बुटवल उपमहानगरद्वारा सहयोगापेक्षीको निःशुल्क पीसीआर-Sutra News

बुटवल उपमहानगरद्वारा सहयोगापेक्षीको निःशुल्क पीसीआर

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

बुटवल– कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जानथाले पछि बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीको स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु गरेको छ। उपमहानगरपालिकाले सहयोगापेक्षीको सडकबाट उद्धार गरी निःशुल्क पिसिआर परीक्षण थालेको हो।



बुटवललाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ। घोषणा गरेयता सडकमा फेलापर्ने कुनैपनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ। आफन्तविहिन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसाहरालाई कोरोना सङ्क्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पिसिआर परीक्षण शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।

लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ बेसाहराको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए।

प्रमुख सुवेदीका अनुसार बुटवल भित्र कोही पनि अशक्त र रोगी कोरोनाको जोखिममा नपरुन भन्ने उद्देश्यले सडकमा बेसाहरा भएकाको उद्धार र पीसीआर परीक्षण गरिएको हो। आठजनाको स्वाव सङ्कलन गरी प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ।

उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। पिपिई लगायतका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन्।

कोरोनाका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा बुटवल उपमहानगरले भने सडकमा बेसाहरा भएर जीवन बिताएकालाई नगर प्रहरी मार्फत उद्धार गरी मानव सेवा आश्रममा राख्ने गरेको छ।

बुटवल उपमहानगरले सहयोगापेक्षीको उद्धार र व्यवस्थापनमा सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिए।

उनका अनुसार बुटवल क्षेत्रबाट लकडाउनमा २८ र प्रदेश ५ बाट ४५ जनाको उद्धार गरिएको छ । उपमहानगरले कोरोनाबाट नागरिक बचाउने गरी पीसीआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताए। उनले लैंगिक हिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको बताए।

मिर्गौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीको निःशुल्क पिसिआर परीक्षण गरिएको छ जसलाई यहाँका अरु पालिकाले पनि अनुशरण गरेका छन्।

उपमहानगरले सडकमा बेसाहरा भएकाको पिसिआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रशंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट