- १८ भदौमा जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जना भिआइपीहरुलाई कोरोना संक्रमण पुष्टि भयो। प्रजिअ थापासहित उद्योग वाणिज्य संघका अध्यक्ष रजभ अलिमनियार, महिला अधिकारकर्मी भगवती श्रेष्ठ, जिल्लाका हातेमालो सेवा समाजका निर्देशक टेक रावत, अधिवक्ता डिल्ली बहादुर महत लगायतलाई संक्रमण पुष्टि भएको थियो। प्रजिअ थापाले सामाजिक सञ्जालमा जानकारी गराउँदै कर्तब्य पालनाको सिलसिलामा कोरोना युद्धमा अहोरात्र खटिँदा आफू पनि संक्रमित भएको बताएका थिए।



जिल्लामा भिआइपीमात्र हैन, सर्वसाधारणमा संक्रमण देखिने क्रम तीब्र बढ्दै गइरहेको छ।

हालसम्म जिल्लामा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६९ जना सक्रिय संक्रमित छन्। सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाका अनुसार हालसम्म ९ हजारभन्दा बढीको स्वाब परीक्षण गरिसकिएको छ।

जुम्लाको संक्रमित दर कर्णाली प्रदेशकै अन्य जिल्लाभन्दा बढी रहेको सहायक प्रजिअ देवकोटा बताउँछन्। ‘यसअघि कालिकोटमा धेरै थिए। अहिले अन्य जिल्लाभन्दा हाम्रो जिल्लामा संक्रमण दर बढी छ,’ उनी भन्छन्, ‘ यद्यपि, निको भएर जाने दर पनि बढिरहेका छन्।

समुदायमा फैलिएको आंकलन

जिल्लामा कोरोना रोकथाममा डट्दा डट्दै कसरी संक्रमण दर तीब्र बढ्यो भन्नेबारे आफूहरु नै अनुसन्धान गरिरहेको प्रशासन बताउँछ। सहायक प्रजिअ संक्रमण समुखायमा फैलिएको हो कि भन्ने अनुमान रहेको आशंका व्यक्ति गर्छन्। ‘संक्रमण समुदायमा फैलिएको जस्तो पनि लाग्छ, जब कि ट्राभल हिस्ट्री नभएका व्यक्तिलाई पनि संक्रमण देखिएको छ। तर, उसैको कन्ट्याक्ट ट्रेसिङ गर्दा अर्कोमा नदेखिँदा ठम्याउन नसक्ने अवस्था छ,’ सहायक प्रजिअ देवकोटा भन्छन्।

समुदायमा फैलिएको आशंका जगाउने दुई वटा केस छन्। तीमध्ये एउटा केस विद्युत प्राधिकरणका कर्मचारी हुन्। विद्युत् प्राधिकरणका १ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा उनीहरु सबैमा संक्रमण पोजेटिभ देखिएको थियो। जबकि उनीहरूको कुनै ट्राभल हिस्ट्री थिएन। जिल्लाभरि ६० भन्दा बढी कर्मचारी, ४० भन्दा बढी सुरक्षाकर्मी लगायतलाई संक्रमण देखिएको छ।

अर्को घटना हो, हिमा गाउँपालिकाको। सहायक प्रजिअ देवकोटाका अनुसार गाउँपालिकामा एकै दिन ५६ जनामा कोरोना संक्रमण देखिएको थियो।

‘कन्भर्जन’ बिन्दुमा गएर परीक्षण गरिएको कारण पनि संक्रमण धेरै देखिएको देवकोटाको भनाइ थियो। ‘बढी सम्पर्क हुने बिन्दु, जहाँ मान्छे आउजाउ गर्छन् त्यहाँ हामीले परीक्षणको दायरा बढायौं। तीमध्ये होटल, पसल, बजा लगायतका स्थानमा बढी परीक्षण गर्‍यौं,’ सहायक प्रजिअ देवकोटाले भने।

हिमा गाउँपालिकामा यसरी संक्रमण तीब्र फैलनुको कारण भारतबाट आएका ४ जना व्यक्ति हो कि भन्ने उनको अनुमान छ। देवकोटाले भने, ‘एउटै गाउँमा भारतबाट आएका ४ जना मान्छे रहेछन्। उनीहरु गाउँमा लुकेर बसेका रहेछन्। त्यो जानकारी हामीलाई पालिका प्रशासन कसैले दिएन।’

समुदायमा फैलिएको आशंका जगाउने दुई वटा केस छन्। तीमध्ये एउटा केस विद्युत प्राधिकरणका कर्मचारी हुन्। विद्युत् प्राधिकरणका १ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा उनीहरु सबैमा संक्रमण पोजेटिभ देखिएको थियो। जबकि उनीहरूको कुनै ट्राभल हिस्ट्री थिएन।

कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा हिमामा सुरुमा ९ जनामा पुष्टि भएको थियो। त्यसपछि ५६ जनामा संक्रमण देखियो। कन्ट्याक्ट ट्रेसिङकै क्रममा त्यसपछि ८ र अन्तिम पटक ३ जनामा भेटिएको सहायक प्रजिअ देवकोटाले जानकारी दिए।

उनका अनुसार परीक्षणको क्रममा ढुवानीको ट्रक चलाएर आउने चालक र सह-चालकको पनि खोजी भएको थियो। उनीहरुको पीसीआर गर्दा ७ जनामा संक्रमण देखिएको थियो।

नाकामा चुनौति

जुम्ला प्रवेश गर्ने चार वटा नाका छन्। चार वटामध्ये कालिकोटसम्म जोडिएको नाका बढी महत्वपूर्ण मानिन्छ। दोस्रो नाका मुगु प्रवेश हुन्छ भने तेस्रो डोल्पा र चौथो जाजरकोट भएर प्रवेश गर्नुपर्छ। सहायक प्रजिअ देवकोटाका अनुसार जाजरकोट र डोल्पासँग जोडिएको नाकामा आवतजातव निकै पातलो हुन्छ। मुगुको नाका भएर बाहिर जाने हुन्छन्, तर त्यो नाकाबाट प्रवेश गर्नेहरु निकै कम संख्यामा छन्। कालिकोटको मुख्य नाका भएको हुनाले स्वास्थ्य डेस्क राख्नुका साथै कडाइ पनि गरिएको थियो। तर, क्वारेन्टीनमा बस्ने मान्छेको चाप बढेपछि नाका व्यवस्थित गर्न कठिन भएको सहायक प्रजिअ देवकोटा बताउँछन्। ‘नाकामा हामीले नियन्त्रण गर्न भरसक प्रयास गर्‍यौं। बढी संक्रमण भएको ठाउँबाट मानिसहरु लुकिछिपी आउन थाले, हामीले सहयोग पाएनौं,’ देवकोटा भन्छन्।

आइसोलेसन र क्वारेन्टीन कति?

जिल्लामा हालः ८ वटै पालिकाले ५० वटा बेडको हिसाबले तयार गरिरहेका छन्। त्यहाँ स्थिति कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० बेडको आइसोलेसन तयार पारिएको छ। आवश्यक परे ५ सय बेडको आइसोलेसन नै तयार पार्न सकिने सहायक प्रजिअ देवकोटा बताउँछन्।

हालसम्म प्रायः संक्रमितहरुलाई लक्षण भने नदेखिएको उनी बताउँछन्। ‘लक्षण देखिएको भनेर रिपोर्टिङ आएको छैन। धेरै उमेर भएकालाई बढी केयर गरेका छौं। महिला बालबालिकालाई अस्पतालमै सिफ्ट गरेका छौं,’ देवकोटा भन्छन्।

यदयपि संक्रमण बढ्दै गए चुनौति पनि थपिने सहायक प्रजिअ देवकोटाको ठम्याइ छ। उनी भन्छन्, ‘चिसो दिन आउँदैछ। तराईतिर लक्षणसहितका संक्रमित देखिन थालेका छन्। पछि चिसोमा आइसोलेसनमा तापक्रम मिलाउन सक्दैनौं कि भन्ने चिन्ता छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट