कस्तो रह्यो प्रधानसेनापति थापाको दुई वर्षे कार्यकाल ?-Sutra News

कस्तो रह्यो प्रधानसेनापति थापाको दुई वर्षे कार्यकाल ?

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको ४३ औँ प्रधानसेनापतिको कार्यभार सम्हालेको आज ठीक दुई वर्ष पूरा भएको छ। सङ्गठनको नेतृत्व लिएसँगै थापाले ‘आफैँबाट आजैदेखि परिवर्तनको शुरुआत गरौँ’ भनी राष्ट्रिय सुरक्षा सुदृढीकरणसहित सात लक्ष्य समेटिएको कमाण्ड निर्देशन जारी गरेका थिए। उक्त लक्ष्यसहित १ सय ५१ कार्य गर्न मूल र सहायक नीति बनाएर काम गर्न सबै तहका कमाण्डरलाई निर्देशन दिएकोमा क्रमश: कार्यान्वयनको चरणमा छ।



प्रधानसेनापति थापाले मुख्यरुपमा सङ्गठनभित्र पद्धति र प्रणालीको विकास, आर्थिक अनुशासन, चेनअफ कमाण्ड, व्यावसायिकता, साङ्गठनिक सुधार र स्थापित मूल्यमान्यताको अनुशरणमा जोड दिँदै आएका छन्। ‘नेतृत्व हस्तान्तरणको अर्को वर्षको कार्यक्रम तय गर्नु अघि नै सङ्गठनका ‘क्यान्सर’लाई पूर्णरुपमा निको पारी सक्ने मेरो लक्ष्य छ’ पदबहालीको एक वर्षे कार्यकाल पूरा भएको अवसरमा आयोजित समारोहमा प्रधानसेनापति थापाले भनेका थिए।

सङ्गठनमा देखिएका बेथिति, विकृति र विसङ्गतिलाई प्रश्रय दिन हुन्न भन्ने दृढताका साथ चालिएका कदम ठीक मार्गमा अघि बढिरहेको जङ्गी अड्डाको मूल्याङ्कन छ। प्रधानसेनापति थापाका एक पुराना सहपाठीको सुझाव छ, ‘तर सङ्गठनमा अझै पनि ‘एलिट समूह’ कायम नै छ, त्यो समूहले सरुवा, सेवा, सुविधालगायत कतिपय विषयमा चलखेल गरिरहन्छ, सङ्गठनमा केही हदसम्म नातागोता, लाभ र मोलाहिजा अझै हटिसकेको छैन, त्यसलाई पूर्णरुपले निस्तेज तुल्याउने चुनौति छ, नेतृत्वले त्यो बेथितिलाई रोक्न अझै धेरै मेहनत र चनाखो हुनुपर्छ।’

सेनालाई योजनाबद्धरुपमा सबल, सुदृढ र सक्षम ढङ्गबाट लैजान दीर्घकालीन सोच तयार गर्न प्रधानसेनापति थापाले ‘भिजन–२०३०’ अघि सारेका थिए। उक्त भिजन पूर्णरुपमा कार्यान्वयनपश्चात् सेनाको साङ्गठनिक संरचनामा पुनः संरचना भई आधुनिक हात हतियार तथा उपकरणले सुसज्जित, गतिशील, भरपर्दो र सन्तुलित सङ्गठनका रुपमा क्षमता अभिबद्धि हुने विश्वास गरिएको छ।

‘भिजन–२०३०’ मा सेनाको लडाइँ लड्ने क्षमता, फायर पावर, मोडालिटी, इन्टेलिजेन्स, सञ्चार प्रणाली, कम्ब्याट इञ्जिनियरिङ, विशेष फौजको क्षमता अभिबृद्धि, बन्दोबस्ती अवधारणा र नागरिक–सैनिक सम्बन्धमा परिणाम देखिने सुधार आउने अपेक्षासहित कार्यान्वयनमा लगिएको छ।

अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले सङ्गठनभित्र पारदर्शीता र आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा वर्तमान सैनिक नेतृत्वबाट चालिएको अग्रगामी कदमले सेनाको छवी राम्रो हुने बताउँछन्।

प्रधानसेनापति थापाको नेतृत्वपछि पुरस्कार र दण्ड सजाय सम्बन्धि निर्देशिका लागू, गुनासो सुन्ने र निकास दिने संयन्त्र विकास, भर्ना छनोट प्रक्रियामा सुधार, सैनिक नीति नियममा समयानुकूल पुनरावलोकन, आचारसंहिता सप्ताह, आर्थिक सुशासनमा कडाइ, शान्ति सेना छनोटमा नयाँ कार्यविधि लागू र डिजिटाइजेसनको विस्तारजस्ता महत्वपूर्ण साङ्गठनिक सुधारका कदम कडाइका साथ अघि बढाइएको छ। सङ्गठनमा चालिएका सुधारका कदमले सेनामा नयाँ उर्जा प्रवाह भएको र नागरिक माझ नेपाली सेनाको छवी राम्रो बन्दै गएको छ।

‘मैले हिरो बन्नका लागि वा सस्तो लोकप्रियताका लागि अलि बढी अग्रगामी भएर प्रणाली र पद्धतिमा भएका कमी कमजोरीमा सुधारको प्रयास थालेको होइन’ प्रधानसेनापति थापाले भन्दै आएका छन्, ‘कठिन भए पनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु।’ सङ्गठनका बाधा–व्यवधानलाई पन्छाएर गलत पद्धति विकास हुन नसक्ने गरी बाटो बनाई दिने अठोट व्यक्त गर्दैै प्रधानसेनापति थापाले आर्थिक पारदर्शिता कायम गर्ने र भ्रष्टाचारको विषयमा सून्य सहनशीलताको नीति अङ्गीकार गर्ने मामिलामा सेना दृढ रहेको पनि उल्लेख गरेका थिए।

प्रधानसेनापति थापाको नेतृत्वपछि सेनाका उपल्लो तह (उपरथी) सम्मका सैनिक अधिकृतलाई आर्थिक अनियमितमा संलग्न भएको ठहर गर्दै एकपछि अर्को गर्दै कारवाहीको दायरामा ल्याइएको छ। पछिल्लो समय सेनाका माथिल्लो तहका सैनिकले आफ्नो सम्पति विवरणसमेत वेबसाइटमार्फत् सार्वजनिकीकरण गर्ने क्रम बढेको छ।

कमाण्ड निर्देशन कार्यान्वनका हिसाबले कार्यकालको पहिला वर्षलाई आधार वर्ष, दोस्रोलाई कार्यान्वयन र तेस्रो वर्ष परिणाम एवं उपलब्धि प्राप्ति वर्षको रुपमा रहने अपेक्षा गरिएको थियो। नेपाली सेना राष्ट्र विकास, खेलकूद, विपद् व्यवस्थापन, वन्यजन्तु तथा पर्यावरणको संरक्षण र सुरक्षाको विकास र विस्तारको जिम्मेवारीमा संलग्न हुँदै आएको छ। जङ्गी अड्डाले प्रधानसेनापतिको मार्गनिर्देशनले परिकल्पना गरेअनुसार प्राप्त बजेटको सदुपयोग भए नभएको यकिन गर्न समयन्त्र गठन गरी अनुगमन र निरीक्षण गर्दै आएको छ।

पछिल्ला दुई वर्षमा आफ्ना हिताधिकारीको सेवा र सुविधा विस्तारका साथै स्वास्थ्य, तालीम र शिक्षालय विस्तारमा समेत सेनाले उल्लेखनीय प्रगति हासिल गरेको छ। मुलुकमा कोभिड–१९ को महामारीसँगै यसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागिसमेत नेपाली सेना अग्रपङ्क्तिमा रही राष्ट्रले सुम्पिएको जिम्मेवारी बहन गर्दै आएको छ।

यसैबीच दुई वर्षे कार्यकाल पूरा भएको अवसरमा कोभिड–१९ का कारण प्रधानसेनापतिले भर्चुअल माध्यमबाट सकल दर्जालाई बुधबार सम्बोधन गर्ने र जङ्गी अड्डामा छापा, विद्युतीय र अनलाइन सञ्चार माध्यमका केही प्रधानसम्पादक तथा समाचार प्रमुखसँग हासिल भएको उपलब्धि र भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यक्रम बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट