पूर्व सभामुख महरा र ऊर्जामन्त्री पुनबीच रोल्पामा भेट, नेकपा फुटबाट जोगिएकोमा महरा हर्षित-Sutra News

पूर्व सभामुख महरा र ऊर्जामन्त्री पुनबीच रोल्पामा भेट, नेकपा फुटबाट जोगिएकोमा महरा हर्षित

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

काठमाडौं- पूर्व सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनबीच नेकपाको आन्तरिक एकता र कोभिड-१९ ले सिर्जना गरेको परिस्थितिबारे एक घण्टा कुराकानी भएको छ। गृहजिल्ला रोल्पा पुगेका मन्त्री पुन र रोल्पाको मेवाङ (लिवाङ)स्थित महराको निवासमा उनीहरुबीच कुराकानी भएको हो।



रोशनी शाहीमाथिको बलात्कार अभियोगमा अदालतबाट सफाई पाएयता पूर्व सभामुख महरा धेरै जसो समय आफ्नो निर्वाचन क्षेत्र दाङ-२ र गृहजिल्ला रोल्पाको मेवाङस्थित निवासमा रहँदै आएका छन्। महरालाई भेट्न मन्त्री पुन उनको मेवाङस्थित निवासमै पुगेका थिए।

मन्त्री पुनका स्वकीय सचिव जीवन रोका मगरका अनुसार, महराले मन्त्री पुनसँग समय-सामयिक राजनीति र कोभिड-१९ ले सिर्जना गरेको राजधानीको परिस्थितबारे जिज्ञाशा राखेका थिए। पुनले पार्टी एक भएर जाने परिस्थिति सिर्जना भएको बताउँदै कोभिड-१९ का कारण जटिल स्थिति सिर्जना भएको बताएका थिए।

‘महरा सरले पार्टी फुटबाट जोगिएकोमा खुसी प्रकट गर्नुभयो, नेताहरुले विवेक पुर्‍याएर एकताको रक्षा गरेको भन्दै खुसी पनि प्रकट गर्नुभयो,’ सुरक्षित आवास कार्यक्रमको बैठकका लागि रोल्पा पुगेका मन्त्री पुनसँगै रहेका रोका मगरले सूत्रन्युजसँग भने, ‘पार्टी एकता जोगिएकोमा उहाँ हर्षित हुनुहुँदो रहेछ।’

कोभिड-१९ का कारण राजधानीमा समेत अप्ठेरो स्थिति सिर्जना भएकाले आफू गाउँ आएको महराले बताएका थिए। रोका मगरले भने, ‘कोरोनाको जोखिमको कारणले काठमाडौंमा बस्नुभन्दा गाउँ बस्नु उचित सम्झेर आएको हुँ भन्नुभयो। गाउँमा बसेपछि क्वारेन्टीनमा बसेजस्तै हुन्छ भन्ने उहाँको भनाई थियो।’

माओवादी पृष्ठभूमिका अधिकांश रोल्पाली नेताहरु पूर्व सभामुख महरालाई आफ्नो राजनीतिक गुरु मान्ने गर्छन्। यही कारण गृहजिल्ला गएका बेला सदरमुकाम लिवाङबाट आधा घण्टाको दूरीमा रहेको मेवाङस्थित निवासमै पुगेर मन्त्री पुनले पूर्व सभामुख महरासँग भेट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट