चितवन- कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ ।
तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण समुदायसम्म नै पुगेको छ । तर सङ्क्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रवेश पाउन सकेको छैन । शिक्षित र सम्भ्रान्त समुदाय बसोबास गर्ने समाजमा नै सङ्क्रमितका परिवार पीडित बन्नुपर्ने अवस्था झन् बढ्दै गएको छ ।
चितवन जिल्ला शिक्षा र स्वास्थ्यका दृष्टिकोणले तराई तथा मधेशका अरु जिल्लाहरुका तुलनामा अगाडि रहेको मानिन्छ । यही जिल्लाका मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित भनिएको बर्गबाट नै कोरोना भाइरस सङ्क्रमितका परिवारहरु पीडित बन्नुपरेको तीतो यथार्थ यहाँ अहिले पनि कायमै छ ।
पत्रकार वसन्त ढुङ्गानाका दाजुलाई सङ्क्रण देखिएपछि उनी २४ दिनसम्म दाजुसँगै घरमै बसे । दाजुलाई सङ्क्रमण भयो, भाउजू छोराछोरी र उहाँलाई सङ्क्रमण भएन । उनीहरुको घर भरतपुर महानगरपालिका वडा नं ८ लालिगुराँस चोकमा छ । उनीहरुको यो २४ दिनको समय पूरै तनावमा बित्यो ।
दाजुको सङ्क्रमणको अवधिभर परिवार पूरै मानसिक तनावमा रहनु पर्यो । उनले दुखेसो पोखे, ‘दाजुलाई लक्षण नदेखिएकाले रोगका कारणले नभएर समाजका कारणले हामीलाई तनाव सिर्जना भयो ।’
ढुङ्गानाका अनुसार घरमा बाहिरबाट तयारी खाना कसैले ल्याइदिँदै गर्दा स्थानीयले प्रहरीलाई खबर गरिदिन्थे । केही छिनमा प्रहरी आइपुग्थे । ‘मानौँ कि हाम्रो घर कुनै अपराधीको घरजस्तो भयो’ उनले भने, ‘कहिलेकाहीँ त यस्तो ठाउँमा किन घर बनाइएछ भने जस्तो पनि भयो, निकै पछुतो लाग्यो ।’
स्थानीयले जानेर नभएर नबुझेर त्यसो गरेको भन्ने सोचेर आफूहरुले चित्त बुझाउने गरेको उनी बताउँछन् ।
जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठककी १०९ वर्षीया मावली हजुरआमाको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । हजुरआमाको स्याहारमा जुटेका पाँच जनामध्ये सानीआमा, एक नातिनी र एक नातिनी ज्वाइँमा पनि सङ्क्रमण देखियो । पाठकको एकजना सानीआमालाई अहिले पनि भरतपुर अस्पतालका सघन उपचार कक्षमा राखिएको छ ।
खैरहनी नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा पाठकको भनाइअनुसार त्यसपछि त्यहाँ जोडिएका ६१ सदस्य १८ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्यो । परिवारले भोगेको पीडा यहाँ भनेर व्याख्या गर्न नसकिने उनको अनुभव छ ।
‘क्वारेन्टिनको अवधि पार गरेर पिसिआर नेटेटिभ आउँदा समेत अहिले पनि समाजमा घुलमिल हुन दिइएको छैन’ उनको गुनासो ‘म नजिक गएँ भने कतिपय बसिरहेका मानिस उठेर हिँड्छन् ।”
सानीआमालाई अस्पतालमा भएको गाह्रो आफैँमा पीडादायी भएको उनी बताउनुहुन्छ । सघन उपचार कक्ष बाहिरबाट बिरामी हेर्दै गर्दा मन भक्कानिने गरेको उनको गुनासो छ । अक्सिजन फाल्ने, शैयाबाट भुईंमा झर्ने जस्ता समस्या हुने गरेको भए पनि डर र त्रासका कारण त्यस्ता बिरामीले उपचार राम्रोसँग पाउन नसकेको उनी बताउँछन् ।
सङ्क्रमितमध्येकै अन्य बिरामीमध्येका सबलले कमजोर विरामीलाई सेवा गरिरहेको भएपनि समाजले दिने पीडा झन् ठूलो बनेको उनको भनाई छ । उनी भन्छन्, ‘सुरक्षा मापदण्ड र भौतिक दूरी कायम गर्दै उहाँहरुलाई दुःखमा सहानुभूति दिन आउनेहरुलाई समेत समाजले नराम्रो नजरले हेर्ने गरेको देख्दा झनै नरमाइलो लाग्दो रहेछ ।’
भरतपुर महानगरपालिका–२ निवासी अमिर रामदामको एकाघरमा बस्ने काकाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । सँगै रहेका ७४ वर्षीय हजुरबुबालाई पनि सङ्क्रमण भएको छ ।
‘हामीले यतिबेला एक्लो महसुस गरेका छौँ, तर कतिपय साथीभाइले टेलिफोन गर्दा समेत कोरोना सर्ला जस्तो गरिदिन्छन्’ उनले सुनाए, ‘सीमित सम्पर्कमा आएकाहरुबाट रासन पानी मगाएर गुजारा चलाउने गरेका छौँ । दुःखका बेला समाजले सहयोग गर्ला भन्ने आशा थियो, तर निराश भइयो ।”
नेपाल पत्रकार महासङ्घ चितवनका सदस्यसमेत रहेका रामदामले समाजलाई बुझाउन नसक्दाका कारण समस्या आउने गरेको बताए । उनले भने, ‘समाजले अझै पनि रोग कसरी सर्छ भन्ने राम्रोसँग बुझेको छैन ।’
कोरोनालाई जितेर काम थालेका भरतपुर अस्पतालका प्रसूति रोग विशेषज्ञ डा सुनिलमणि पोखरेलले पनि सङ्क्रमण देखिँदै गर्दा समाजबाट परिवारलाई निकै पीडा दिइएको महसुस गरे । रोगका बारेमा बुझिनसकेकै कारण समाजमा धेरै त्रास रहेको उनी बताउँछन् ।
शुरुका दिनहरुमा एचआइभी एड्स सङ्क्रमितलाई जुन रुपमा हेरिन्थ्यो, अहिले त्यही रुपमा कोरोना सङ्क्रमितलाई हेर्ने गरेको डा पोखरेलको बुझाई छ । मनोबललाई उच्च राख्न सके रोगलाई परास्त गर्न सकिने बताउँदै डा पोखरेल भन्छन्, ‘समाजलाई बुझाउन सकेमा समाजबाट हुने पीडा कम गर्न सकिन्छ ।’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीको सङ्क्रमणपछि सँगै काम गरेका अस्पतालका चिकित्सक तथा कर्मचारी, बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधि, उच्च पदस्थ व्यक्ति, परिवारमा समेत सङ्क्रमणको आशंका भयो । परिवारसँग छुट्टिएर काठमाडौँबाट चितवन आएसँगै डा तिवारीमा मा सङ्क्रमण देखिएको थियो ।
डा तिवारीकी श्रीमती शीला तिवारी पनि शुरुका दिनमा निकै पीडा महसुस भएको बताउँछिन् । तिवारीमा लक्षणसमेत देखिएकाले केही भइहाल्छ कि भन्ने चिन्ता आफूमा भएको उनको अनुभव छ ।
विश्वभरको तथ्याङ्क हेर्ने हो भने ४० देखि ६० वर्षका मानिस कोरोनाको संक्रमणबाट बढी प्रभावित भएको उल्लेख गर्दै डा तिवारी भन्छन्,, ‘सङ्क्रमण भएकाहरुले आत्मबल बलियो बनाउने र समाज र परिवारले प्रोत्साहन दिन सकेमा कोरोनालाई परास्त गर्न सहयोग पुग्छ ।’
कोरोना सङ्क्रमित भएर आइसोलेसनमा रहेका पत्रकार रमेश बस्ताकोटीकी श्रीमती सिर्जना कडेलले कोरोना सङ्क्रमित र उनीहरुका परिवारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा यसले सङ्क्रमितको मनोबल झन् घट्दै गएको बताउँछिन् । ‘कोरोना सङ्क्रमितको परिवारलाई हेय भावले हेर्ने र उनीहरुलाई समाजमा नै एक किसीमले बहिष्कार नै गर्ने प्रवृत्ति देखिएको छ’ उनले भनिन्, ‘यो सबैभन्दा खतरानाक कुरा हो ।’
समाजले सङ्क्रमित र उनीहरुका परिवारलाई हौसला मात्र दिने हो भने पनि आधा रोग त्यसै निको हुने बताउँदै बस्ताकोटी भन्छिन्, ‘एकापसमा सद्भाव कायम गर्नुपर्छ, एकले अर्कोलाई सहयोग गर्नुपर्छ अनि मात्र कोरोनासँगको लडाईं जितिन्छ ।”
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका वसन्त पराजुलीको अनुभव भने फरक छ । उनले आफूले भने समाजबाट सकारात्मक सहयोग पाएको उल्लेख गरे । घरको भूई तलामा भाडामा रहेका तीन जनामा सङ्क्रमण देखिएपछि पराजुली परिवार पनि घरमै सुरक्षित बसिरहेको छ । पिसिआर रिपोर्ट नआउँदासम्म आवश्यक सामग्री छरछिमेकीले घरको गेटसम्म ल्याइदिएर सहयोग पु¥याएको उनले बताए ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सावधानी सबैले अपनाउनु पर्ने, तर त्रसित् हुनु नपर्ने बताउँछन् । तिवारीका अनुसार सङ्क्रमितले ह्याछ्युँ गर्दा, खोक्दा निस्कने छिटाबाट रोग सर्ने हुँदा दुई मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, समय–समयमा साबुन पानीले हात धुने हो भने कोरोना सर्नबाट बच्न सकिन्छ ।
घरमा बसेका सङ्क्रमित छिटो निको हुने गरेको दावी पनि उनले गरे । सङ्क्रमितको मृत शरीरबाट अरुमा सङ्क्रमण सर्ने सम्भावना ज्यादै न्यून रहेको पनि उनले बताए । ‘मृतक व्यक्ति र तिनका परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन’ उनले भने, ‘शव व्यवस्थापन गर्न परिवारले चाहेमा उच्च सावधानी अपनाएर गर्न सकिन्छ ।’
अहिले ठाउँ–ठाउँमा क्रिया बसेकाहरुलाई फरक व्यवहार गरेको सुनिएको बताउँदै यस्तो गर्नु उचित नहुने बताए । ‘शवबाट नभएर मलामी–मलामीबीचको सम्पर्कबाट रोग सर्ने हो’ उनले थपे, ‘मलामीमध्ये एउटा सङ्क्रमित हुँदा अरुलाई सर्ने गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउनु पर्छ ।’
चितवनमा हालसम्म चितवनमा कोरोना भाइरसबाट १ हजार ५२ जना सङ्क्रमित भएका छन् । तीमध्ये २ सय ५३ जना निको भएर घर फर्किसकेका छन् भने ७ सय ८७ जना उपचाररत या आइसोलेसनमा छन् । जिल्लामा १२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । तर विभिन्न जिल्लाबाट उपचार गराउन आएकाहरुको मसेत संख्या जोड्ने हो भने चितवनमा मृत्यु हुने संक्रमितको संख्या २२ पुगेको छ ।
– नारायण अधिकारीर/रासस