काठमाडौं- लकडाउनअघि अभिनेत्री स्वस्तिमा खड्कामा पठन रुचि फिटिक्कै थिएन। तर, कोरोना महामारीले उनलाई पढन्ते बनाइदिएको छ, एउटै पुस्तक दोर्याएर पढ्न थालेकी छन्। कुनै पनि काम भोलिलाई साँचेर राख्नुहुँदैन, सकेसम्म आजै गर्ने प्रयत्न गर्नुपर्छ भन्ने भावना उनको मनमा विकास भएको छ। मानव जीवनमा एक्कासी आइपुगेको कोरोना महामारीको संकटपछि स्वस्तिमाको जीवनप्रतिको दृष्टिकोण कस्तो छ? फिल्म क्षेत्रमा उठिरहेका मुद्दाप्रति उनको धारणा के छ? यी र यस्तै विषयमा केन्द्रित रहेर उनीसँग अनिल यादवले कुराकानी गरेका छन्।
हालै रिलिज भएको ‘मुना’ बोलको म्युजिक भिडियोमा तपाईँ ‘साली’को चरित्रमा हुनुहुन्छ। यसअघि ‘घामड शेरे’ फिल्ममा पनि ‘साली’कै भूमिका थियो। यो भूमिकाप्रति कति साह्रो प्रेम हो?
त्यस्तो होइन। मलाई सालीको भूमिकामा देखिन एकदमै रहर लागेर या फिट देखिन्छ भनेर पक्कै होइन होला। संयोगवश यस्तो भएको हुनसक्छ। फिल्ममा मलाई सालीको भूमिका देखेकाले गीतमा पनि साली खोज्दै गर्दा निर्देशकको इमेजमा सायद मेरै अनुहार आएको पनि हुनसक्छ।
कोरोना महामारीले मानवीय जीवन अस्तव्यस्त बनाएको पाँच महिना भइसक्यो। यसले तपाईँको जीवनमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन केही छ?
त्यस्तो ठूलै परिवर्तन केही पनि छैन। तर, आफूले आफैँलाई चिन्ने मौकाचाहिँ धेरै पाएँ। हाम्रो ‘जब’ ‘नाइन टु फाइभ’ नहुने भएकाले कुनै कामको पनि उचित समय हुन्थेन। कलाकार भइसकेपछि कामबाहेक अरु जे गर्न पनि समय छैन भन्ने जुन बहाना हुन्थ्यो, अहिले त्यस्तो गर्नुपरेको छैन। आफ्नो लागि समय दिन पाइरहेको छु। आफैँले आफैँलाई बुझ्ने कुरादेखि परिवारलाई दिने समयको कुरा पाइरहेको छु। कहिल्यै किताब पल्टाउन नरुचाउने अहिले पढ्न थालेकी छु।
कतिवटा पुस्तक पढिसक्नुभयो त?
जम्मा दुइटा पढेँ। पहिलो किताब त दुइपटक पढेँ। तर, नाम अहिले भनि नहालौँ किनभने त्यो मेरो कामसँगै जोडिएको छ। पछि आफैँ थाहा पाउनुहुनेछ। अहिले ‘पावर अफ योर सबकन्सियस माइन्ड’ भन्ने किताब पढिरहेको छु। २० पेजमा पुगिसकेँ, रमाइलो लागिरा’छ। पुस्तकबाहेक अनलाइनमा प्रकाशित लामा लेखहरु पनि पढिरहेकी छु।
कोरोना महामारीपछि जीवनलाई हिजो जसरी हेर्नुहुन्थ्यो, त्यसमा केही बदलाब आयो?
महामारी आउनेवित्तिकै म मान्छे नै परिवर्तन भएँ, जीवनलाई हेर्ने दृष्टिकोण नै फेरियो पनि अहिले भनि नहालौँ। त्यति अध्यात्मिक पनि म भइसकेको छैन होला। यद्यपि ममा केही परिवर्तनहरु आएको छ। जीवन भनेको अनिश्चित रैछ, त्यसैले आफ्ना सपनाहरुलाई पछाडि नसारौँ, ‘भोलिवादी’ नहोऊँ भन्नेचाहिँ लाग्न थालेको छ। हामी नेपालीहरुको आज गर्न सकिने काम पनि भोलि या पर्सी भन्ने बानी छ, यतिखेर त्यसो गर्नु हुन्न भन्ने महसुस भइरहेको छ।
तपाईँको व्यस्त जीवनमा लागेको यो अप्रत्यासित ‘ब्रेक’मा घरमै बसेर समय गुजार्न कति सहज भयो?
दुई वर्ष यता निकै व्यस्त भइएको थियो। केही कुरामा पनि राम्रोसँग समय दिन पाइएको थिएन। त्यसैले लकडाउनको सुरुवातमा केही दिन आराम महसुस भइरहेको थियो। तर, जब लकडाउन बढ्दै गयो, त्यसपछि सोचियो- ला... अब यसरी त हुँदैन। मैले पनि आफूलाई सिर्जनशिल त बनाउनैपर्छ। फेरि सिर्जनशिल हुने चक्करमा मान्छेले तनाव लिने गरेको पनि देखियो। अनि, अरुले खाना पकाइरहेको या त्यस्तै नयाँ केही काम गरिरहेको सोसियल मिडियामा देख्दा हामीलाई झन् प्रेसर हुनेरैछ- ला… मैलेचाहिँ केही गरिनछु। तर, मलाई के लाग्यो भने खासमा यो समय भनेको हाम्रो मेन्टल हेल्थ र फिजिकल हेल्थ राम्रो हुनुपर्छ भन्ने हो। पछि लकडाउन झन् झन् बढ्दै गएपछि मैले आफ्नै युट्युब च्यानलमा भिडियो पनि बनाएँ। पुस्तक पढेँ। परिवारलाई समय दिएँ। सिनेमा हेरेँ। यसैगरी बित्यो समय।
दुवै कलाकारितामा व्यस्त हुँदा पक्कै पनि श्रीमान् (निश्चल बस्नेत)लाई समय दिन पाइरहनुभएको थिएन । यो लकडाउनले प्रयाप्त समय उपलब्ध गरायो होला?
उपत्यका बाहिर सुटिङ भएकाबेला हामी नजिक हुन पाउँथेनौँ नत्र काठमाडौंमै हुँदा त दिउँसो व्यस्त भए पनि साँझ घरमा त भेट हुन्थ्यो नै। त्यसैले समय नै नपाएको भन्ने त थिएन। तर, अहिले नयाँ के भयो भने दिउँसो पनि समय बिताउन पाइएको छ।
केही महिनाअघि निश्चलसँग गितार सिकिरहेको भिडियो पनि देखेको थिएँ। कति सिक्नुभयो?
छैन, सिकिनँ। हल्का रमाइलो गरेकोमात्रै थिएँ। गिटारप्रति त्यस्तो धेरै रुचि पनि होइन। गिटारभन्दा पनि मैले ‘युकुलेले’ सिकिरहेको थिएँ। त्यो पनि यसो सोसियल मिडियाका लागि गीत गाउँ भनेर।
गीत पनि गाउनुहुन्छ है तपाईँ?
त्यस्तो धेरै गाउँदिन। गाउन त मनलाग्छ तर स्वर खासै राम्रो छैन।
पछिल्लो समय अभिनेत्रीहरु गायिका बन्ने क्रम अर्थात् गायनमा प्रवेश गर्ने क्रम बढिरहेको छ। यो सूचीमा तपाईँको पनि नाम थपिने सम्भावना कत्तिको छ?
एउटा गीत गाउनेवित्तिकै अभिनेत्री गायिका भइहाल्छन् भन्ने त मलाई लाग्दैन। तर, मलाई गीत रेकर्ड गराउनचाहिँ मन छ। यो मेरो जीवनको एउटा सपना हो। त्यसैले कुनै न कुनै दिन म गीत रेकर्ड गराएरै छाड्छु। बरु झुर भएछ भने रिलिज नगरौँला।
अघि युट्युब च्यानल सुरु गरेको प्रसंग निकालेपछि मलाई याद आयो- तपाईँले त्यहाँ आफूले पहिलो फिल्म ‘होस्टेल रिटन्स’मा काम गर्दा १५ हजार पारिश्रमिकमा सम्झौता गरेको तर आधा रकममात्रै पाएको खुलाउनुभएको थियो। फिल्म वृत्तमा थुप्रै कलाकार र प्राविधिकहरु काम गरेको पारिश्रमिक नउठेको गुनासो गर्छन्। तपाईँले यो समस्या कत्तिको भोग्नुभयो र यस्तो किन भइरहेजस्तो लाग्छ?
मैले धेरैजसो व्यवसायिक टिमसँगै काम गरेँ, त्यसैले पहिलो फिल्मपछिका थुप्रै फिल्महरुमा मैले यो समस्या भोग्न परेन। अझ केही प्रोड्युसरहरुले फोन गरी गरी पैसा लिन बोलाउनुहुन्थ्यो। तर, पछिल्लो समय फेरि एक-दुइटा टिमसँग मैले यो समस्या भोग्नु परिरहेको छ। जहाँसम्म पहिलो फिल्मको कुरा छ, त्यहाँ मैले १५ हजारको आधा रकममात्रै लिए पनि १० लाख बराबरको काम सिकेको छु। त्यसैले पहिलो फिल्मबाट मलाई कहिल्यै पनि पैसा लिन बाँकी छ भन्ने महसुस भएन।
अहिलेचाहिँ कति पैसा उठ्न बाँकी छ?
फिल्मलगायत सबै प्रोजेक्ट गरेर करिब १५-१६ लाख उठाउन बाँकी छ। कहाँ कुन फिल्मबाट त्योचाहिँ भन्दिन है।
‘बुलबुल’मा टेम्पो महिला चालकको भूमिका निर्वाह गर्नुअघि तपाईँको छबि रोमान्टिक अभिनेत्रीका रुपमा थियो। यो फिल्मले तपाईँलाई नेसनल अवार्डमात्रै दिलाएन, फिल्मलाई लिएर तपाईँप्रति दर्शकको अपेक्षा पनि बढायो। तर, त्यसपछिका काममार्फत् तपाईँ त्यो अपेक्षाको सम्बोधन गर्न सकेजस्तो लाग्छ?
कुन हिसाबको अपेक्षा भन्ने हुन्छ। स्वाभाविकरुपमा दर्शकलाई एउटा भूमिकामा मन परेपछि सधैं उस्तै भूमिकामा देख्न मन पर्छ। अर्को प्रश्न के पनि आउँछ भने त्यसपछि ‘बुलबुल’जस्तो फिल्म बन्यो कि बनेन? मलाई अप्रोच आयो कि आएन? आएर पनि मैले काम देखाउन सकिनँ भने पो मेरो समस्या हुने होला। तर, अवस्था त्यस्तो हो जस्तो मलाई लाग्दैन। जहाँसम्म मलाई लाग्छ, ‘बुलबुल’पछि त्यस्तो ‘कन्टेन्ट ओरियन्टेड’ अर्थात् कथा-केन्द्रित फिल्म नै बनेको छैन।
त्यसोभए एउटा कुरा सोधिहालौं- नेपाली फिल्म क्षेत्रमा कलाकारलाई ‘म चुजी हुन्छ, छनौट गरेरमात्रै फिल्म गर्छु’ भन्ने अवस्था छ कि छैन?
‘डेफिनेट्ली’ छ। जे आउँछ, त्यही गर्नुपर्छ भन्ने छैन। मेरो दोस्रो फिल्मपछि मैले जति फिल्महरु गरेँ, ती सबै मैले रोजेरै गरेको हो।
म्यूजिक भिडियोको हकमा पनि त्यही हो?
मेरो हकमा म्युजिक भिडियोलाई फेरि फिल्मसँग दाज्न मिल्दैन। किनभने म्युजिक भिडियोको मेरो टार्गेट अर्कै हो।
कस्तो टार्गेट हो र?
म्युजिक भिडियो ‘इजी मनी’को काम हो। एकदिनमै काम सकिन्छ र पैसा पनि राम्रै पाइन्छ। यद्यपि दुई वर्ष यता मैले त्यति भिडियो गरेको थिइनँ। अस्ती लकडाउनपछि चाहिँ चार वटा गरेँ। मैले जति गीतमा काम गरेकी छु, ती मलाई मन परेरै हुन्। मैले गीत झुरै लागे पनि पैसाका लागिमात्रै सोचेर कामचाहिँ गरेको छैन। मैले कतिपय गीतमा अहिले पनि दुई लाख रुपैयाँ पारिश्रमिक दिन्छुभन्दासम्म गरेको छैन। तर, मनपर्छ भने कम पैसामै गर्न पनि तयार हुन्छु।
पछिल्लो समय कलाकारहरु मिडियासँग त्रसित छन् भन्ने गुनासो व्यापक सुनिन्छ। अवस्था यस्तै सिर्जना भएको हो?
तीन-चार वर्ष यता यो समस्या देखिएकै छ। मलाई नै सोध्नुहुन्छ भने पनि यो समयमात्रै मलाई कम्तीमा १० वटा ठाउँबाट इन्टरभ्युका लागि फोन गरिरहनुभएको छ। तर, म फ्रि हुँदाहुँदै पनि जानसक्ने हिम्मत किन गरिरहेको छैन भने अहिले अनलाइन या युट्युबमा ‘क्लिकबेट’ वा भ्युज तान्ने चक्करमा हेडलाइन बनाउँदा कलाकारलाई फसाउने नियत पनि राखेको पाइन्छ। तर यसो भनिरहँदा केही युट्युबरहरु अहिले सुध्रिएको अवस्था पनि छ।
कुनैबेला तपाईँले युट्युबरमाथि प्रश्न नै उठाउनुभएको थियो नि?
त्यतिबेला प्रश्न उठाउन आवश्यकतै भइसकेको थियो।
फिल्म क्षेत्रका सम्पूर्ण काम ठप्प भइरहेका बेला यो महामारीमा कलाकारले थुप्रै मुद्दा उठाए। नम्रता सापकोटा, वर्षा शिवाकोटी, नाजिर हुसेनहरुले ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’को कुरा उठाए, साम्राज्ञीराज्य लक्ष्मी शाहले आफूमाथि भएको यौन दुर्व्यव्यवहारबारे बोल्ने हिम्मत गरिन्। पूजा शर्माले टिभी कार्यक्रममार्फत् आफूमाथि भएको ‘बडी सेमिङ’बारे बोलिन्। तर, यी सबै मुद्दा कुनै ठोस निचोड बिना निष्कर्षविहीन अवस्थामा सेलाए। यसमा तपाईँको धारणा के हो?
पाँच वर्ष भयो यो फिल्म क्षेत्रमा काम गरेको, कतिपय कुरा मलाई पनि चित्त बुझ्दैन। चाहे त्यो साम्राज्ञीले उठाएको पारिश्रमिकको कुरा होस्, पूजाले उठाएको बडी सेमिङ या नम्रता नाजिरले उठाएको ग्रुपिज्मको कुरा। एउटा बिन्दु आउँदोरहेछ सधैं, जतिबेला हामीलाई भित्रैबाट अब बोल्नुपर्छ भन्ने लाग्छ, अनि बोल्छौं। तर, हामीले बोलिसकेपछि भोलि ५० प्रतिशतले समर्थन गरिरहँदा ५० प्रतिशतले आलोचना पनि गर्न सक्छन् र त्यतिबेला पनि हामी हाम्रो बोलिप्रति अडिग रहनुपर्छ भन्ने हामी सोच्दैनौं। जब अरुले आलोचना गर्न थाल्छन्, त्यसपछि हामीलाई हाम्रै कदमप्रति शंका लाग्न थाल्छ, सोच्छौं- ‘ला… कतै मैले गलत पो बोले कि?, सही बोलेको भए त सबैले समर्थन गर्नुपर्ने इत्यादि।’ मेरो अनुभवमा यसरी पनि कतिपय मुद्दा बीच बाटोबाटै सेलाउने रहेछन्। तर, म के भन्छु भने यदि कसैलाई आफू अन्यायमा परेको लाग्छ भने भोलि अरुले के भन्लान्, समर्थन गर्लान् या नगर्लान्, त्यो नसोची बोल्नुपर्छ, आफ्नो कुरामा स्पष्ट र अडिग हुनुपर्छ।
हलिउड र बलिउडमाजस्तो यौन दुर्व्यव्यवहारविरुद्धको आवाजलाई सम्बोधन गर्ने ‘मिटु मुभमेन्ट’ले हामीकहाँ प्रवेश त पायो तर विस्तृत रुप लिन सकेन। बरु बोल्नेहरु पनि डराउने अवस्थामा पुगे। तपाईँको विचारमा यस्तो किन भयो?
‘मिटु’को कुरा उठेन भन्दैमा यहाँ दुर्व्यव्यवहार हुँदै हुँदैन भन्ने पनि होइन। यहाँ कतिपय जो ‘मिटु’ मुभमेन्टमा बोल्नुहुन्छ, फेमिनिष्टका रुपमा सक्रिय हुनुहुन्छ, भोलि सबै कुरा खुल्न थाल्यो भने उहाँहरुमाथि नै प्रश्न उठ्ने मुद्दाहरु पनि छन्। मलाई त केटामात्रै होइन, यहाँनेर केटी नै ‘मिटु’मा परेको केस पनि थाहा छ। तर जबसम्म पीडितले बोल्दैन, तबसम्म हामीले बोल्न मिल्दैन।
सायद बोल्दाखेरी साम्राज्ञीलाई झैं समर्थन पाइँदैन, उल्टै आवाजलाई दबाउन खोजिन्छ भन्ने लागेर पो बोल्न डराइरहेका छन् कि?
कसैले समर्थन गर्छ या गर्दैन भन्ने सोचेर बोल्ने नै होइन। आफ्नो कुराप्रति विश्वस्त र अडिग भएर बोल्ने हो। भोलि त्यसलाई जसले जसरी व्याख्या गर्न पनि सक्छ, तर आफू बलियो र प्रष्ट हुनुपर्छ।
साम्राज्ञी दुर्व्यव्यवहारको प्रसंग उठाउँदा सुटिङमा अभिनेत्रीले भोग्नुपर्ने दुःखबारे खुलाएकी थिइन्। तपाईँको अनुभवमा अभिनेत्री हुनुका दुःख के-के रहेछन्?
दुःख त कति हुन्छ, हुन्छ। साम्राज्ञीले त त्यसको अलिकति प्रतिशतमात्रै उप्काएको हो। उसले घामको कुरा गरेको छ, खाना टाइममा नहुने कुरा गरेको छ। मैले मेरो पहिलो फिल्म गर्दाखेरी चम्चा मुखमा हाल्नेवित्तिकै सर्ट रेडी भएर खाना छोडेर हिड्नुपर्ने परिस्थिति पनि सिर्जना भएको थियो। तर, म यसलाई ठूलो समस्या भन्न चाहँदिन। किनभने मैले पहिलो फिल्मबाट जति दुःख पाए, त्योभन्दा बढी त फाइदा लिएको छु। काम गर्दै जाँदा कहिलेकाहीँ भुइँमा सुत्नुपर्ने अवस्था आइदिन्छ, कहिलेकाहीँ झाडीमै ट्वाइलेट गर्नुपर्ने अवस्थासम्म आउँछ। कहिलेकाहीँ बाटोमा गाडी गुडिरहेकै बेला खाना खानुपर्ने स्थिति पनि हुन्छ। सुटिङ कहाँ कुन ठाउँमा कसरी हुँदैछ भन्ने हिसाबमा यी अवस्था आइपर्ने हुन्। तर, यसलाई म नकरात्मक हिसाबले लिन्न। किनभने हाम्रो फिल्म बजार र मेकरका आ-आफ्नै सीमा छन्, जसलाई हामीले पनि बुझ्नुपर्ने हुन्छ।