बैंकहरूलाई अस्वस्थ प्रतिस्पर्धा रोक्न गभर्नरको निर्देशन-Sutra News

बैंकहरूलाई अस्वस्थ प्रतिस्पर्धा रोक्न गभर्नरको निर्देशन

बुधबार, २४ भाद्र २०७७

बुधबार, २४ भाद्र २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘अस्वस्थ प्रतिस्पर्धा’ रोक्न बैंकहरूलाई  निर्देशन दिएका छन्। एकीकृत निर्देशिका- २०७७ जारी गर्नुअघि बैंकसँग छलफल गर्दै नाफा कमाउनका लागि अस्वस्थ प्रतिस्पर्धा नगर्न उनले निर्देशन दिएका हुन्।



गभर्नर अधिकारीले मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँग आयोजना गरिएको वेबिनार छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्।

‘अहिलेको कठिन परिस्थितिमा आफ्नो कर्जा स्रोतको व्यवस्थापन संयमित एवं जिम्मेवारपूर्ण ढंगले गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धामार्फत नाफामा केन्द्रित हुनुभन्दा आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत हुन आवश्यक छ।’

केही महिनादेखि करिब २ खर्बको हाराहारीमा रहेको अधिक तरलताको अवस्थालाई अवसरका रूपमा लिनसमेत उनले आग्रह गरेका छन्। उनले भने, ‘बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता रहेको र यसलाई समस्याभन्दा पनि सहजताको सूचकको रुपमा लिनुपर्नेपर्छ। तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुन सक्छ, यसतर्फ सजग रहनुपछ।’

पुर्नकर्जाका लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेको नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहनसमेत बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्। गभर्नर अधिकारीले कोभिड–१९ संक्रमण अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूच सकारात्मक रहेका बताएका छन्।

उनले शोधनान्तर स्थिति २८२ अर्ब रुपैयाँले बचतमा रहेको र विदेशी विनिमय सञ्चिती १४ खर्ब रुपैयाँभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको गभर्नरले बताए।

त्यस अवसरमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोभिड–१९ महामारीबाट वित्तीय क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै वित्तीय संस्थालाई बचाउन राष्ट्र बैंकले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट