

काठमाडौं- कोरोनाका कारण अहिले हरेक क्षेत्रको व्यापार व्यवसाय धरापमा परेका छन्। नेपाल सरकारले चैत ११ गतेबाट साउनको पहिलो हप्तासम्म लकडाउन गरेको थियो। त्यसपछिको अवस्थामा सरकारले सबै खालको व्यापार व्यवसाय खोल्न अनुमति दिएको थियो।
तर कोरोना भाइरस नियन्त्रयण आउनुको सट्टा बढ्न थालेपछि देशका विभिन्न स्थानमा निषेधज्ञा जारी गरियो। काठमाडौं उपत्यकामा पनि विगत तीन हप्तादेखि निषेधज्ञा गरिएको छ। जसका कारण व्यापार व्यवसाय फेरि ठप्प हुन पुगेका छ्न।
लकडाउन गरेरमात्रै बस्ने हो भने देशले अझै ठूलो आर्थिक क्षति व्यर्होनुपर्ने व्यवसायीहरुले बताउँदै आएका छन्। सरकारले देशलाई अझ ठूलो आर्थिक संकटबाट बचाउनको लागि व्यापार व्यवसाय सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन्।
यसैबीच नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमितरुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकाले २५ गतेदेखि नियमितरुपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गर्ने निर्णय गरेको हो।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अहिलेसम्म सरकारको आदेश पालना गरेको भए पनि अब पालना गर्न नस्कने उनले बताएका छन्। उनी भन्छन्, ‘१ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसौं। अब हुने लकडाउनको पनि पालना गर्दा व्यवसाय नै धरासयी बन्छ।’
उनले अब हुने लकडाउनको पालना नगर्नेगरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताएका छन्। सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजीकरण गर्नुपर्ने पनि उनले बताए।
उनी भन्छन्, ‘अहिले सरकारी कर्मचारी र बसीबसी तलब आउनेभन्दा अरु सबै व्यवसायीको माग निषेधज्ञा खोल्नुपर्ने छ। सरकारले अब पनि बन्दको माहोल बनाइराखे कसैले पनि सरकारको आदेश पालना गर्नसक्ने अवस्था छैन।’
पछिल्लो समय लगभग सबै देशहरुले लकडाउन हटाएका छन्। सुरक्षाको उपाय अपनाएर सबै आफ्नो कार्यमा फर्किसकेका छन्। नेपालमा पनि सबै स्थानीय तहहरुले सुरक्षको उपाय अपनाएर व्यापार व्यवसाय सञ्चालनमा ल्याउनपर्ने उनको भनाइ छ।
नाडाको एक हजार सदस्य सम्पूर्णलाई व्यवसाय सञ्चालनमा ल्याउन आग्रह गरेको दुलालले बताए। सरकारले अब त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन्।
सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरणभन्दा पनि पूरै व्यवसाय गर्न पाउनेगरी सहजीकरण गरेर अगाडि बढ्नुपर्ने उनको माग छ। उनी भन्छन्, ‘अबको निषेधज्ञा कसैले मान्नेवाला छैन, त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठीक कुरा होइन। सरकारले अब व्यवसायीको कुरा बुझ्नुपर्छ।’
अहिले निषेधज्ञाको पालना गर्नुपर्छ भन्ने पक्षमा सरकारी कर्मचारीमात्र रहेको पनि उनले बताएका छन्। सरकारी कर्मचारीहरुले काम नगरे पनि तलब-भत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिएदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेका छन्। तर अन्य क्षेत्रका मानिसहरु अब रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएकाले सरकारले अब त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको बताए। पछिल्लो समय भारत पाकिस्तानलगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताए। लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवस्यकता रहेको पनि उनले स्पस्ट पारे।