त्रिदेशीय सीमा जोडिएका ताप्लेजुङ र दार्चुलामा किन कम छन् संक्रमित ?-Sutra News

त्रिदेशीय सीमा जोडिएका ताप्लेजुङ र दार्चुलामा किन कम छन् संक्रमित ?

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

काठमाडौं– छिमेकी देश भारत र चीनसँग सीमा जोडिएका जिल्ला हुन् ताप्लेजुङ र दार्चुला। एक नम्बर प्रदेश अन्तर्गतको ताप्लेजुुङ र सुदूरपश्चिम प्रदेश अन्तर्गतको दार्चुलामा सुरक्षा व्यवस्थापन र कोभिड–१९को रोकथाममा अन्य जिल्लाको तुलनामा चुनौती बढी देखिन्छ। खुला सीमा/नाका दुई देश (चीन र भारत) सँग जोडिएको हुनाले ती देशका संक्रमितहरु नेपाल प्रवेश गर्ने सम्भावना धेरै हुन्छन्।



यद्यपी, चुनौती हुँदाहुँदै यी दुई जिल्लामा कोभिड–१९को रोकथाम र नियन्त्रण भने प्रभावकारी देखिएको छ। ६ भदौदेखि नै सक्रिय संक्रमित संख्या शून्य भएपछि ताप्लेजुङ कोरोना संक्रमित मुक्त जिल्ला भएको छ। यसअघि जिल्लामा ५ सय ९८ पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार संक्रमितहरु सबैजना बाहिरबाट आएका थिए। ‘हाल १७ जना बाहिरबाट आएका व्यक्ति क्वारेन्टिनमा छन्। उनीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका छौं, त्यसको रिपोर्ट आउन बाँकी छ,’ प्रजिअ चापागाईं भन्छन्।

दार्चुलामा अहिले ६ जना संक्रिय संक्रमित छन्। हालसम्म गरिएको २ हजार ९९ सय पिसिआर परीक्षणबाट जिल्लामा ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। बाँकी ४८ जना संक्रमण मुक्त भएर घर फर्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए। दुई जिल्लाका सिडिओका अनुसार हालसम्म संक्रमितहरुमध्ये दार्चुला र ताप्लेजुङमा कसैलाई पनि लक्षण देखिएको छैन।

भौगोलिक विकटतानै ताप्लेजुङको अवसर

भौगोलिक विकटताका कारण कोरोना रोकथाममा जिल्लालाई अवसर मिलेको ताप्लेजुङका प्रजिअ झरेन्द्र प्रसाद चापागाईंको भनाइ छ। ‘भौगोलिक हिसाबले दुर्गम भएको हुनाले् पनि रोकथाममा सहज भएको छ । जोकोहीलाई सहजै जिल्लामा प्रवेश गर्ने अन्य मार्ग छैनन्,’ प्रजिअ चापागाईं भन्छन्। जिल्लाको चीनसँग जोडिएको सीमा हो, ओलाङचुङ्गोला। भौगोलिक कठिनाइकै कारण त्यहाँबाट आवतजावत गर्न मानिसहरुलाई सहज छैन। भारतको सिमा जोडिएको ठाउँमा भने आफूहरुले कडाइ गरेको प्रजिअ चापागाईं बताउँछन्।

बाहिरबाट आउनेहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने गरेको उनी बताउँछन्। ‘काबेली नाकामा कडाइ गरिएको छ। अरु त भारतबाट आउनेहरु पाँचथर हुँदै आउने गर्छन्,’ उनी भन्छन्, ‘कोही काँकडभिट्टा नाका वा पशुपतिनगर भएर मात्र आउने हुँदा नियन्त्रण गर्न सहज हुन्छ।’ जिल्लामा हालसम्म भारतबाट आउनेको संख्या २ सय ३ रहेको छ। प्रजिअ चापागाईंका अनुसार जिल्लाभरिमा १४ वटा आइसोलेसन २ सय ७३ क्वारेन्टिन बेडसंख्या छ। ९ वटै स्थानीय तह कोरोना रोकथाममा लागिपरेको प्रजिअ चापागाईं बताउँछन्।

दार्चुलाको सीमा नाकामा चुनौती

दार्चुलामा त्रिदेशीय नाका (भारत नेपाल र चीन) भएको हुँदा अन्य जिल्लाको तुलनामा रोकथाममा चुनौती देखिएको प्रजिअ शरद कुमार पोखरेल बताउँछन्। उनका अनुसार जिल्लामा सबैभन्दा बढी संवेदनशील क्षेत्र हो, व्याँस गाउँपालिका। यस गाउँपालिकामा सौका सम्प्रदाय छ। उनीहरूको भारत र चीनसँग आवतजावतका साथै ती देशहरुमा व्यापार सम्बन्धसमेत।

व्याँस गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाका अनुसार अहिले सम्पूर्ण आवतजावत गाउँपालिकाले बन्द गरेको छ। उनी महाकालीमा पानीको बहाब बढेका कारण पनि मानिसहरु सीमा पार गरेर अहिले आउन नसक्ने बताउँछन्। ‘चैत्र बैशाखमा पानीको बहाब कम भएकाले तरेर आएको अवस्था थियो। तर, अहिले त्यो सम्भव छैन,’ अध्यक्ष बुढा भन्छन्।

बाटोमा पहिरोका कारण पनि आवतजवत गर्ने सम्भावना कम रहेको प्रजिअ पोखरेल बताउँछन्। नेपालमा पनि बाढी पहिरोले बाटो बन्द छ। गोरेटो बाटो पनि सेनाले बनाइरहेको अवस्था छ,’ प्रजिअ पोखरेल भन्छन्, ‘त्यसकारण आवतजावत गर्न मानिसहरुलाई सहज छैन।’ तर, कन्चनपुर कैलालीबाट चाहिँ नेपाल प्रवेश गर्ने सम्भावना रहेको उनको ठम्याइ छ।

दुई देशबीच सीमा जोडिएको हुँदा दार्चुलामा बस्नेले भारतमा पनि घर बनाएका छन् । दुवै देशमा घर र नातागोता जोडिएको हुनाले चुनौती देखिएको प्रजिअ पोखरेल बताउँछन्। भारतसंग सीमा जोडिएका  जौल्जिबी छोटी भन्सार गरी दुई महत्वपूर्ण नाका छन्। यी नाकाहरुमा आफूहरुले सक्दो कडाइ गरिरहेको प्रजिअ पोखरेलको दाबी छ। भारतसँग सीमा जोडिएका अन्य गाउँपालिकामा पनि आफूहरुले कडाइ गरेर रोकथाममा लागिपरेको उनी सुनाउँछन्।

दार्चुलाको प्रयत्न-संक्रमितमुक्त जिल्ला बनाउनमा

दार्चुलाको सीमा बझाङ र बैतडीसँग पनि जोडिएको छ। जिल्लाका नाकाहरूमा पनि निगरानी बढाइरहेको प्रजिअ पोखरेको दाबी छ। ‘हामीले आवागमनमा सवारी अनुमति नियन्त्रित गरेका छौं। बिरामी भएका, अलपत्र भएका अत्यावश्यक मान्छेबाहेक हामीले पास दिएका छैनौं,’ उनी भन्छन्, ‘आवश्यकताअनुसार समय–समयमा कोभिड सम्बन्धी बैठक डाक्ने गरेका छौं। बैठकको निर्णयअनुरुप काम गर्छौं । प्रत्येक पालिका, बजारहरुमा जनचेतना फैलाउने काम पनि गरेका छौं।’

सुदूरपश्चिमको गौरा पर्वमा पनि कुनै भिडभाड गर्न नदिएको प्रजिअ पोखरेलले बताए। ‘सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको छ । बजारमा मास्क नलगाउनेलाई स्पर्टमै कारबाही गरेर मास्क दिने गरेका छौं । अहिलेसम्म ३ सय जतिलाई कारबाही पनि गर्यौं,’ उनले भने।

स्थानीय तह, स्वास्थ्य संस्थाहरुसँग प्रशासनको सहकार्य राम्रो रहेको उनी बताउँछन्। प्रजिअ पोखरेलका अनुसार स्थानीय तह, सुरक्षाकर्मी र स्वास्थयकर्मीहरुको कोरोना रोकथामका लागि बनाएको टिम परिचालित छ। टिममार्फत् बाहिरबाट आएकालाई क्वारेन्टिनमा राख्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने र गाउँमै गएर स्वाब परीक्षण गर्ने लगायतका काम हुन्छन्।

जिल्लामा हालसम्म ९० बेडसंख्या रहेको छ भने २५ सय ३९ क्वारेन्टिन बेडसंख्या छन्। प्रजिअ पोखरेलका अनुसार संक्रमित संख्या घट्दै गएकाले क्वारेन्टिन पनि घटाउँदै लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट